मानिसको पिसाब सुँघेर कमिलाले पत्ता लगाउनेछ क्यान्सर
काठमाडाैं | माघ १६, २०७९
फाइल तस्बिर
काठमाडौं: क्यान्सरको पहिचान तथा उपचारमा हुने प्रत्येक महिनाको ढिलाइले मानिसको मृत्युको खतरा १० प्रतिशतले बढ्छ ।
त्यसैले वैज्ञानिकहरुले लामो समयदेखि क्यान्सरको पहिचानका लागि सजिलो र चिरफारमुक्त विधिको खोज गरिरहेका छन् ।
अब भने चिकित्सा विज्ञानको यो जटिलतामा मानिसलाई कमिलाले सहयोग गर्न सक्नेछ । कमिलाले मानिसको पिसाब सुँघेर क्यान्सर भए नभएको पत्ता लगाउनेछ । यसलाई लिक्विड बायोप्सी पनि भनिन्छ । यसमा रगत, पसिना वा पिसाबको माध्यमबाट रोगको पहिचान गरिन्छ ।
वास्तवमा शरीरमा रहेका क्यान्सरका ट्युमरका कारण शरीरबाट फरक खालको रसायन निस्किन्छ । भोलाटाइल अर्गानिक यौगिक भनिने उक्त रसायन पसिना तथा पिसाबबाट बाहिर निस्किन्छ । कमिलाले पिसाबमा रहेको त्यहीँ रसायन सुँघेर कुनै पनि मानिसमा कुनै स्वास्थ्य परीक्षण भन्दा पहिले नै क्यान्सर भए नभएको पत्ता लगाइदिन्छ ।
मानिसमा क्यान्सर पहिचानका लागि युरोप तथा दक्षिण एसियामा ठूलो संख्यामा पाइने फर्मीका फ्युस्का प्रजातिको कमिलाको प्रयोग गरिएको छ । अध्ययनका क्रममा यो कमिलाले क्यान्सर रोगीको सटिक पहिचान गर्न सकेको पाइयो ।
यसअघि मानिसमा सुरुवाती अवस्थामै क्यान्सरको पहिचानका लागि उच्च घ्राणशक्ति भएको कुकुरको प्रयोग गर्न सकिने भनेर वैज्ञानिकहरुले तालिम दिइरहेका थिए । तर कुकुरको तुलनामा कमिलाको क्यान्सर पहिचान गर्नसक्ने क्षमता उच्च रहेको फ्रेञ्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका शोधकर्ताहरुले ठहर गरेका छन् । उनीहरुको कमिलामाथिको उक्त अध्ययनको रिपोर्ट प्रोसिडिंग्स अफ द रोयल सोसाइटीमा छापिएको छ ।
आफ्नो अध्ययनका क्रममा वैज्ञानिकहरुले मानिसको स्तन क्यान्सरका कोशिकाहरु निकालेर मुसामा प्रत्यारोपण गरे र मुसामा ती कोशिकालाई फैलिन दिए । त्यो विधिलाई जिनोग्राफ्टिङ भनिन्छ । त्यसपछि क्यान्सर कोशिका फैलिएका मुसाको पिसाब र अन्य स्वस्थ मुसाको पिसाबको नमूना संकलन गरी दुबैथरी पिसाबका नमूनालाई कमिलाको अगाडि राखियो । त्यसक्रममा कमिलाले क्यान्सर कोशिका फैलिएको मुसाको पिसाबलाई तुरुन्तै पहिचान गरे ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा मानिसको मृत्युको दोश्रो ठूलो कारण क्यान्सर हो । सन् २०१८ मा विश्वमा हुने हरेक ६ जना मध्ये एक जनाको मृत्यु क्यान्सरकै कारण भएको थियो ।
– एजेन्सी ।
काठमाडौं: आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबा...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित ह...

