कानुनमा बलात्कारको पुनःपरिभाषा गर्न सांसदहरूको माग
काठमाडाैं | जेठ १५, २०७९

काठमाण्डौँ: सांसदहरूले यौनजन्य हिंसाका घटना र प्रकृतिमा फरकपना आई बढ्न थालेकाले कानुनमा बलात्कारकै पुनःपरिभाषा गरिनुपर्नेमा जोड दिनुभएको छ ।
बलात्कारका घटनामा उजुरी गर्न हदम्याद हुन नहुने बहस चलिरहेका बेला प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति, महिला, कानुन र विकास मञ्च एवं इक्वालिटी नामको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘यौन हिंसासम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यास र आगामी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सांसदहरूले विज्ञहरूसँग परामर्श गरेर ठोस कानुन निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसद विमला विकले अपराध गर्नेलाई जेल राखेर मात्र पीडितलाई न्याय नहुने भएकाले पीडितलाई पहिलेकै अवस्थामा पुर्याउनुपर्नेमा जोड दिनुभयो । संसद् जारी रहेकाले बलात्कारका घटनामा हदम्याद हटाएर बलात्कारको पुनःपरिभाषा गरी विधेयक ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
सांसद बीना श्रेष्ठले महिलामाथि हुने सबै हिंसालाई एउटै कानुनमा समेटेर ल्याउनुपर्ने विचार राख्नुभयो । बलात्कारका घटनामा हदम्याद हटाउनुर्ने र बलात्कारको पुनःपरिभाषा गरिनुपर्नेमा उहाँको जोड थियो ।
सांसद नारायणप्रसाद खतिवडाले देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई हेरेर कानुन बनाउनुपर्ने बताउनुभयो । एउटा विषय उठेपछि कानुन बनाउनुपर्ने र अर्को घटना बाहिर आएपछि पछुताउन नहुने भएकाले कानुन बनाउँदै यस्ता विषयमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद विन्दा पाण्डेले पछिल्लो समय सौन्दर्य प्रतियोगिताका नाममा यौन शोषण भएको विषय सार्वजनिक भएको घटना जघन्य अपराधको एउटा उदाहरण भएकाले यसलाई अन्य घटनासँग तुलना गर्नु नहुने बताउनुभयो ।
सांसद लक्ष्मी परियारले चितवनको घटनामा श्रीमान्ले हात हालेर श्रीमतीको पाठेघर निकालेका जस्ता जघन्य अपराधले घटना फरक तरिकाले हुन थालेको उदाहरण रहेको भन्नुहँदै त्यसैअनुसार कानुन निर्माण हुनुपर्ने बताउनुभयो ।
महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले पछिल्लो घटना सार्वजनिक भएसँगै समितिले सरोकार भएका निकाय राखेर छलफल गरी हदम्यादको कानुनी व्यवस्था सुधार गर्न निर्देशन दिएको बताउनुभयो । एसिडपीडितका विषयमा छलफल गरेपछि त्यस विषयमा यसअघि सरकारले अध्यादेश ल्याएजस्तै बलात्कारका घटनामा हदम्याद हटाउने व्यवस्था पनि छिट्टै कानुनीरूपमा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सांसदहरू अमृता थापा, थममाया थापा, प्रमिला कुमारी, समिति सचिव एकराम गिरीलगायतले महिला हिंसाका घटना निरन्तर बढिरहेकाले कानुन संशोधन एवं भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले भारत, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स र बेलायतमा पनि बलात्कारका घटनामा हदम्याद नभएकाले दोषीमाथि वर्षौँपछि पनि कारबाही हुने गरेको बताउनुभयो । नेपालमा यी अभ्यासलाई हेरेर हदम्याद हटाउनेलगायत कानुन सुधारका काममा पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
–––
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...