फेवातालको जलकुम्भी झार सफाई गर्न एक हप्ता लाग्ने
पाेखरा | असोज २५, २०७९

पोखरा : पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।
सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको महानगरपालिकाका प्रमुख आचार्यले दिनुभयो । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ ।
तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताउनुभयो । फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् ।
फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।
बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताउनुभयो । कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ ।
“फेवाताल सबैको हो, यसलाई बचाइ राख्नुपर्छ, ताल लोप हुने अवस्थामा पुग्न हुदैन”, बरालले भन्नुभयो, ” ताल बचाउने चिन्ता सबैमा हुनुप¥यो, ताल वरपरका घरहोटलले पनि तालमा लगेर ढल मिसाउन हुदैन । पोखराका ताल सफाइ गर्न पाँच वर्ष अघि पोखरा महानगरपालिकाले एक करोड बढी मूल्य तिरेर छुट्टै मेसिन खरिद गरेपनि उक्त मेसिन एक वर्ष पुग्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा...
विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार ट्रान्सफर्मर चोरी घटनामा संलग्न ७ जन...
काठमाडौं: सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय ...