पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

तनहुँ | फागुन २६, २०७९

पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ चिनिनुभयो ।


अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन् । तनहुँबाटै छ–छपटक चुनाव जितेर संसद्मा पुग्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।


व्यास–८ रिस्तीको सामान्य किसान परिवारमा जन्मनुभएका पौडेल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुलाई तनहुँवासीले गौरवका रूपमा लिएका छन् । राष्ट्राध्यक्षका रूपमा पौडेलले देश र जनताको हितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।


राष्ट्रिय एकता प्रवद्र्धन तथा संविधानको रक्षामा राष्ट्रपतिले निष्पक्ष र अभिभावकीय भूमिका खेल्नुपर्नेमा जनसाधारणको जोड छ । त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायका पूर्वडिन व्यास–३ का प्रा डा कृष्णप्रसाद गौतमले पौडेलजस्तो विचारले निखारिएको, सरल र विवादरहित व्यक्तित्वलाई राष्ट्रपतिका रूपमा पाउनु गर्वको विषय भएको बताउनुभयो ।


“रामचन्द्र पौडेल धेरै खारिएका नेता हुनुहुन्छ, प्रजातन्त्र स्थापनाका लागि उहाँले लामो सङ्घर्ष गर्नुभयो, जेल जीवन बिताउनुभयो, उहाँ निर्वाचित हुँदा राष्ट्रपति पदको गरिमा अझ बढेर गएको छ”, प्रा डा गौतमले भन्नुभयो ।  


उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रहित र लोककल्याणकारी काममा आफूलाई समर्पित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रपति आलङ्कारिक भए पनि या सम्मानित र महत्वपूर्ण पद हो, विगतमा राष्ट्रपतिको भूमिकालाई लिएर केही टीका–टिप्पणी पनि भए”, प्रा डा गौतमले भन्नुभयो, “रामचन्द्र पौडेल अब तनहुँको मात्र नभई राष्ट्रको अभिभावक बन्नुभयो, उहाँले आफूलाई देशभक्त राष्ट्रपतिका रूपमा सावित गर्नेमा हामी आशावादी छौँ ।”


तनहुँ–२ का पूर्वसांसद केदार सिग्देलले राष्ट्रपतिले साझा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “नवनिर्वाचित राष्ट्रपति तनहुँबाटै राजनीतिमा स्थापित हुनुभएको हो, उहाँ हाम्रो अग्रज पनि हो, जिल्लावासीका रूपमा हामी सबैका लागि यो गर्वको विषय हो”, उहाँले भन्नुभयो ।


नवनिर्वाचित राष्ट्रपति पौडेलका छिमेकी व्यास–२ अमरापुरी निवासी सावित्री अधिकारीले आफूले मत दिएर पठाएको व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा खुसी लागेको बताउनुभयो । “घर आउँदा सन्चोबिसन्चो सोधिराख्नुहुन्थ्यो, आज उहाँ राष्ट्रपति भएको थाहा पाउँदा धेरै खुसी लागेको छ”, अधिकारीले भन्नुभयो, “देश र जनताका लागि राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ ।”


पौडेलको जन्मगाउँ व्यास–८ रिस्तीका वडाध्यक्ष युवराज गुरुङले पौडेल राष्ट्रपति निर्वाचित हुँदा वडावासीमा खुसीयाली छाएको बताउनुभयो । नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राष्ट्रलाई एकताबद्ध गर्न र संविधानको रक्षार्थ राष्ट्रपतिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलमा रहेको इमान, निष्ठा र त्यागको चरित्रले राष्ट्रपति पदको गरिमा अझ बढ्ने धारणा राख्नुभयो । “तनहुँ साहित्य क्षेत्रमा जसरी प्रख्यात छ, राजनीतिमा पनि उत्तिकै चर्चित छ”, अधिकारीले भन्नुभयो, “नवनिर्वाचित राष्ट्रपतिले निर्विवाद भूमिका खेल्नेमा हामी विश्वस्त छौँ ।” 


यस्तो छ नवनिर्वाचित राष्ट्रपति पौडेलको जीवनी


विसं २००१ मा तनहुँको रिस्तीमा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित विसं २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो ।


पौडेल विसं २०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो ।


विसं २०४० मा पौडेल नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बन्नुभएको थियो । विसं २०४४ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा रहँदै आउनुभएको थियो ।


पौडेल २०४८ मा तनहुँ–१ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । 


तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि बन्नुभएको थियो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको छ ।


पौडेल गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० को आम चुनावमा पनि तनहुँबाटै निर्वाचित हुनुभएको थियो ।

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।  नेत्रविक्रम चन्दको  नेतृत्वमा ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...

थप पढ्नुहोस्

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...

थप पढ्नुहोस्