घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजारबढी लाभान्वित
पाेखरा | असार २८, २०८२

पोखरा: कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ ।
यही असार १ गतेदेखि महानगरका १० वटा वडामा सुरू गरिएको उक्त कार्यक्रमबाट ज्येष्ठ, अशक्त र असहाय नागरिकले प्रत्यक्ष लाभ लिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
उक्त कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार वडा नं। १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ का टोलबस्तीमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
महानगरले आगामी आवमा पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु गरी अन्य वडा तथा टोलमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती अभियान सञ्चालन गरिएको बताउनुभयो ।
नसर्ने रोगको स्क्रिनिङसँगै महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा स्वास्थ्य जाँच, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिइएको उहाँको भनाइ ।
“स्क्रिनिङका क्रममा ६० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ, मधुमेह, स्वासप्रस्वास, स्तन र पाठेघरको समस्या भएका बिरामीको पनि पहिचान गरिएको छ”, उहाँले भन्नुभयो, “हरेकले स्वस्थ आहारविहारमा ध्यान दिन र जीवनशैली परिवर्तन गर्नु आवश्यक देखिएको छ, ज्येष्ठ नागरिकलाई उचित हेरचाह र औषधोपचारको खाँचो छ ।” उहाँका अनुसार वडा नं। ८ का १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । यस वडामा मात्र १२ सय ८४ जनाले सेवा पाएका छन् । केन्द्रका स्वास्थ्यकर्मीले वडा नं. २५ हेम्जामा रहेको मानवसेवा आश्रमका एक सय ७० जनालाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
विशेषगरी नसर्ने रोगबाट प्रभावित नागरिकलाई जाँचसँगै औषधि नियमित सेवन गरेरनगरेका अनुगमन गरी सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गरिएको थियो । समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम पनि सँगसँगै गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।
स्वास्थ्य जाँचका क्रममा अस्पताल जानुपर्ने अवस्थाका बिरामी पहिचान भएमा सोहीअनुसारको सल्लाह र परामर्श दिइएको उहाँको भनाइ छ । अक्सिजनका मात्रा, मोटोपनाको जाँचलगायतका सेवा पनि प्रदान गरिएको थियो ।
नगरवासीको स्वास्थ्यप्रति प्रतिबद्ध रहेको जनाउँदै सबै वडा र टोलमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।
गत वर्ष वडा नम्बर २५ हेम्जामा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरी घरघरमा ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो । सोही कार्यक्रमलाई यस वर्ष १० वटा वडामा सञ्चालन गरिएको हो ।
पोखरा: पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । पोखरा–३ नदिप...
रसुवा: नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भ...
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमा...