३५ वर्षदेखि बेपत्ता श्रीमान्: ‘यतैकतै, जीवितै छन्’ भन्दै पर्खाइमा विष्णुदेवी
पाेखरा | पुस ६, २०७९
०४४ साल जेठको २८ गते श्रीमति विष्णुदेवीसहित गिरिधारी कँडेल पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा पुगे । भारतीय सेनामा पेन्सन पकाएका गिरिधारी पेन्सन थाप्नै श्रीमतीसहित त्यहाँ पुगेका थिए ।
तर त्यस दिन पेन्सन थाप्न कँडेल दम्पत्तीसहित अन्य २ जोगी पनि थिए । जो सँगै अघिल्लो रात पोखराकै पृथ्वीचोकको एक होटलमा बसेका थिए । गिरिधारीले ६ हजार रुपैयाँ पेन्सन थापेपछि ३ हजार विष्णुदेवीलाई दिएर आफु
हरिद्वारका जोगीसँगै मानसरोवर यात्रामा निस्कने सुनाए । छुट्नेबला विष्णुले सोधिन् ‘कहिले फर्कनुहुन्छ ?’ ‘फर्कन्छु’ गिरिधारीले यति भनेर बाटो लागे । विष्णुदेवी गह्रुँगो पाइला लिएर घर फर्किइन् ।
.........................................................................................
घरको भित्तामा श्रीमान्सँगको युगल तस्बिर टाँगिएको थियो । सोही तस्बिरले उनलाई अतीतमा फर्कायो । ०२३ सालमा गिरिधारीले विष्णुलाई स्याङजाको हरिनासबाट तनहुँको भिमाद गाउँ पञ्चायत वडा नम्बर २ स्थित घरमा भित्र्याएका थिए । दुईबीच उमेरमा १४ वर्षको फरक भएपनि मायाको कुनै साँध र सिमाना थिएन । सर्लक्क मिलेको जीउडालका गिरिधारीले सँगै पल्टन पनि लगे । उता र यता गरेर ५ सन्तान भए । जसमध्ये ३ छोरा र २ छोरी हुन् ।
सेनामा हुँदा गिरिधारीको मन अध्यात्मतर्फ ढल्कँदै गयो । पछि रिटायर्ड भएर घर फर्किएपछि उनी बेलाबेला विभिन्न धाम, तीर्थस्थलमा महिनौ बिताउँथे । उनको पेन्सनबाट विष्णुले घर धान्दै, बालबच्चा हुँर्काउन थालिन् । पतिको अभावमा घर धान्न गाह्रो त थियो नै तर उनको बाटोमा तगारो बन्ने चाहना विष्णुको थिएन ।
गिरिधारी तीर्थ र धामबाट फर्किएपछि पनि फेरि उतै जाने ध्याउन्नमा हुन्थे । त्यसरी जाँदै, आउँदै गर्ने क्रममा २ जोगीसँग मानसरोवर हिँडेपछि आज ३५ वर्ष भयो विष्णुदेवीले आफ्नो सिन्दुर नभेटेको ।
.................................................................................................
श्रीमान् हिँडेको दिन, महिना हुँदै वर्ष बितेपछि विष्णुको छटपटी बढ्दै गयो । छिमेकी, आफन्त, नातागोगासँगै प्रहरी प्रशासनसमक्ष पुगिन् । सबैतिरबाट खोजी हुन थाल्यो तर गिरिधारी भेटिएनन् । भारतीय सेनामा भएका छोराहरुले भारतका विभिन्न धाम र तीर्थस्थलमा खोजी जारी राखे तैपनि गिरिधारीको पत्तो पाइएन ।
यसबीच, कसैकसैले गिरिधारी भारतको हरिद्वारमा भेटिएको बताए । कतिपयले नेपालकै देवघाट, पशुपतिनाथ, तनहुँतिर देखेको बताए । तर प्रमाण कसैसँग थिएन । यसबीच, चिना हेराउने, शान्तिस्वस्ती गर्ने, पूजापाठ लगाउनेदेखि ज्यान र परिवारले सकेसम्म गरे । श्रीमान्सँग खिचेका फोटा बोकेर चाहर्दै पनि हिँडिन् ।
उमेरले ७० वर्ष पुगेकी विष्णुदेवि अतीतको याद बोकेर चारै दिशा पुगेपनि हात नलागेपछि उनकाे अन्तिम प्रयास मिडिया हुन पुगेको छ । यसैक्रममा सुनगाभा न्यूजसँग कुरा गर्दै विष्णुदेवीले अतीत कहेकी छिन् ।
श्रीमान्सँगको तस्बिर सहित २ वर्षअघि स्याङ्जामा आफन्तले अनुमानको भरमा लुकेर खिचेको तस्बिर लिएर विष्णुमायाले अपील गरेकी छिन् ।
२ वर्ष अघि स्याङ्जाको टिकाजामा रहेका आफन्तले मोबाइलबाट लुकेर खिचेको एक सन्यासीको फोटो देखाएपछि विष्णुदेवी अब श्रीमान् पक्कै भेटिनेछन् भन्ने आशामा बुढ्यौलीले थाकेका गोडामा पुनः उर्जा थप्दैछिन् । ‘मेरा श्रीमान् जिउँदै छन्’ रसिलो आँखा लिएर उनले भनिन् ‘चिना हेराउँदा उहाँको आयू ९० वर्ष देखिएको छ, कुनैदिन भेटिनेमा विश्वस्त छु ।’
श्रीमान्को जन्म वि.सं १९९७ गते मंसिर १९ गते भएको र अहिले ८३ वर्ष पुगेको उनले जनाइन् । आफ्नो आयू पनि लामै रहेको भन्दै विष्णुदेवी जीवनको अन्तिम क्षणसम्म श्रीमान्कै प्रतीक्षामा छिन् ।
कुराकानीको अन्त्यमा विष्णुदेवीले श्रीमान्को तस्बिरहरु देखाउँदै भनिन् ‘उहाँ ८४ पुग्ने बेला हुन लाग्यो, चौरासी पूजा गरिदिने इच्छा छ, लौन कसैले भेटाइदिनु हुन्छ कि ।’
भिडियाे: -
दैलेख: नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ ।&n...
दमौली: तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।&nbs...
काठमाडौं: नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । ...