बाजुरामा मतगणना अनिश्चित

बाजुरा | मंसिर ११, २०७९

बाजुरामा मतगणना अनिश्चित

बाजुरा:  मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । 


निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ ।


यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ । 


आयोगको टोली बाजुरामा 

मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुल्सी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो । आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

 
निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले बुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ । टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताउनुभयो ।

 
निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताउनुभयो । उहाँले आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलले बताउनुभएको छ । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्