पर्वतमा ८ करोडको लगानीमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत | पुस २८, २०८१

पर्वतमा ८ करोडको लगानीमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत:    चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । 


चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । 


दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । 


पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ ।

 
चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ । 


चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्दछ । यसका लागि कम्पनीले प्रतिकिलो रु २० का दरले मूल्य निर्धाणरण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी रु आठका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ । 


छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यही औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो । यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठले बताउनुभयो ।


उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ । 
    

कम्पनीले पहिलोपटक एक हजार दुई सय सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जानकारी दिएको छ । सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी सम्भवत नेपालमै पहिलो भएको हो । 


डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले गैरकाष्ठ वनपैदावरअन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले बिक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउनुभयो । 


पर्वतमा चुत्रो समुद्री सतहबाट एक हजार मिटर उचाइदेखि तीन हजार मिटर उचाइसम्म पाइने गरेको उहाँको भनाइ छ । बाँझो बन्दै गएका व्यक्तिगत खरबारी, पाखो यत्रतत्र पाइने चुत्रो जातको वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्थामा उद्योग सञ्चालन भएपछि किसान तथा सामुदायिक वनले समेत लाभ लिन सक्ने उहाँको भनाइ छ ।
 

नेपालमा अहिलेसम्म चुत्रोबारे उल्लेख नभएको हुँदा खरिद बिक्रीका लागि पुर्जी जारी गर्नसमेत नपर्ने उहाँले बताउनुभयो ।  चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी हुन नसकेको उहाँको भनाइ छ । 


जिल्लामै चुत्रो प्रशोधन उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बाँझो रहेका खेतबारी र पाखो तथा जङ्गल आसपासमा चुत्रको व्यावसायिक खेती गर्ने योजना बनाउन थालेका छन् । 

म्याग्दी:  मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।  आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा ...

थप पढ्नुहोस्

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा। सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ ल...

थप पढ्नुहोस्

पोखरा:  पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्...

थप पढ्नुहोस्