उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

कैलाली | भदौ ८, २०७९

उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन् । भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।

 

सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले रु पाँच लाख ५० हजार विनियोजन गरेको थियो । महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट रु तीन लाख एक हजारमात्रै भुक्तानी पाएका छन् । बाटो बनाउँदा खर्च भएको रु एक लाख १५ हजार तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर समस्यामा छन् ।

 

उपभोक्ता समितिमा स्थानीय ११ महिला छन् । महिलाले बाटो बनाउँदा टिपरलाई मात्र रु तीन लाख ९० हजार र जेसिबीलाई रु १२ हजार तिर्न बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाब छैन । सुरुआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरुले बताएका छन् । प्राविधिकले बनाएको स्टिमेटअनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउनुहुन्छ । “हामीले भनेअनुसार काम गर्‍यौँ”, उहाँले भन्नुभयो, “पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए । प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौँ ।”

 

पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ । पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन् । महिलालाई रकम तिर्न ताकेता गर्दै टिपर मालिकले कागज गराएर गाई भैँसी उठाउने भनेपछि उनीहरु अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेको धामी बताउनुहुन्छ । “टिपरलाई रु ९० हजार तिर्न बाँकी छ । हामीसँग ४५ दिनको कागज गरिएको छ । आज ४५ दिन पुग्दैछ”, उहाँले पीडा सुनाउनुभयो, “अब कहाँबाट ल्याएर तिर्नेरु, बाटो बनाउँदा ऋणमा डुब्यौँ ।”

 

महिलाले टिपर मालिकलगायतलाई गरी अझै रु एक लाख १५ हजार तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निकै समस्यामा छौँ । बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौँ ।” महिलाले छ सय २० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन् । पालिकाले हिसाब गरेर चार सय ८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताउनुभयो । सो क्रममा उनीहरुले श्रमदानसमेत गरेका थिए । “माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्”, उहाँले भन्नुभयो । 

 

टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो । उक्त म्याद आज सकिँदैछ । रु ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउनुहुन्छ । “मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौँ”, उहाँले भन्नुभयो, “उपभोक्ता समितिलाई ऋणी बनाइएको छ । मलाई साक्षी राखिएको छ ।”

 

स्टिमेटअनुसार छ सय २० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर चार सय ८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबइञ्जीनियर भावना विष्टले कामअनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताउनुभयो । “उहाँहरुले काम गरेअनुसार भुक्तानी दिइएको छ । रकम नपुगेको बारे मलाई थाहा छैन”, उहाँले भन्नुभयो, “हामीले नापेर भुक्तानी दिने हो । त्यहीअनुसार दिएका छौँ ।” 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ।   बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शु...

थप पढ्नुहोस्

पोखरा:   विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।  &nb...

थप पढ्नुहोस्