टीकापुरमा चितुवाको त्रास

कैलाली | साउन २५, २०८१

टीकापुरमा चितुवाको त्रास

टीकापुर:   एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ ।

 

चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिनुभयो । ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उहाँले नागरिकलाई नआत्तिन आग्रह गर्नुभयो । “स्थानीयले तीन चितुवा देखेको बताएका छन् ।

 

हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ”, उहाँले भन्नुभयो । चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ । दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ ।

 

बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, प्रहरी, नगर प्रहरीलगायत टोलीले आफ्नो काम थालेको छ । चितुवा खोज्न विभिन्न स्थानमा टोली परिचालन गरिएको छ ।

 

बिहीबार राति पनि चितुवाले स्थानीयका बाख्रा र कुखुरा मारेको टीकापुर–१ का वडाध्यक्ष मोहन लुहारले जानकारी दिनुभयो । चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा स्थानीयका करिब २२ बाख्रा मारेको छ । केही बाख्रा घाइते भएका छन् । त्यत्तिकै सङ्ख्यामा कुकुर र कुखुरा समेत मारेको स्थानीयले बताएका छन् ।

 

चितुवाले बिहीबार रातिमात्रै ब्लक नं १७ मा २६ कुखुरा मारेको छ । होहल्ला गरेपछि दुई बच्चासहितको चितुवा भागेको स्थानीय रमेश खड्काले बताउनुभयो । सहरमै चितुवा देखिन थालेपछि कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन् ।

 

चितुवाले दैनिक जनावर मार्न थालेपछि साँझबिहान हिँडडुल गर्नेहरू त्रासमा छन् । यस्तै नियमित योगाभ्यास गर्नेहरू पनि घरबाट निस्कन डराउने गरेका स्थानीय रुपा विकले बताउनुभयो ।

 

बर्दिया राष्ट्रिय निकुञ्जबाट नदीवारि आएका चितुवा वडा नं २ मा रहेको सामुदायिक वन हुँदै सहर पसेको आशङ्का गरिएको छ । बजार क्षेत्रमा मात्र होइन, टीकापुरको वडा नं ७ र ८ मा पनि जङ्गली जनावरले आतङ्क मच्चाएको छ । त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको छ ।

 

वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चितुवाले दैनिकजसो कुकुर र बाख्रा मार्न थालेको छ ।

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्