ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

पाेखरा | चैत २४, २०८०

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

पोखरा:     साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ ।


आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी  ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन् । 


“क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्”, ऋतुले भनिन्, “नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको रोचक कटाक्ष निबन्धमा प्रस्तुत गरिएको छ ।”

 

नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली,  काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँ ठाउँमा आख्यान पढिरहे झैँ लाग्ने भनाइ राखिन् । सङ्ग्रहमा ७ खण्डमा ३७ ओटा निबन्ध सङ्गृहीत छन् ।


निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिँदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राखिन् । “साहित्यकार व्यक्ति मात्र होइन समष्टि हो, साहित्यकारले आफ्नो व्यक्तिगत कुरा मात्र होइन, समग्र समाजको व्यथा र अवस्था लेख्ने गर्छ ।”


निबन्धकार अधिकारीले भनिन्, “महिलालाई पितृसत्ताले अघि बढ्न बाधा उत्पन्न गरेको कुरालाई नकार्न सकिँदैन ।” निबन्ध सङ्ग्रहलाई आफूले आफ्नो परीक्षाका रूपमा समेत लिएका उनकोे भनाइ थियो । आफू निकै सचेत र इमानदार भएर निबन्ध लेख्ने प्रयास गरेको बताउँदै उनले निबन्धमा उल्लेख भएका ‘अमुक’ पात्रलाई निबन्ध सङ्ग्रह कुरियर गरेरै पठाइदिएको अनुभव सुनाइन् । पद्मकन्या क्याम्पसमा प्राध्यापनरत अधिकारी समालोचकका रूपमा बढी परिचित छिन् । यसअघि उनका करिब १ दर्जन समालोचनाका कृति प्रकाशित छन् ।

 

कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा। ईश्वरमणि अधिकारी, हिममाया पौडेललगायते टिप्पणी गरेका थिए । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमुले स्वागत गरेकी थिइन् । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।


विश्व पुस्तक दिवसका अवसरमा आगामी वैशाख ११ गते पोखरामै पुस्तक आदानप्रदान कार्यक्रम आयोजना गरिने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए ।

पोखरा:      गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिका...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ र...

थप पढ्नुहोस्

कैलाली:     कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक ...

थप पढ्नुहोस्