म्याग्दीको टिमुर स्वदेश देखि विदेशसम्म

म्याग्दी | मंसिर २३, २०७९

म्याग्दीको टिमुर स्वदेश देखि विदेशसम्म

गलेश्वर: खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ ।


आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् ।


म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१०स्थित तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो ।


यहाँ उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौँको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उनले बताए । प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकहरुले बताए ।


बेनी नगरपालिका(९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । जिल्लाको २५ हेक्टर जमिनमा टिमुर खेती भएको उक्त कार्यालयले जनाएको छ ।


धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाइ बजारमा पुर्‍याउने गर्दछन् । कतिपय ब्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेका घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताउनुभयो ।


यस वर्ष तोरीपानीमा एक सय दश मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जालअन्तर्गत १९ समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन् ।


तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन् । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताए ।


टिमुर खेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । स्थानीय जुनकिरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताए। गत वर्ष टिमुर बिक्री गरेर रु ३५ हजार आम्दानी भएकामा यस वर्ष फल लाग्ने समयमा असिना र पानी परेकाले टिमुर उत्पादन घट्नाका साथै आम्दानी पनि कम हुने चिन्तामा रहेको उनले उल्लेख गरे ।


जिल्लामा टिमुर उत्पादन र बजारीकरणका लागि सघाइरहेको गैरसरकारी संस्था इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सघाइरहेको बताए। यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराएको पनि उनले जानकारी दिए ।


डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताए । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उनको भनाइ थियो ।


टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ ।


गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिक रुपले खेती विस्तार भइरहेको छ ।

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ।  कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...

थप पढ्नुहोस्