कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन
बैतडी | असार ४, २०७९

बैतडी : सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरिवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरेका थिए । उनीहरुले सङ्कलन गरेको तथ्याङ्क स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “गणक र सुपरिवेक्षकले गरेको तथ्याङ्क सङ्कलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाँचबुझ गरेर केन्द्रीय तथ्याङ्क विभागमा पठाइसकेको छौँ ।”
गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइएको छ । यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गरिएको छ । कृषि वन, कृषि ऋण, बिमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना भएको छ । दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका नौ स्थानमा गणना कार्य भएको हो ।
गणनाअन्तर्गत जिल्लामा १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहमा रहेका ८४ वटै वडाका १४४ क्षेत्रमा गणना गरिएको जिल्ला कृषिगणना कार्यालयले जनाएको छ । गणनाका लागि बैतडीमा १४ सुपरीवेक्षक र ५४ गणक गरेर ६८ जनाको जनशक्ति परिचालन गरिएका थिए ।
बैतडीमा चैत १ गतेबाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम सुरु भएको थियो । नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएको छ ।
पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डक...
काठमाडौं: चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न ...
काठमाडौं: नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तरराष्ट्रिय...