म्याग्दी:  मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धु...

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बिमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गर्नुभएको हो । अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बिमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो । मन्त्री पौडेलले स्वास्थ्य बिमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताउनुभयो । केही समयअघि सार्वजनिक गरिएको बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले राज्यबाट वेतन खाने कर्मचारीको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने तथा स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । स्वास्थ्य बिमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

काठमाडौं: सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ ।        संसद् भवन नयाँबानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उहाँले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन आग्रह गर्नुभयो ।  अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेले बताउनुभयो ।         बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने उल्लेख गर्नुभयो । उहाँले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।      यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् । 

झापा: झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।      परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।       उहाँले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन् । स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ–१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ । उहाँले भन्नुभयो, “अन्य धानको तुलनामा राम्रो उत्पादन हुने हुँदा यही धानको बीउ रोप्न सिफारिस गर्ने गरेका छौँ ।” यो धानको बीउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उहाँको भनाइ छ ।  यस वर्ष गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिकामा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ । छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बीउ, बीउ राख्ने ट्रे र प्राविधिकलगायतमा सहयोग गरेको जनाएको छ । 

काठमाडौं:  निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।      शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पोखरा:   पोखरामा पहिलो पटक हुन भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।  १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहको अटो सोमा इभि गाडी प्रति आगन्तुकको बढि चासो देखिएको छ ।  अटो शोमा भेटिएका न्युरोडका श्याम मल्लले अहिले प्रयोग गरिरहेको पेट्रोल गाडीलाई एक्सचेन्ज गरेर इभी गाडी बुक गरेको सुनाए ।  उनले पेट्रोल गाडीले इन्धन खर्चका साथै वातावरणमा पनि असर गर्ने र सम्भार खर्च पनि बढने हुँदा इभि गाडी तर्फ रुची बढेर बुकिंग गरेको बताए ।  यसै गरि अटो सोमा इभीका नया फिचर सहितका सवारीसाधन बुक गर्न आएका मोहोरिया टोलका कमल श्रेष्ठले पनि समय अनुसारको परिबर्तन चाहनेले इभि गाडी मनपराउने बताए ।  अटो सोमा शनिबार सम्म अनुमानित २० हजार दर्शकले अवलोकन गरिसकेको कार्यक्रमका प्रचार संयोजक विनय थापाले जानकारी दिए ।  आइतबार अन्तिम दिन पनि भएकोले एसइइ दिएर बसेका विद्यार्थीहरुलाइ अटो शोमा प्रबेश निशुल्क गरिएको थापाले बताए ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा विहिबारबाट शुरु भएको कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका मेयर धनराज थापाले गरेका थिए ।  अटो शोलाई मध्यनजर गर्दै शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।  यस अघि कार्यक्रमको प्रचारप्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो ।  अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने  छ  ।    प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् ।  अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मा.वि. सहयोगी संस्था बनेका छन् ।   

तनहुँ: तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन  निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बताउनुभयो ।  पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो ।  निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएपछि केही निर्माणका कार्य भइरहेको उहाँले बताउनुभयो ।      उहाँले भन्नुभयो, “हालको ठेकेदारले काम नगरे ठेक्का तोडेर भए पनि अस्पताल भवनको भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिएका थियौँ, ढलानको काम भएको छ, अब अन्य संरचनाको काम बाँकी छ ।”  गण्डकी प्रदेश सरकारको मूल्य रु चार करोड ९० लाख ८३ हजारको लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ । साढे दुई तलाको उक्त भवनको ढलानको काम सकिएको केन्द्रका लेखा अधिकृत पार्वती पौडेलले जानकारी दिनुभयो ।  अस्पताल भवनको ढलान कार्य सकिएको र अन्य काम बाँकी रहेको निर्माण कम्पनीका साइट इञ्चार्ज विमल खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्ममा भवन निर्माणको काम सक्नुपर्ने सम्झौता छ । उहाँले भन्नुभयो, “बजेट अभावले नै काम अगाडि बढाउन नसकिएको हो, अस्पतालमा आवश्यक संरचना निर्माण हुन बाँकी छ ।” करिब साढे एक रोपनीमा निर्माणाधीन उक्त अस्पताल भवनको सेवा प्रवाहमा आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ । एकैसाथ निर्माण थालनी गरिएको कास्कीको पोखरामा भने नमूना अस्पतालबाट सेवा प्रवाह भइसकेको छ । 

काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम  सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।   आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:  चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ ।  सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो ।  त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो ।  छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उहाँले बताउनुभयो ।  चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताउनुभयो ।  महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ । 

काठमाडौं: सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ ।  गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोज्नुभएको छ ।  विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताउनुभयो । “यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो । यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु । यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ”, उहाँले भन्नुभयो ।       गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाईले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गर्नुभयो । “मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु । जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्”, उहाँको भनाइ छ ।       सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ । त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ ।       चलचित्रमा उहाँको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताउनुभयो ।      “मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ । गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ । त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ”, उहाँले भन्नुभयो ।       गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहनुभएका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्नसक्छु भन्ने लागेर निर्देशक बनेको बताउनुभयो । “आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो । यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ”, उहाँले भन्नुभयो ।       सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गर्नुभएको छ किनकि उहाँ गीतसङगीतमै व्यस्त हुनुहुन्थ्यो । केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उहाँले सुनाउनुभयो ।      “मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पथ्र्यो, त्यहि गरेँ । मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहँुदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु”, सपूतको कथन छ ।        अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ ।”      चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।