पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाण्डौँ:     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।           त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । –––

  पोखरा:     पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीरेन्द्रदेव भारती आउने भएका छन् । प्रशासकीय अधिकृत बलराम रिज्यालको सरुवा भएपछि भारती आउने भएका हुन् । भारती यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।   बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । प्रशासकीय अधिकृतको रुपमा रहेर उनलेकरिब ८ महिना पोखरामा काम गरेका छन् ।

      पोखरा:   पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तनमा आज तेस्रो दिन तनहुको व्यास गुफाका पिठाधिश दामोदर बाबा सहभागी बन्नुभएको छ ।      ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको हो ।     नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यका अनुसार अखण्ड संकीर्तन अवधिभर विभिन्न धार्मिक तीर्थस्थलका गुरुहरू सहभागी बन्नुहुने कार्यक्रम छ ।     यस अवधिमा विभिन्न स्थानबाट तीर्थालुहरू सहभागी बनी पुण्यलाभ गर्नुहुने समितिले जनाएको छ ।

काठमाण्डौँ:     वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।       बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आजदेखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ ।      उद्योगका सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रुपमा रड भारत निर्यात गर्न लागिएको जानकारी दिनुभयो ।  उहाँले सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै रड निर्यात सुरु गर्न लागिएको बताउनुभयो ।      तत्कालीन अर्थमन्त्री जनादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र  पहिचान गरी निर्यात प्रवद्र्धन गर्ने व्यवस्था बजेटमा गर्नुभएको छ ।       त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरी बजेट सार्वजनिक गर्नुभएको थियो । बजेटमार्फत नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, रड उद्योगीले निर्यात गर्न थालेका हुन् । पहिलो चरणमा परीक्षणस्वरुप ५० टन रड निर्यात गर्न लागिएको छ ।       नेपालको व्यापार घाटा कम गर्ने उद्देश्यका साथ भारतीय बजारमा रड पठाउन लागेको उद्योगीले जानकारी दिएका छन् ।  उहाँले श्री स्टिलले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि रड निर्यात सुरु गरिएको जानकारी दिनुभयो ।       सरकारले निर्यातमा नगद छुटको घोषणा गरेसँगै यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ ।       सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् ।  उक्त उद्योगहरुले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पखाईमा रहेको जनाएका छन् ।      भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिनै १५ महिनाभन्दा बढी समय लगाएको भन्दै व्यवसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहज रुपमा अनुमति दिनुपर्ने माग राखेका छन् । 

चितवन:    चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन ।    उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिनुभयो । स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशङ्का रहेको छ । अर्को एक भने चोरीसिकारीले मरेको पुष्टि भएको छ ।     मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उहाँले बताउनु्भयो । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन् ।   बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा  एकापसमा जुध्ने गरेको बताइन्छ । नौ सय ३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । सो क्षेत्रभित्र ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ ।  पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन् ।    निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन् । यीमध्ये ६९४ चितवनमा रहेका छन् । यो सङ्ख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैँडा भेटिएका थिए । प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले टोली खटाएर अध्ययनसमेत गरेको थियो ।  

हेटौंडा:  मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले आज तोडफोड गरेका छन् ।   आफूहरुलाई खानतलासी गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले तोडफोड गरेका हुन् ।   अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।

  विराटनगर:    विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ ।     १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो ।     मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार  बालिकाको उद्धार गरिएको र विस्तृत विवरण सार्वजकि गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन राखिएको  बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

काठमाण्डौँ:     पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।       बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।         राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाण्डौँ  जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरा खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ । 

   सिरहा:    सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड ५१ लाखको डिएपी र रु सात करोड ८१ लाखको युरिया बिक्री गरेको छ ।   आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल बिक्री गर्ने लक्ष्य रहेकामा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिनुभयो । गत आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डिएपी दुई हजार ३४८ मेट्रिक टन बिक्री भएको प्रमुख पौडेलले बताउनुभयो ।   यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रु १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल बिक्री गरेको थियो ।  अघिल्लो आवको भन्दा आव २०७८÷७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ ।   प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन । डिएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताउनुभयो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने कार्यालयले जनाएको छ । बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडल बताउनुहुन्छ ।    सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्टट्रेडिङले गाउँ–गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्रीवितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलले बताउनुभयो ।   डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक–पटक पत्राचार गरे पनि बर्सेनि घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताउनुभयो । मागअनुसार मलको आपूर्ति नहँुदा बर्सेनि किसान मलका लागि भौँतारिने गेका छन् ।   कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहजरूपमा मल उपलब्ध नहुँदा किसान मारमा परेको उहाँको भनाइ छ ।