डुबानबाट कैलालीका विभिन्न बस्ती प्रभावित
काठमाडाैं | भदौ ६, २०८१
सुदूरपश्चिम: दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् ।
जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ ।
डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।
कटैनी, शिवगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो ।
डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका—५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात विताएका छन् ।
डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ ।
घोडाघोडी नगरपालिका—९ मा शिवगङ्गा नदीको बहाव बस्तीमा पसेपछि भएको डुबानले महादेवा, कम्दा, भगवानपुर, शङ्करपुरलगायत क्षेत्र डुबानमा परेका छन् ।
पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भूभागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।
“पानीको निकास हुन पाउनेगरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले आफूहरुले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ,” स्थानीयवासी ठाकुर चौधरीले भन्नुभयो, “पानीको निकास गरेर मात्र विकास गर्नुप¥यो ।”
गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरुको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएको टोली उद्धार राहतमा जुटिरहेको बताउनुभयो ।
उहाँले गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले सङ्घ र प्रदेश सरकारले नदी तटबन्धनजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको बताउनुभयो ।
अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेश सरकारका कतिपय मन्त्रालयलगायत सरकारी कार्यालय र सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ ।
दुई दिनदेखिको वर्षासँगै कैलालीको मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडालगायत नदी र खोलामा पानीको बहाव बढेको छ ।
डुबानका कारण विस्थापित स्थानीयवासीका लागि कैलाली जिल्लाको पूर्व—पश्चिम हुलाकी राजमार्गअन्तर्गतको केही ठाउँको सडक सुरक्षित ‘सेल्टर’ (बासस्थान) बन्दा कतिपय ठाउँको सडक भने डुबान हुने कारक पनि बनेको देखिएको स्थानीयको भनाइ छ ।
जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा विस्थापित हुने स्थानीयवासी यसै राजमार्गमा त्रिपाल टहरा बनाएर बस्ने गरेका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

