काडमाडौं:     निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थ...

तनहुँ: आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन्।   खनालले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।    उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्।   गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो।   निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको हो। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा.स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउने तयारीमा  छन्।

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले चितवन- २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।   उपनिर्वाचनपश्चान रास्वपाले र्‍याली निकालेको छ।   मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आगामी  वैशाख १० गते उपनिर्वाचन हुँदैछ।   गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो। 

काठमाडौं:  नेकपा एमालेबाट बारा–२ मा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ।   सोमबार पूर्वमन्त्रीसमेत रहेका पौडेललाइ बारा–२ को उपनिर्वाचन लड्न टिकट दिने निर्णय गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।    पौडेललाई उम्मेदवार बनाउने सम्बन्धमा आइतबारकाे बैठकमा भएकाे छलफलअनुसार सोमबार बिहान निर्णय भएको रिजालले बताए।   बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन्।    गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि यादवलाई सहयोग गर्ने निर्णय गरिसकेको छ।    गठबन्धनकै अर्को दल जनमत पार्टीले भने शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।    शिवचन्द्र केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। चुनाव प्रचारका लागि जनमत अध्यक्ष सिके राउत केही दिनदेखि बारामै छन्।   राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।   वैशाख १० गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। 

काठमाडौं:  नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।    नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताउनुभयो । “तपाईँहरूको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उहाँले भन्नुभयो, “मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।”   सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ पनि गर्नुभएको थियो ।   भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटाउन सुझाव दिनुभयो । यसका लागि केन्द्रीय बैङ्क र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उहाँको भनाइ छ । सहकारी र लघुवित्तमा तरलता बढाउनेगरी काम अघि बढाउन महासङ्घले आग्रह गरेको छ ।    सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाको सुझाव छ । अहिले करिब २५ प्रतिशत मात्र रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्छ”, अध्यक्ष गोल्छाले भन्नुभयो ।   यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न तथा राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न उहाँले सुझाव दिनुभयो ।

काठमाडौँ: रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ ।   आइतबार सकेको सर्वपक्षीय बैठकमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको नेविसंघका नेता अशोकसिंह विष्टले बताए । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।    स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए । अनेरास्ववियु (एमाले) लाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका थिए । क्याम्पस प्रशासनले नयाँ निर्वाचन अधिकृत तोक्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २७ मा निर्वाचन गर्ने सहमति भएको विष्टले बताए ।

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन्।   आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले शीतल निवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेकी हुन्।   ती ठाउँमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो।   उनले आफू बसिरहेको कुर्सी, प्रधानमन्त्री बसिरहेको कुर्सी कुन देशबाट आयात गरिएको हो भनी सरकारलाई प्रश्न समेत गरिन्।   ‘आन्तरिक उत्पादन बढाउन राज्यले के-कस्तो नीति बनाएको छ? ती कुराहरू अंकमा देखिने गरी किन लागू भएनन्? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन, छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमा नै बनेको हो?,’ उनले भनिन्।   सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई सचेत गराइन्।

काठमाडौं :आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।   निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ।   गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ का लागि उपनिर्वाचन हुन लागेको हो ।    उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

काठमाडौं : प्रतिनिधिसभा बैठक आज  बस्दैछ।    संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने कार्यसूची छ।    त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तु गर्ने कार्यसूची छ।    मस्यौदा प्रतिवेदनमा पर्ने संसोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने छ। त्यसपछि समितिका सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

काठमाडौं: नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा भएको स्ववियु चुनाव रद्द गर्न माग गरेको छ।   क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी निर्वाचन गराएको भन्दै कांग्रेसले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।   यहाँ चैत १७ गते स्ववियु चुनाव भएको थियो।   ‘स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी हो । नेपाल विद्यार्थी संघको उपस्थितिबिना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ।   यस्तै अवैधानिक कार्यको विरोध गर्दा नेविसंघका २ जना घाइते भएको समेत विज्ञप्तिमा उल्लेख छ।   ‘क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको छ। उहाँहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ,’ मुख्यसचिव पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   साथै यो घटनाको छानबिन गर्नसमेत कांग्रेसले माग गरेको छ।   ‘घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ,’ उनले भनेका छन्।   सभापतिका उम्मेदवार आशिष देवकोटाले अवैधानिक कार्यको विरोध गर्दा आफूमाथि कुटपिट र प्रहरीले हटकडीसमेत लगाएको बताएका छन्।   ‘क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्यप्रसाद भट्टले प्रशासनको दुरूपयोग गरी बुथ क्बजा गरी स्ववियु निर्वाचन गर्न खोज्दा मैले औंला उठाएँ, बोलेँ, रोक्न खोजेँ तर मेरो केही सिप चलेन,’ उनले भनेका छन्, ‘मलाई प्रहरीले कुट्यो। क्याम्पस प्रशासनले रोकेन। सबै टुलुटुलु हेरेर बसे।’   स्ववियु चुनावका लागि २४१ जना मतदाता भए पनि शुक्रबार जम्मा १२० जनाले मतदान गरेका थिए। क्याम्पस प्रशासनले भने गत चैत ५ मै गर्ने तयारी रहेको चुनाव नेविसंघले तालाबन्दी गरेका कारण रोकिएको प्रतिक्रिया दिएको छ। नेविसंघका केहीले मतपत्र च्यात्न खोज्दा धकेलाधकेल भएको क्याम्पस प्रशासनको भनाइ छ।    चुनावमा नेविसंघले भाग लिएको थिएन।