मस्तिष्कघातको नि:शुल्क उपचारको तयारीमा सरकार

काठमाडाैं | पुस २२, २०८१

मस्तिष्कघातको नि:शुल्क उपचारको तयारीमा सरकार

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको नि:शुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ । 

    
कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गर्नुभयो । 

    
कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ”, उहाँले भन्नुभयो । 

    
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो । 

    
“अस्पतालमा शय्याको सङ्ख्या बढाए पनि बिरामीको चाप कम भएको छैन”, उहाँले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप कम गर्न प्रत्येक प्रदेशमा एक सयदेखि तीन सय शय्यासम्मको बाल अस्पताल निर्माण गर्नुपर्छ ।”

    
अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताल चिकित्सा क्षेत्रको राष्ट्रिय सम्पदाका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उपचार सेवामा विविधिकरण र विशिष्टीकरण गरेको छ । हाल १४ वर्ष मुनिका उपचार गर्ने बालबालिकाको सङ्ख्या २८ प्रतिशत छ । यो समूहलाई उपचार सेवा दिएर ठूलो सेवा गरेको छ ।”

    
उहाँले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताउनुभयो । अस्पतालले वार्षिकोत्सवको अवसरमा वायु गुणस्तर मापन उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो । 

    
अस्पतालका निर्देशक डा पङ्कज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    
“अस्पतालमा अहिले पनि शल्यक्रियाका लागि पालो पर्खिनुपर्ने अवस्था छ । सघन उपचार कक्ष पनि थप गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अस्पतालको वृहत गुरुयोजना अनुरुप विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भइसकेको छ ।” उहाँले थप स्रोत जुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कतार दूतावाससँग पहल गरिरहेको जानकारी दिनुभयो । 
     
    
देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रुपमा रहेको कान्ति बाल विसं २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शय्या छन् । 


अस्पतालले आर्थिक वर्ष २०८०/८१ म एक लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्