लुम्बिनीः  लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ ।   मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि...

दाङ:   बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चयन भएका डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन ।  लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।  चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।  

दाङ:    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् । चौधरीलाई ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको नेपाली कांग्रेस प्रदेश सभा सदस्य राजु खनालले जानकारी दिए ।   गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् । 

दाङ:     लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाउँदा पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् । माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् । सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।

रुपन्देही:   बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ ।  यसपटक वैशाख २२ गते परेको २५६७औँ   बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ ।  बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको  संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति  र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमिति गठन गरिएको छ । यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ । विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ ।  बुद्ध जयन्तीको अवसरमा गरिने कार्यक्रमका लागि लागि रु एक करोड बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।  पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो । राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो ।  वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।  राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो । बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ ।  बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्कि मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित ८ मार्गको इमानदारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइ छ । आर्य अष्टाङ्कि मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्द दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । वि।संं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो । ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो । विकास कोषका योजना प्रमुख तथा  मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताउनुभयो । “सङ्कलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ । दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उहाँले भन्नुभयो । नियमित रूपमा सफाइ गर्दै आए पनि ४ नम्बर र ५ नम्बर गेट नजिकै स्थानीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय अगुवाको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ । लुम्बिनीमा वृक्षारोपण गरिने  बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । विकास कोष परिसरमा आँप, लिची, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ । रासस

पाल्पा:  पाल्पाको झुम्सामा गएराती बसले  स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युु हुनेमा स्कुटरमा सवार बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपाने रहेका छन् ।   गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाल्पा:   तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ ।   पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो ।   तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडि बढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको बताउनुभयो ।   उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको छ ।   यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले सो समय पश्चात् हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको जानकारी दिनुभयो ।   पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।  

दाङ:  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति फकाएर​ उपमहानगरपालिका-१३ फुलबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।    साे घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएकाे छ । 

पाल्पा:    हराउँदै गएको झाम्रे, सालैजो तथा कौरा जोगाउन यहाँका युवा पुस्ता लागेका छन्। अघिल्लो पुस्तासम्म मगर समुदायमा लोकप्रिय हुँदै आएको झाम्रे, सालैजो तथा कौराको परम्परा लोप हुन थालेपछि यसको संरक्षण गर्न यहाँका युवा पुस्ता अभ्यासमा लागेका छन्।  मगर समुदायको लोकसंस्कृतिका रूपमा रहेको नाच तथा गीत संरक्षणका लागि युवा पुस्ता आफूभन्दा अघिल्लो पुस्ताबाट सबै परम्परा तथा संस्कृति सिकिरहेका छन्।  पछिल्लो समय अधिकांश युवा पुस्ता बाह्य संस्कृतिको प्रभावमा परिरहेका बेला जिल्लाको माथागढीको कसेनी, रुपसे, चिदीपानीका युवा आफ्नो समुदायको संस्कृति जोगाउन कम्मर कसेर लागेका छन्। मादल, डम्फुको तालमा नाचिने झाम्रे नाच लोप हुने अवस्थामा पुगेको छ भने सालैजोको भाका तथा भाकाको लयमा गाउन जान्ने अनुभवी व्यक्ति समुदायमा भेट्टाउन गाह्रो हुन थालेको माथागढी–३, कसेनीका युवा होमबहादुर रानाले बताउनुभयो।  पुराना पुस्ताले मात्र गाउने गीत केही वर्षयता युवा पुस्तालाई समेत सिकाउने गरिएको उहाँले बताउनुभयो।  युवा पुस्तालाई सिकाउनकै लागि गाउँमा मेलापात, विवाह, चाडबाड भएको बेला मादल, डम्फु, खैँजडीसहित नाच्ने र गाउने प्रचलन बढेको यहाँका बासिन्दा बताउँछन्। कौरा नाच भने कुनै विशेष अवस्थामा मात्र अभ्यास गरेर प्रदर्शन गर्ने गरिएको कोसेली धारादी महिला समूहका अध्यक्ष नेत्रकला रानाले बताउनुभयो।  पुराना परम्परागत गीत तथा नाचले आपसी सद्भाव, मित्रता बढाउन सहयोग गर्नुका साथै मनोरञ्जनसमेत दिएको उहाँले बताउनुभयो।  मगर समुदायमा प्रचलित सालैजो र झाम्रे नाच मनोरञ्जन र चोखो मायापिरतीसँग सम्बन्धित रहेको यहाँका बूढापाकाहरू बताउँछन्। कौरा नाच देवीदेवतासँगको आराधना तथा तपस्यासँग सम्बन्धित रहेको छ।  यो समुदायका वृद्ध टेकबहादुर रानाले भन्नुभयो, “कला र संस्कृति जोगाउन युवा पुस्ताले ध्यान नदिने हो भने मगर समुदायको पहिचान नै लोप हुने खतरा देखिन थालेको छ। मगर समुदायका घाटु तथा मारुनी नाच त धेरैले भुलिसकेका छन्।”

काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले जारी पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।    यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान   २०७९ फागुन २३ गते (मंगलबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्गसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।   राति ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।      २०७९ फागुन २४ गते (बुधबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।    राति ː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।     २०७९ फागुन २५ गते (बिहिबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।     राति ː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।