तनहुँको पानीमा इकोलीफर्म जीवाणु
तनहुँ | असार ३२, २०७९
तनहुँ: तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलीफर्म) भेटिएको छ । पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो ।
तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो । काठमाडौँमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाका खानेपानीका स्रोतको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
खानेपानीका मूल र स्रोतको नमूना परीक्षण गर्दा अधिकांश क्षेत्रको पानी पिउनयोग्य नरहेको पाइएको रानाभाटले बताउनुभयो । “अधिकांश मूल र धाराको पानी खान योग्य छैन, परीक्षण गर्दा इकोलीफर्म भेटियो”, उहाँले भन्नुभयो । जिल्लाका ७६ पानीको स्रोतको नमूना परीक्षण गरिएकामा ५१ स्रोतमा दिसामा पाइने जीवाणु भेटिएको हो ।
व्यास नगरपालिकामा १० नमूना परीक्षण गरिएकामा दुई स्रोतको मात्र पानी पिउनयोग्य पाइएको रानाभाटले जानकारी दिनुभयो । भानु नगरपालिकाको तीन नमूना परीक्षण गरिएकामा सबैमा इकोलीफर्म भेटिएको छ । आँबुखैरेनीमा पाँच ठाउँमा परीक्षण गरिएकामा तीनमा इकोलीफर्म भेटिएको छ । घिरिङको तीनवटै नमूना परीक्षणका क्रममा इकोलीफर्म पाइएको रानाभाटले जानकारी दिनुभयो ।
त्यसैगरी देवघाटमा नमूना परीक्षणका क्रममा पाँच पिउनयोग्य रहेको पाइएको, बन्दीपुर गाउँपालिकाको पाँच वटामध्ये एउटा मुहानमा मात्रै योग्य र म्याग्देको सात नमूना परीक्षणमा दुई योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकाको ११ नमूना परीक्षणमा तीन स्रोत योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकामा वितरण गरिएका धाराको पानीमा जीवाणु भेटिएको उहाँले बताउनुभयो ।
त्यसैगरी ऋषिङ गाउँपालिकाको नमूना परीक्षणमा चार मूलको पानी पिउनयोग्य पाइएको छ । पहिलो चरणमा ससाना मूल, ट्याङ्की, धारा र इनारको पानीको नमूना परीक्षण गरिएको हो । नमूना परीक्षण गरिएका अधिकांश खानेपानीका स्रोत अयोग्य भेटिएको छ । ठूला खानेपानी आयोजनाको पनि छिट्टै नमूना परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पानीका स्रोतमा इकोलीफर्म देखिएका सम्बन्धित पालिकालाई जानकारीसहित खानेपानीको रिपोर्ट पठाइएको कार्यालयले जनाएको छ । पानीका मुहानको सरसफाइ गर्न, पानी शुद्धीकरण गर्न, तताएर, फिल्टर गरेर मात्रै पिउन सुझाव दिइएको छ ।
अस्पतालको पानी पनि पिउन अयोग्य
दमौली अस्पतालकै पानीको नमूना परीक्षण गर्दा इकोलीफर्म भेटिएको छ । अस्पतालको धारो र जमिनमुनिको पानी पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । दमौली अस्पतालको दुई स्रोतको पानीमा इकोलीफर्म भेटिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

