नवौं राष्ट्रिय खेलकुद अपनत्व लिएर सफल पार्नुपर्छ : खेलकुदकर्मी

भदौ १५ भित्र खलस्थल टुंगिन्छ :राखेप सदस्य गुरुङ

पाेखरा | भदौ २, २०७९

नवौं राष्ट्रिय खेलकुद अपनत्व लिएर सफल पार्नुपर्छ : खेलकुदकर्मी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सबैले अपनत्व लिएर सफल पार्नुपर्ने विभिन्न जिल्लाका खेलकुदकर्मीले जोड दिएका छन् । उनीहरुले चार दशकपछि गण्डकीमा हुने राष्ट्रियस्तरको मेघा इमेन्ट सफल पार्नु प्रदेशवासीको दायित्वसमेत रहेको बताए । 

 

खेल मैदान अवलोकनका लागि विभिन्न जिल्लामा पुगेको खेलमैदान व्यवस्थापन उप–समितिको प्रतिनिधिमण्डलसँग उनीहरुले जिल्लामा कम्तीमा एक खेल हुनुपर्ने र यसले खेलकुदका अलावा पर्यटकीय गतिविधिलाई समेत टेवा मिल्ने बताए । टोलीले नवलपुर, गोरखा र तनहुँ जिल्लाका विभिन्न स्थानमा सम्भावित खेलमैदान अवलोकन गरेको हो । 

 

खेलमैदान व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले चार दशकपछि हुन लागेको प्रतियोगिताले जिल्लावासीमा उत्साह देखिएको प्रतिक्रिया दिए । खेल पूर्वाधार रहेका जिल्लामा बसोबास, अस्पताल, यातायात र सुरक्षाका विषयलाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय भदौ १५ भित्र टुंगिने जानकारी दिए ।

 

यसैबीच, जिल्ला खेलकुद विकास समिति तनहुँले सदरमुकाम दमौलीमा आयोजना गरेको अन्तरक्र्रियामा व्यास ६ का वडाध्यक्ष जीवन गुरुङले राष्ट्रिय खेलकुद व्यासमा सञ्चालन गर्न आफ्नो नगरपालिका सकारात्मक रहेको बताए । उनले आफ्नो जिल्लामा कुनै एक खेलमात्रै सञ्चालन भयो भने खेलसँगै अन्य विभिन्न क्षेत्रमा पनि प्रत्यक्ष अप्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

 

व्यास ९ का वडाध्यक्ष एवं नगरपालिका खेलकुद समिति सभापति सुरेश थापाले नवौंको लागि जिल्लामा अन्तर्राष्ट्रिय मापदण्डको बास्केटबल कोर्ट बनेको हुँदा तनहुँमै सो खेल संचालन गर्न उपयुक्त हुने दाबी गरे ।
व्यास २ का वडाध्यक्ष अनुप रानाले प्रतियोगितामा समन्वय गर्न आफूहरु तयार रहेको बताए ।

 

कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष पदम सुनार, तनहुँ जिल्ला टेक्वान्दो संघका अध्यक्ष आकाश घर्तीमगर, एथलेटिक्स खेलाडी प्रेरणा ढकाल, प्रेमबहादुर थापा, कबड्डी खेलाडी सन्देश रानाले जिल्लामा खेलकुदका पूर्वाधार र प्रशिक्षकको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

 

जिल्ला खेलकुद विकास समिति अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कराते प्रशिक्षक मणिराज थापा मगर र सञ्चालन कार्यालय प्रमुख शिवहरि पौडेलले गरेका थिए ।
टोलीले दमौली रंगशाला, निर्माणाधीन कभर्ड हल, निर्मल माविको टेनिस कोर्ट लगायतका खेलस्थल अवलोकन गरेको हो ।

 

यसैबीच, टोलीले गोरखा रंगशालास्थित कर्भडहल तथा रंगशाला मैदान अवलोकन गरेको छ । त्यहाँ आयोजित कार्यक्रममा खेलकुदकर्मीले जिल्लामा खेलकुदका संरचना सुहाउँदो कम्तीमा एउटा खेल सञ्चालनको जिम्मेवारी दिन आग्रह गरे ।

 

गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वनाथ वाग्लेले जिल्लामा प्राविधिक हिसाबले उपयुक्त भएका खेल सञ्चालन हुनुपर्ने बताए । उनले पालिकाले प्रतियोगितालाई सम्झनलायक प्रतियोगिता बनाउन आफ्नो तर्फबाट सकेको सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

 

नेपाल खेलकुद महासंघ गोरखाका अध्यक्ष दीपक भण्डारीले पूर्वाधार सुहाउँदो संख्यात्मकभन्दा गुणात्मक खेल सञ्चालन गर्दा त्यसले राम्रो सन्देश जाने बताए ।

 

जिल्ला खो–खो संघ गोरखाका अध्यक्ष राजकुमार श्रेष्ठले गोरखा आफैमा ऐतिहासिक, पर्यटकीय जिल्ला रहेको र प्रतियोगिताका माध्यमबाट खेल पर्यटन भित्र्याउन मद्दत पुग्ने उल्लेख गरे ।

 

जिल्ला भलिबल संघका सचिव राजुबाबु श्रेष्ठले समग्रमा राज्यले खेलकुदलाई राम्रोसँग हेर्न नसकेको अवस्था रहेको भन्दै यसलाई सुधार्न आवश्यक रहेको औल्याए ।

 

नेपाली कांग्रेस जिल्ला सदस्य तथा हान गण्डकीका महामन्त्री मनप्रसाद धितालले नवौं राष्ट्रिय खेलकुदलाई आफूले ऐतिहासिक जिल्लामा फेरि अर्को इतिहास कोर्ने अवसरका रुपमा लिएको उल्लेख गर्दै खेलकुदले कोरोनाले थलिएको पर्यटनलाई उठाउन मद्दत पुग्ने बताए ।

 

नेकपा (माओवादी केन्द्र) का राजन आलेमगरले ऐतिहासिक जिल्लालाई खेलकुदको माध्यमबाट चिनाउने अवसर आफूहरुले पाउनुपर्ने बताए । 

 

राप्रपा नेपालका जिल्ला अध्यक्ष कुलबहादुर बस्नेतले प्रतियोगितालाई सम्पन्न गर्न पार्टीभन्दा माथि उठेर मन, वचन र कर्मले सहयोगका लागि आग्रह गरे ।

 

गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जिल्लाका हरेक खेलकुदका गतिविधमा आफूहरुको साथ रहेको भन्दै यसपटक पनि रहने प्रतिबद्धता व्यक्त गरे । 

 

कार्यक्रममा नेपाल सितेरियो कराते प्रशिक्षक ग्यालजेन लामा, द्रव्य शाह बहुमुखी क्याम्पसका ‘फिजिकल’ प्रशिक्षक केशव रेग्मी, हरमटारी युवा क्लवका अध्यक्ष किरण ढकाल लगायतले गोरखामा सञ्चालन हुने जुनसुकै खेलको क्लोज क्याम्प गोरखामा नै सञ्चालन गर्न उनीहरुले माग गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन कार्यालय सचिव पञ्चसिंह राईले गरेका थिए । टोलीले यसअघि नवलपुरको कावासोती नगरपालिकाका विभिन्न खेलमैदान अवलोकन गरेको थियो । 

 

नवौं राष्ट्रिय खेलकुद गण्डकीमा आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ । प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा प्रतिस्पर्धमा हुनेछ । 


 

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदल...

थप पढ्नुहोस्

पोखरा:  लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।  फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...

थप पढ्नुहोस्

पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत...

थप पढ्नुहोस्