पहिरोको चपेटामा बागलुङको रामतोला बस्ती
बाग्लुङ | भदौ २७, २०७९

बागलुङ : बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ ।
पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।
डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् ।
पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । “पानीका दुईवटा ट्याङ्की नै बगेकाले खानेपानीको हाहाकार छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने” ।
उहाँले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताउनुभयो । उहाँले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोख्नुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गर्नुभएको छ । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिराले दुईवटा खानेपानीका ट्याङ्की बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।
यहाँका दर्जनौँ विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताउनुभयो । “अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।” रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।
दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्याङ्कीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् । सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।
पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राख्नुभएको छ । यसका लागि पहल गर्न उहाँले वडाध्यक्षलाई आग्रह गरेको बताउनुभयो । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ ।
निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । “पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला”, इञ्जीनियर त्रिलोचन गिरीले भन्नुभयो, “यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।” पानी परेमा पहिरो झनै बढ्न सक्ने उहाँले बताउनुभयो । विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उहाँले बताउनुभयो । “सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरु अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ”,उहाँले भन्नुभयो, “पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।”
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्याल...
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्य...
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...