म हारेपनि अब देशले जित्ने छ: बोधराज

पाेखरा | मंसिर १३, २०७९

म हारेपनि अब देशले जित्ने छ: बोधराज

सहकारी अभियन्ता, चलचित्रको नायक, पत्रकार हुँदै व्यवसायमा लम्किरहेका बोधराज रेग्मीको पोखरामा धेरथोर नाम थियो, दाम थियो । भविष्य उज्यालै थियो । यस्तै उज्यालोबीच पनि उनी यदाकदा अँध्यारोमा रुमलिन्थे । कारण थियो, देशको धमिलो राजनीति । 

 

राजनीतिलाई ‘धमिलो’ भनेर गफ चुट्दै बस्न मनले नदिएपछि उनी विकल्पको खोजीमा थिए । यसैबीच, पूर्वसञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल दर्ता गरे । पार्टीको एजेण्डा, सिद्धान्त र लक्ष्य समयसापेक्ष लागेपछि बोधराज उतै जोडिए । 

 

त्यसो त देशमा संकट र अभावको खबर सुनेपछि गच्छेअनुसार दाल चामल र लत्ताकपडा बोकेर सहयोग गर्न हिँड्ने र लायन्सको नेतृत्वसमेत गरिसकेकाले बोधराजलाई सेवाभावमा छुट्टै आनन्द आउथ्यो । सोही ‘सेवा’लाई संस्थागत गर्न पनि उनी राजनीतिमा जोडिए । 

 

उनी जोडिएनन् मात्र गृहजिल्लामा पार्टीलाई आफैसँग लगे । र, सुरु गरे संगठन विस्तार ।  गत साउन ७ गते गण्डकी प्रदेश भेलाबाट पार्टीमा जोडिएका उनलाई त्यसपछि फुर्सद भएन । प्रदेश प्रवक्ताको जिम्मेवारीसहित प्रदेशका जिल्लामा पनि उनी पुगे । संगठन निर्माणमा खटिँदा तत्स्थानका समस्या, स्थानीयका चाहना र अपेक्षा पनि बुझ्न पाए । 

 

पार्टी निर्वाचनमा जाने भएपछि स्याङ्जा १ मा कसलाई उम्मेदवार तोक्ने भन्नेमा प्राइमरी इलेक्सन भयो । जहाँ ११ आकांक्षीबीच बोधराजको नाम फाइनल भयो । त्यसपछि उनलाई २ महिना पोखरामा भेटिएन । 

 

चुनावी परिणाम सार्वजनिक भएपछिको एक घमाइलो दिन उनै बोधराजसँग गफिने साइत जु¥यो । 

 

चिया चुस्कीसँगै  ‘चुनाव हारिएछ नी !’ भन्ने जिज्ञासामा बोधराजले केही गम्भीर भावमा जवाफ फर्काए, ‘म हारेपनि, देश अब जित्ने बाटोमा हिँड्नेछ ।’

 

प्रायः चलचित्र पत्रकारकारुपमा बढी नजिकिएका बोधराजको जवाफ कुनै जिम्मेवार राजनीतिज्ञको झैं लाग्यो । उनको जवाफले प्रतिनिधिसभातर्फ ७ सिट जितेर पाँचौ अनि समानुपातिकतर्फ करिब ११ लाख मत पाएर चौथो स्थानमा रहेको इंगित गरिरहेको थियो । 

 

चुनावी प्रचारताका विपक्षी कार्यकर्ताहरुले ‘जित्न हैन, भोट काट्न उठेको’ भन्थे । ठूला भनिने दलहरु बोधराजलाई ‘प्रतिष्पर्धी’ ठान्दैनथे । तर कर्म र मर्मको राजनीतिमा लागिसकेका बोधराजले आफैमाथि विश्वास गरे । विदेश जान खुट्टो उठाएकालाई गाउँमै रोक्न कृषि र पर्यटन नै मूल आधार हो भन्दै मतदाताको दैलोमा पुगे । 

 

‘स्याङ्जा सरकारी जागिरेको जिल्ला हो तरपनि राजनीतिमा सोंच बदलिएको रहनेछ’ उनी भन्छन् ‘वंशजको राजनीतिले गाडेको जरो अलि गहिरै रहेछ ।’ यद्यपि, अघिल्लो पुस्तामा देखिएको वितृष्णा र पछिल्लो पुस्तामा देखिएको आशले उनलाई हौस्याइरह्यो । 

 

 

चुनावी घरदैलोबीच आँधिखोला पुग्दा ९६ वर्षीय मतदाताले सुनाएको कुराले उनलाई राजनीतिमा लाग्न झनै प्रेरित गरेछ । वृद्धले भनेछन्, ‘जवानीदेखि अहिलेसम्म मैले भोट हालिरहे, खोइ परिवर्तन ?’ बोधराजसँग फर्काइहाल्न लायकको उत्तर त थिएन तरपनि भोट खेर नजानेमा विश्वस्त भएछन् । पछि हिँड्नेबेला उनले भनेछन् ‘बाबु, तिमिलाई मेरो आशिर्वाद ! जित्नुपर्छ है ।’ बोधराजले सुनाए, ‘मैले झनै गह्रुँगो जिम्मेवारी लिएर फर्किए ।’

 

 

चुनावी दौडाहाकै अनुभव सुनाउनेक्रममा फेदिखोला २ मा पुग्दा ९७ वर्षीया वृद्धाले ‘जितेको समचार सुन्न पाउँ है, भन्दै आशिर्वाद दिएकी रहिछन् । तर भोलीपल्ट उनको मृत्यु भएछ । केही मलिन मुद्रामा बोधराज भन्छन्, ‘मलाई जितको आशिर्वाद दिने आमाले म हारेपनि देशले जित्ने समाचार सुन्न पाउनु भएन ।’

 

चुनावमा होमिँदा युवा पुस्ताले साथ त दिए नै ५ दशकमाथिका मतदाताहरु पनि नयाँ पुस्ता राजनीतिमा आयो भनेर हौसला दिएको उनी बताउँछन् । त्यस्तै, बोधराजलाई घरपरिवारको पनि उस्तै साथ रह्यो । ‘बुवाले विदेश जा, सरकारी जागिर खा, कहिले भन्नु भएन, बोधराजले सुनाए ‘चुनावमा उठेपछि भ्याएसम्म बुवा आफै प्रचारमा हिँड्नुभयो, भोट मागिदिनु भयो ।’

 

‘चुनाव सकियो, खेलो पनि सकियो कि ?’ भन्ने प्रश्नमा उनले ‘खेलो हैन, खेल अब सुरु भएको’ जवाफ दिए । जनताले मत हैन विश्वास दिएको बताउँदै उनले जनमतको सम्मान गर्न र खबरदारी गर्न अब निरन्तर राजनीतिमा लाग्ने उल्लेख गरे । 

 

‘म अब निरन्तर राजनीतिमा छु, जनताबीच छु’ बोधराजले भने ‘म मेरो मतदातालाई जिताउन हरसम्भव आफ्नो ठाउँबाट लाग्नेछु ।’ ६ हजार ६५ मतकासाथ तेस्रो भएका बोधराजको पार्टीले समानुपातिकतर्फ भने ११ हजार २७६ मत ल्याएको छ । मतसँगै आगामी चुनाव जित्ने जिम्मेवारी पनि थपिएको छ । 

 

यस निर्वाचनबाट देखिने खालको परिवर्तनबारे राखिएको अन्तिम जिज्ञासामा बोधराजले उत्साही हुँदै भने, ‘राजनीतिलाई डर्टी गेम भन्दै पर बस्ने रुचाउने युवा पुस्ता अहिले घन्टी बजाउँदै सफा गर्न तम्सिएका छन् ।’

 

(कुराकानीमा आधारित)


 

सुर्खेतः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षदेखि ‘बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । चालु आवमा  १० करोड बजेट विनियनेजन भएसँगै विभिन्न...

थप पढ्नुहोस्

काठमाडौं:     नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिलस्...

थप पढ्नुहोस्

धादिङः  धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार...

थप पढ्नुहोस्