लुलाङमा तीन महिनापछि बिजुली बल्यो

काठमाडाैं | कात्तिक १, २०८०

लुलाङमा तीन महिनापछि बिजुली बल्यो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम हप्ता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।

 

परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलवारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिनुुभयो । ‘दशैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ,’ उहाँले भन्नुुभयो, ‘परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’

 

दरखोला दोस्रो लघुुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिका तथा जिल्ला समन्वय समिति दुवैले पाँच लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुुर गौचनले पहिरोले पुुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताउनुभयो । परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् । 

 

‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो,’ गौचनले भन्नुभयो, ‘पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’

 

विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ ।

 

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिरोले लद्युजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो । 

 

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...

थप पढ्नुहोस्

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...

थप पढ्नुहोस्

पोखरा:     पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत...

थप पढ्नुहोस्