प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता
काठमाडाैं | असार २४, २०८२

काठमाडौं: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।
भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उहाँहरूबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुग्नुभएको थियो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ भेटमा सहभागी हुनुहुन्थ्यो । कोशी र कर्णालीका प्रदेश प्रमुख असार १८ गते राष्ट्रपतिसँग भेटपछि काम विशेषले आफ्नो प्रदेश फिर्ता भएकाले उपस्थित हुन सक्नुभएन ।
प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले पछिल्लो समय संघीयता र त्यसमाथि पनि प्रदेश संरचनाको आलोचना भएको उल्लेख गर्दै संघीयतालाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
सामूहिक भेटवार्तामा प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा सात वटै प्रदेशका प्रमुखहरु शितल निवास पुगी भेटवार्ता र छलफल गरेको जानकारी गराउनुभयो ।
प्रदेश प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे साझा अवधारणा बनाई प्रधानमन्त्री समक्ष प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।
प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन तथा नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गर्नुभयो ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिनुभयो । उक्त अवसरमा प्रदेश प्रमुखहरूले प्रधानमन्त्रीसँग नियमित सम्पर्क र समन्वयका लागि आग्रह पनि गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने बताउनुभएको छ ।
उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आफ्ना प्रदेश कार्यालयबाट प्रकाशित बुलेटिन प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...
काभ्रेपलाञ्चोक: गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठ...