बागलुङको पर्यटकीय गन्तव्य बन्दै शालग्राम सङ्ग्रहालय
बाग्लुङ | साउन २०, २०७९
बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित भइसकेको स्थान हो, बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय । शालग्राम सङ्ग्रहालय अहिले निकै चर्चित छ । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।
बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति निर्माणसँगै सङ्ग्रहालयको महिमा झनै चुलिएर गएको छ । शालग्राम भन्नेबित्तिकै जो–कोहीले पनि भगवान् विष्णु सम्झनछन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दू धर्मावलम्बीले शालग्रामको पूजा–आराधना गर्ने गरे पनि वर्तमान समयमा भने शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा सङ्ग्रह गरी राखिएको शालग्राम सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइएको छ भने बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएको छ ।
बागलुङ नाम बाघको नामसँग जोडिएकाले बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति शालग्राम सङ्ग्रहालयको प्रवेशद्वारमा बनाइएको र शालग्राम दर्शन गर्न आउनेको रोजाइमा बाघको मुख आकर्षणमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “भूमिगतरूपमा शालग्राम सङ्ग्रहालय बनाइएको छ, यसको प्रवेशद्वार भर्खरै मात्र बनाइएको छ । बाघको मुखको आकृति”, उहाँले भन्नुभयो, “कृष्ण गण्डकीको पहिचानका रूपमा रहेको शालग्राम सङ्ग्रहालयसँगै बागलुङको नामाकरणसँग जोडिएको बाघको आकृतिको प्रवेशद्वार अति नै महत्वपूर्ण छ ।”
तिरुपती बालाजीधामभित्र रहेको शालग्राम सङ्ग्रहालयको प्रवेशद्वार नै बाघको आकृतिबाट बनाइएको शालग्राम सङ्ग्रहालयले आफ्नो आन्तरिक आम्दानीबाट रु १५ लाख लागतमा निर्माण गरेको हो । भारत र नेपाली कलाकारको समन्वयमा उक्त १० फिट अग्लो र पाँच फिट चौडाइको आकृति बनाइएको हो ।
भारतीय पर्यटक शालग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनका लागि पुगेका दर्थनार्थीले यहाँको सवा लाख शालग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिकृया दिँदै आएका छन् । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले तीन वर्षअघि शालग्राम निर्माण गरेको हो भने एक दशकदेखि शालग्राम सङ्ग्रह गरेर राखिरहेको थियो ।
मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम सङ्ग्रहालय बनाएपछि शालग्रामप्रेमी दर्थनार्थीको आकर्षण बढ्दो छ ।
भगवान् शिवको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारमा भू-गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थितरूपमा शालग्राम सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण भएका छन् ।
साविकको धवलागिरि अञ्चल सदरमुकाम बागलुङ नगरपालिका-४ कुँुडुले फेदीस्थित रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम सङ्ग्रहालय निर्माण गरिएको छ । झट्ट हेर्दा बाघको मुखभित्र यत्रो संरचना लुकेर रहेको छ भन्ने कुरा कसैलाई विश्वास हुँदैन तर शालग्राम सङ्ग्रहालयका लागि बाघको मुखबाट पसेपछि मात्रै यो कुरा विश्वास लाग्ने भ्रमणमा पुगेका पर्यटक सन्तु लामिछानेले बताउनुभयो ।
मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई बागलुङ भित्र्याउनसमेत यस सङ्ग्रहालयले ठूलो योगदान गरिरहेको छ भने जिल्लाका अन्य पर्यटकीय गन्तव्यलाई समेत चलयमान बनाएको छ । हाल सङ्ग्रहालयमा साना–साना सालग्रामदेखि तीन सय किलोसम्मको शालग्राम सङ्ग्रहित छ । परापूर्वकालदेखि नै शालग्राम सङ्ग्रहित गर्दै आएका स्व स्वामी श्रीधरचार्यको सपना साकार पार्ने काम भएको भन्दै स्थानीय खुसी छन् ।
हिन्दू धर्मावलम्बीका लागि कालो रङको बाटुलो शिला (ढुङ्गा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णव र सनातनीहरूले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका अभियन्ता मानिन्छन् । उहाँको २०५६ सालमा ३९ वर्षको उमेरमा निधन भएको थियो ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...
रसुवा: जिल्ला प्रहरी कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ । कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले गत १ ...