बेनीमा सुरु भयो तीन सय वर्ष पुरानो बर्खेनाच

म्याग्दी | साउन ११, २०७९

बेनीमा सुरु भयो तीन सय वर्ष पुरानो बर्खेनाच

म्याग्दी   :  म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको  बर्खेनाच सुरु भएको छ । वि.सं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएका थिए । त्यतिबेलादेखि नै बेनीमा बर्खेनाच देखाउने परम्परा बसेको हो ।

 

 

प्राचीन समयमा समाजमा खलपात्रका रुपमा चिनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतीक बनाई त्यसलाई बध गरेर (मारेर) कालीगण्डकीमा विसर्जन गरेसँगै एकमहिने बर्खे नाच सुरु भएको हो । नेपाल भाषा मंकाः खलको आयोजनामा मङ्गलबार सङ्गमचोकबाट तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई बध गरेर कालीगण्डकी नदीमा विसर्जन गरिएको थियो । 

 

 

घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सुरु हुने नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । “हिजो घण्टाकर्णको बध गरी कालीगण्डकीमा विसर्जन गरियो, आजदेखि बर्खेनाच सुरु भएको छ”, उहाँले भन्नुभयो ।

 

 

बर्खेनाचअन्तर्गत लाखेनाच, रोपाइँ नाच, घोडा नाच, नागानागिनी नाच, श्रीकृष्ण र रथयात्रा, हनुमान नाच आदि पर्दछन् । तर पछिल्लो समय कलाकारहरुको अभावमा हनुमान नाच देखाउन छाडिएको छ । 
बर्खे नाचमा मंकाः खल अन्तर्गतको युवा सङ्गठन ल्याम्हपुचले आवश्यक तयारीसहित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । 

 

 

जनशक्तिको अभावका कारण हनुमान नाच, रोपाइँ लगायतका केही नाचहरु सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात् नागानागिनी नाच निकाल्ने चलन छ ।

 

 

समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको विसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने मंकाः खलका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

 

 

घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ । 

 

 

बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसाबास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन् ।

 

 

सदरमुकाम बेनीबजारमा तीनसय वर्षपहिले मानव बस्तीको विस्तार भएदेखि नै बर्खे नाच सुरु गरिएको बताइन्छ । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ ।

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ ।  लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...

थप पढ्नुहोस्