खानेपानी अभावले बस्ती रित्तिने जोखिम
बाग्लुङ | मंसिर २१, २०८१

बागलुङ: काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक समस्यामा परेका हुन् । बर्खाको समयमा गाउँका धारामा पानी आए पनि हिउँद लागेपछि एक गाग्री पानीका लागि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने माथिल्लो बिहुँ क्षेत्रमा खानेपानी समस्याका कारण बसाइँसराइ गरेर जानेको सङ्ख्या बढ्दै गएको स्थानीय चुडामणि कँडेलले बताउनुभयो ।
गाउँमा एउटा धाराबाट १० घरपरिवारले पानी भर्नुपर्ने बाध्यता छ । नजिकमा पानीको मुहान नहुँदा तरकारीखेती गर्न र वस्तुभाउलाई खुवाउन पनि समस्या भएको कँडेल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “हिउँदयाम सुरू भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ, गाउँमा पहिले सयौँ घर थिए, अहिले खानेपानीकै अभावका कारण घटेर निकै कम भएको छ, अझै पनि समस्या समाधान भएन भने गाउँ रित्तिने जोखिम बढेको छ, हाम्रो बस्तीमा वर्षा नहुँदासम्म खानेपानीको निकै समस्या हुन्छ, राष्ट्रिय सडकको छेउमा रहेका बस्तीमा खानेपानीको सङ्कट छ, राज्यले ध्यान दिन सकेन ।”
स्थानीय माधवी शर्माले बर्खाको समयमा मुहान पलाउने हुँदा धारामा पर्याप्त पानी आए पनि कात्तिकदेखि साउनसम्म नौ महिना धेरै समस्या भोग्नुपरेको बताउनुभयो । पानीका लागि घण्टौँ समय लाइन बस्नु पर्दा बालबालिकालाई विद्यालय पठाउन ढिला हुने उहाँको भनाइ छ ।
गाउँमा खानेपानी आयोजना सुरू भए पनि वर्षौँदेखि अहिलेसम्म सम्पन्न हुन नसकेको शर्मा बताउनुहुन्छ ।काठेखोला गाउँपालिका–५ का अध्यक्ष ज्ञामनाथ कँडेलले यहाँका करिब ७० घरपरिवारका नागरिकले खानेपानी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्नतर्फ आफूहरू लागिरहेको बताउनुभयो ।
यस क्षेत्रमा स्वच्छ खानेपानी ल्याउन केन्द्र सरकारको लगानीमा आयोजना सुरू भए पनि बजेट अभावमा काम सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।
“खानेपानी समस्या समाधानका लागि यहाँ लिफ्टिङ आयोजना सुरू भएको छ, यस वर्ष पनि रू ३० लाख बजेट विनियोजन भएर आएको छ, यस बजेटले पनि आयोजना सम्पन्न हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “आयोजनाको लागत ठूलो भयो, बजेट थोरै हुँदा समस्या भएको छ, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर छिटो सक्ने प्रयास गरिरहेका छौँ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...