नाका नखुल्दा सतुवाको बजार शून्य
ताप्लेजुङ | कात्तिक १४, २०७९
ताप्लेजुङ : लामो समयदेखि बन्द चीनको सीमावर्ती टिप्ता नाका नखुल्दा बहुमूल्य जडीबुटी सतुवाको बजार शून्य जस्तै भएको छ । विगत चार वर्षदेखि बन्द नाका नखुल्दा सतुवाको निर्यात हुन सकेको छैन । ताप्लेजुङमा सङ्कलन भएको सतुवा चीन निर्यात हुँदै आएको थियो ।
विगत ६ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आउनु भएका फुङ्लिङ नगरपालिका-१० का पूर्णहाङ लिम्बू नाका नखुल्दा निराश बन्नुभएको छ ।
सात वर्ष अगाडि प्रतिकिलो रु २० हजारमा खरिद बिक्री हुने सतुवा नाका नखुल्दा उचित मूल्य पाउन सकेको छैन । तत्कालीन समयमा सतुवा राम्रो मूल्यमा बिक्री हुन थालेपछि लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवाको व्यावसायिक खेती सुरु गर्नुभएको थियो । उहाँले जङ्गलबाट सतुवाको बिउ ल्याएर खेती सुरु गर्नुभएको थियो ।
उहाँले बिस्तारै सतुवाको बेर्ना उमार्नका लागि एक रोपनी जग्गामा टनेल लगाउनुभयो । अहिले पनि टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आउनुभएको छ । प्रतिबोट रु १५ देखि ३० सम्म सतुवाको बेर्ना बिक्री गरिरहनु भएकाले लिम्बुले उत्पादन गरेको सतुवाको ताप्लेजुङको भिन्न स्थानमादेखि अन्य जिल्लामा समेत निर्यात गरिरहनु भएको छ ।
“सात वर्षअघि लगाएको सतुवाको बेर्नाबाट यतिबेला फल बिक्री गर्ने समय भएको छ तर फल निकालेको छैन”, लिम्बूले भन्नुभयो, “हामी नाका खुलेपछि राम्रो बजार मूल्य आउँछ भन्ने आशामा बसेका छौं ।”
एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जुन समयमा पनि खनेर बिक्री गर्न सकिने उहाँको भनाइ छ । “एकपटक रोपिएको दाना कुहिन्न, प्रत्येक वर्ष आख्ला सर्दै जान्छ”, उहाँले भन्नुभयो ।
सात वर्षअघि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म आउने उहाँको भनाइ छ । तर बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताउनुभयो ।
चार वर्षअघि रोजगारीका लागि विदेश जाने तयारीमा रहनुभएका फक्ताङलुङ गाउँपालिका(६ का सन्तोष राई पनि सतुवा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने योजना त्याग्नुभयो । विदेश जाँदा लाग्ने खर्च सतुवामा लगानी गरी राईले व्यावसायिक खेती सुरु गर्नु भएको छ ।
सतुवाको खेती गर्न सुरु गरेसँगै कोरोना महामारी फैलिएको र सोही कारण बन्द टिप्ता नाका हालसम्म खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा जडीबुटीको बजार बजार शून्य जस्तै बनेको छ ।
“बजार शून्य छ । तैपनि आशा अझै बाँकी छ, कुनै दिन सतुवाले राम्रो बजार मूल्य पाउँछ भन्नेमा विश्वास छ”, राईले भन्नुभयो ।
डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६/७७ मा दुई हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको थियो । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
“सतुवा चीनका व्यापारीले खरिद गर्छन्, ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ता नाका हुँदै चीनको रियु बजारसम्म पुग्छ”, फुङ्लिङ नगरपालिका(५ का सतुवा व्यापारी सविन बानियाँले भन्नुभयो, “कोरोना महामारीका कारण बन्द नाका नखुल्दा व्यापार शुन्य जस्तै बनेको छ ।”
स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोगको औषधि हो । पेट दुखेको, पखाला लाग्दा, बान्ता हुँदा र पेटको जुका पर्दा समेत औषधिका रुपमा यसको प्रयोग हुँदै आएको छ । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने (अल्काइन हुने), अपच हुने, कमजोरी र रिँगटा लाग्ने रोगको समेत उपचारमा सतुवाको प्रयोग हुँदै आएको छ ।
मनाङ: जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने...
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउनुभएको छ । मन्त्रालय...
काठमाडौं: मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक क...