‘पहिरोले उठ भनिसक्यो जाने ठाउँ कतै छैन’
काठमाडाैं | फागुन २७, २०७९
बाजुरा: बूढीगङ्गा नगरपालिका–१, अम्कोट बस्ती १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको छ। १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको अम्कोट बस्ती अहिलेसम्म कतै स्थानान्तरण हुन सकेको छैन।
बस्ती स्थानान्तरण नहुँदा अम्कोटका १०६ घरपरिवार बाढीपहिरोको जोखिम भएकै ठाउँमै बसोबास गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका स्थानीय पारु पाध्यायका अनुसार पहिरोले अम्कोटको गाउँ चिराचिरा पारेको छ। बर्खाको समय थोरै पानी परे पनि बग्न सुरु हुन्छ। आफूलाई सुरक्षित हुने कतै ठाउँ नभएपछि बर्खामा पनि यही घरमा बस्नुपर्ने सोच बनाएको पाध्यायले बताउनुभयो।
बर्खा लाग्नेबित्तिकै गाउँको तल र माथि दुवैतिरबाट पहिरो बग्ने हुँदा कुनै रात घरसहित आफूलाई समेत बगाउँछ भन्ने डर लाग्ने उहाँले बताउनुभयो। वि.सं. २०६४ साउन २३ गते राति गाउँमाथिबाट आएको पहिरोले उहाँका श्रीमान्, दुई छोरा र एक छोरीसहित चार जनाको ज्यान लिएको थियो। सोही पहिरोमा परेर महादेव पाध्याय, लक्ष्मी पाध्याय र मङ्गल पाध्यायलगायतका पाँच जनाको मृत्यु भएको थियो। २०७६ असार र साउनमा आएको बाढीपहिरोले अम्कोटमै फेरि सात घरसहित सयौँ रोपनी जमिन बगाएको थियो।
यसरी पटक–पटक अम्कोट बस्ती पहिरोको जोखिमा परेको भए पनि अहिलेसम्म त्यहाँका स्थानीयवासीलाई कतै पुनस्र्थापन गर्न नसकेको स्थानीय महादेव पाध्यायले बताउनुभयो। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका बाढीपहिरोपीडित महादेव पाध्यायले, गाउँ छोडेर कतै जाउँ भने आर्थिक अवस्था राम्रो नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “यतै बसौँ भने घरनजिक पहिरो आइसक्यो। पहिरोले उठ भने पनि अन्त जाने केही उपाय नभएपछि समस्याले यतै बास बस्नु परेको उहाँले बताउनुभयो। उहाँले बर्खा लागेपछि फेरि पहिरो बग्न सुरु हुने भएकाले कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो।
बाढीपहिरोले यहाँका स्थानीयवासीको कमाई खाने अधिकांश जमिनसमेत बगरमा परिणत भएको छ। खेती गर्ने जमिनमा अहिले नदी बग्न थालेपछि उनीहरू भोको पेट पाल्नका लागि अहिले दैनिक मजदुरी गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका दरिभाने नेपालीले भारतको कमाइले खेत किनिएको भए पनि त्यो खेत सबै नदीले बगर बनाएको बताउनुभयो।
बस्ती व्यवस्थापनमा पाँच लाख
जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले बाढीपहिरोबाट प्रभावित बनेका अम्कोटका १०६ परिवारका लागि बस्ती व्यवस्थापन कार्यक्रम एक वर्ष पहिले नै सुरु भएको बताएको छ।
२०७८/७९ को आर्थिक वर्षमा नै अम्कोटका १०६ घरपरिवारको घरबास गर्ने गरेर बस्ती व्यवस्थापन कार्यक्रम सुरु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पुष्कर खड्काले, बाढीपहिरो प्रभावित भएका अम्कोटका १०६ परिवारमध्ये ८५ परिवारलाई घरबासको व्यवस्थापन गर्ने गरेर पहिलो किस्ता रकमसमेत वितरण गरिसकेको बताउनुभयो।
उहाँले बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयवासीले घर निर्माणका लागि पहिलो किस्ता रकम बुझेर लिएको भए पनि घर निर्माण कार्य भने अझै पूरा गर्न नसकेको बताउनुभयो।
स्थानीय प्राविधिकले दिएको लागत अनुमानअनुसार घर निर्माण नगरेकाले अहिले दोस्रो किस्ता रकम रोकिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो।
बाढीपहिरो प्रभावितको बस्ती व्यवस्थापन गर्न स्थानीय सरकारले १५, प्रदेश सरकारले २० र सङ्घीय सरकारले ७० प्रतिशत रकम बेहोर्नुपर्ने हो । प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार ८५ घरपरिवारले पहिलो किस्ताबापत ७५ हजार रुपियाँ घर निर्माणका लागि लिएको भए पनि अहिलेसम्म १८ जनाले मात्र दोस्रो किस्ताका लागि कागजात पेस गरेको बताउनुभयो।
अम्कोटका पीडित स्थानीयले भने सबै घरपरिवार १०६ रहेको र त्यसमध्ये ८५ जनाले मात्र पहिलो किस्ता रकम पाएका छन्। बाँकी २१ परिवारले अझै पहिलो किस्ता रकम नपाएको बताएका छन्। रकम पाएका ८५ परिवारमध्ये अधिकांशले घर निर्माण गरेको भए पनि रकम नदिएको अम्कोटका स्थानीय लक्ष्मीराम पाध्यायले बताउनुभयो।
उहाँले प्राविधिकले नै दिएको डिजाइन लागत अनुमानका आधारमा घर निर्माण गरेको तर दोस्रो किस्ता रकम रोकिदिएको बताउनुभयो। प्राविधिकले दिएको डिजाइन र लागत अनुमानअनुसार घर निर्माण नगरेको देखिएपछि दोस्रो किस्ता रकम रोकिएको बूढीगङ्गा नगरपालिकाका सूचना अधिकारी विष्णु जोशीले बताउनुभयो।
उहाँले अम्कोटका १०६ जना बाढीपहिरो पीडितमध्ये ८५ परिवारको कागजात पूरा भएकाले पहिलो किस्ता रकम आएको र बाँकी २१ परिवारको कागजात नमिलेकाले पहिलो किस्ता रकम नपाएको बताउनुभयो। रकम पाएकाले अम्कोटमा स्थायी रूपमा बसोबास भएको कागजात पेस गरेपछि उनीहरूले पनि घरबास लागि रकम पाउन सक्ने जोशीले बताउनुभयो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

