नेपाल भारतसँग पराजित

काठमाडाैं | माघ २०, २०८०

नेपाल भारतसँग पराजित

काठमाडौं:     नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ ।


नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।


नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरेका थिए ।


नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए ।


नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३.२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए । राज लिम्बानीको बल पुलसट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उनले ४२ बल ३ चौका हानेका थिए ।


त्यसपछि मैदान आएका उत्तम थापा मगर ३० बलमा १ चौकासहित ८ रनमा क्याच आउट भए । त्यो समय नेपाल २१।५ ओभरमा ६५–२ को अवस्थामा थियो ।


एक समय नेपाल २३ ओभरमा ७१–२ को अवस्थामा थियो । स्पिनर सौम्य पाण्डेको लेन्थको बल मिस गर्दा अर्जुन कुमाल बोल्ड आउट भए । अर्जुन आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो ।


विशाल विक्रम केसी र गुलशन झा १–१ तथा दीपक डुम्रे र दीपेश कँडेल खाता खोल्न नसक्दा नेपाल २७।५ ओभरमा ७७–७ को दयनीय अवस्थामा पुगेको थियो । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए ।


त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।

भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए ।


एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ओपनर आदर्श सिंह २१, आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए ।


नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो ।


नेपाल समूह चरणमा पाकिस्तानसँग ५ विकेट र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।


सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अव नेपालको समूहबाट सेमिफाइनलमा पाकिस्तान र बंगलादेश मध्य एक टोली पुग्नेछन् ।


यी दुई टोलीबीच भोलि आज हुनेछ । पाकिस्तान विजयी भएमा सोझै सेमिफाइनल खेल्नेछ ।


तर बंगलादेश विजयी भएमा दुबै टोलीको ६–६ अंक हुने हुँदा नेटरनरेटमा भर पर्नेछ । अर्को सुपर सिक्सबाट अष्ट्रेलिया शीर्ष र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्