परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

बाग्लुङ | जेठ २, २०८१

परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

गण्डकी:    सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक  उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहेका छन् ।


गलकोट नगरपालिका–१० पाण्डवखानीका उनले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उनलाई गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्मान पनि गर्यो । मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन् ।


करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुसी छन् । भाडाको सवारीसाधनमा महँगो शुल्क तिरेर अस्पताल जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ । उनले हरेक सोमबार बिहान ९ देखि दिउसो ४ बजेसम्म निःशुल्क ट्याक्सी सेवा सञ्चालन गर्दै आएका छन् ।


“नगर अस्पताल जाने बरामी, उनीहरूका सहयोगी र भेट्न जाने आफन्तलाई निःशुल्क सेवा दिने गरेको छु”, उनले भने, “सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढोस् भनेर मैले साताको एक दिन ट्याक्सी सेवालाई निःशुल्क बनाउने निर्णय गरेको हुँ ।” 


गत एक वर्षमा झण्डै चार हजार बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा प्रदान गरेको मगरले बताए । “कोहीले धेरैपटक सेवा लिनुभएको हुनुसक्छ, अस्पताल ल्याउने र लैजाने गर्दा सङ्ख्यात्मक रूपमा झण्डै चार हजारलाई निःशुल्क सेवा दिएको मेरो आकलन छ”, मगरले भने, “यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छु ।”


साताको छ दिन कमाइ गर्ने र एक दिन सेवामा समर्पित हुने सोचअनुसार बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिइरहेको मगरले बताए । उनी आफैँ ट्याक्सी व्यवसायी र चालक हुन् । उनले एकैदिनमा कम्तीमा ४० देखि ८० जनासम्मलाई निःशुल्क सेवा दिएको बताए ।


गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मानवीय सेवाप्रति मगरले देखाएको सर्मपण भाव प्रशंसनीय रहेको बताए । “उहाँको सेवाबाट सर्वसाधारण बिरामीलाई राहत मिलेको छ, उहाँको योगदान कदरयोग्य छ”, प्रमुख गैरेले भने, “सडक स्तरीय बनाउने काम भइरहेकाले अस्पतालसम्मको आउजाउ अझै सहज हुन्छ ।” स्वास्थ्यचौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरेपछि सेवाको गुणस्तर थपिएको र अस्पतालप्रति जनविश्वास पनि बढेको उनले बताए ।


यसअघि नगरपालिकाले स्थापना दिवसमा समाजसेवीका रूपमा मगरलाई सम्मान गरेको थियो । नेपाल मगर सङ्घ गलकोट नगर समितिद्वारा पनि उनी सम्मानित भइसकेका छन् । “सम्मान र हौसलाले सामाजिक सेवाप्रति थप क्रियाशील हुने प्रेरणा मिलेको छ”, उनले भने, “बिरामीले प्रकट गर्ने सम्मानजनक व्यवहार र आर्शीवचनले त झनै मनमा खुसी मिल्छ ।”

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्