मानसिक शान्ति खोज्दै नेपाल आउँछन पर्यटक
पाेखरा | साउन १७, २०८२

पोखरा: नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ।
पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘कचहरी’ शृंखलामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा। रामप्रसाद अर्यालले प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनले उक्त निष्कर्ष निकालेको हो।
प्रतिवेदनअनुसार, सन् १९९७ मा तीर्थयात्राका लागि ४,०६८ विदेशी पर्यटक नेपाल आएकोमा सन् २०१७ मा यो संख्या ३५ गुणाले बढेर १ लाख ४१ हजार ३३ पुगेको थियो।
डा। अर्यालले नेपालको आध्यात्मिक आकर्षण तीव्र गतिमा बढिरहेको बताउँदै यो केवल संयोग नभएर एक स्थापित प्रवृत्ति भएको उल्लेख गरे। डा। अर्यालले आफ्नो अध्ययनका क्रममा भेटिएका पर्यटकहरूको अनुभव उद्धृत गर्दै भने, ‘उनीहरू नेपालको भूमिमा एक विशेष आध्यात्मिक स्पन्दन र ऊर्जा महसुस गर्छन्, जुन अन्य भौतिकवादी देशहरूमा पाइँदैन।’
प्रतिवेदनमा पोर्चुगलका २३ वर्षीय कार्लोसले रेकी सिक्न पोखरा आएको, बेल्जियमका २८ वर्षीय दानले पूर्वीय दर्शनमा गहन सत्य पाएको र नेदरल्यान्डका ५४ वर्षीय रामदासले नेपाललाई ‘भगवानको भूमि’ को संज्ञा दिएको जस्ता अनुभव समेटिएका छन्।
अध्ययनले योग, ध्यान, भजन र कीर्तन जस्ता अभ्यासले धर्मको परिधिभन्दा बाहिर रहेर पनि मानिसको मानसिक सन्तुलन र जीवन सन्तुष्टिमा उल्लेखनीय सुधार ल्याएको देखाएको छ। डा। अर्यालका अनुसार, उनको अध्ययन विश्व स्वास्थ्य संगठनले प्रस्ताव गरेको अवधारणात्मक ढाँचामा आधारित छ, जसले आध्यात्मिक अभ्यासको स्वास्थ्य र समग्र जीवनमा पर्ने असरलाई जोड दिन्छ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाकी पूर्व सदस्य डा। पुष्पा केसीले आधुनिक जीवनको तनाव व्यवस्थापनका लागि आध्यात्मिक केन्द्रहरू महत्त्वपूर्ण हुने बताइन्। उनले भनिन्, ‘हाम्रा आस्थाका केन्द्रहरूले अब स्वदेशी र विदेशी दुवैका लागि शान्तिको मलम लगाउनुपर्छ।’
जनप्रिय क्याम्पसका उपप्राध्यापक दीपेन्द्र पहारीले पूर्वीय दर्शनको शक्तिले नै विदेशीहरूलाई मानसिक सन्तुष्टि खोज्दै नेपालसम्म ल्याएको बताए।
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले करिब १२ प्रतिशत पर्यटक धार्मिक उद्देश्यले आउने गरेको तथ्यांक प्रस्तुत गर्दै भौतिकवादी विकासबाट आजित मानिसहरू पुनर्ताजगीका लागि यता आउने गरेको उल्लेख गरे।
नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले पर्यटनको सबैभन्दा पुरानो विधा ‘तीर्थाटन’ भएको स्मरण गराउँदै भने, ‘हामी धार्मिक रूपले सम्पन्न भूगोलमा छौँ तर यसको सदुपयोगमा चुकिरहेका छौँ।’
यसैगरी, डा. रामजी शर्माले ‘वेलनेस टुरिजम’को बढ्दो महत्वबारे चर्चा गरे भने योगगुरु तीर्थप्रकाशले नेपालले शान्ति र आनन्दको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बताए।
खगराज आचार्यले मनको शान्तिका लागि नेपाल आउने पर्यटकलाई उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए। खुला छलफलमा घनश्याम पौडेल, लक्ष्मण शर्मा, खेमराज जोशी, शान्ता पन्त भट्ट, रामप्रसाद गौतम र गणेश शर्माले पनि आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा लेकसिटी कलेजका अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले मानसिक र शारीरिक सन्तुष्टिका लागि आध्यात्मिक पर्यटन अपरिहार्य रहेको बताए। कलेजका संस्थापक उपेन्द्रप्रसाद पौडेलले अनुसन्धानमा लगानी अत्यन्तै कम भएको बताउँदै नेपालले आफ्ना पर्यटकीय उत्पादनलाई प्रभावकारी रूपमा बेच्न नसकेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए।
सो अवसरमा कलेजका उपप्राध्यापक अनिश पौडेलले लेकसिटी कलेजमा मानविकी अन्तर्गत सामाजिक कार्य ९बिएसडब्लु० र व्यवस्थापन अन्तर्गत पत्रकारितासहितको बिबिएस कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए। बिएसडब्लु चौथो वर्षमा अध्ययनरत सुयशा पुनले सञ्चालन गरेको कार्यक्रमको समापन तेस्रो वर्षकी विद्यार्थी प्रतिमा पौडेलले गरेकी थिइन्।
पोखरा: नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । ...
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २...
बागलुङ: बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको ...