नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पु¥याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्न समेत निर्देशन दिनुभयो । एमाले लुम्बिनी प्रदेशस्तरीय सङ्गठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशालामा आज प्रशिक्षण मूलक मन्तव्य दिँदै उपाध्यक्ष पौडेलले एमालेले स्थानीय चुनावमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो । पार्टी केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख खगराज अधिकारीले एमाले योग्यता पूर्वक सङ्गठन सञ्चालन गर्ने पार्टी रहेको दाबी गर्नुभयो ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ आउदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार मध्याह्न भ्यागुतेमा दुर्घटना भएको हो । दुर्घटनामा परी रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १७ जना सवार थिए । यद्यपि, जीप दुर्घटनाको कारण खुलिसकेको छैन ।
पाल्पा : पाल्पाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रु बाहक बस दुर्घटना भएको हो ।दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
रुपन्देही ः बुटवल उपमहानगरपालिका- ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उहाँ रातभर निदाउन सक्नुहुन्न । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जानुुहुन्छ । गतवर्ष चार कोठा पहिरोले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरो भित्र पसेपछि उहाँहरुले एउटै कोठामा खाने र बस्ने गर्दै आउनुभएको छ । “आकाश गर्जिन थाल्यो भने मन नै सिरिङ्ग हुन्छ, दिउँसोमा त बरु देखिन्छ तर राति पहिरो आयो भने गुहारसम्म पनि नपाइ मरिन्छ की भन्ने लाग्छ”, विटालु दुःखेसो पोख्नुहुन्छ । तेह्र जनाको उहाँको परिवारमा छोराबुहारी अलग्गै बस्छन् । घरअगाडि सानो ट्याङ्कीको पसल गरेर गुजारा गर्दै आउनुभएका विटालु पहिरोका कारण व्यापार पनि नभएको गुनासो गर्नुहुन्छ । यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका उहाँका परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् । स्थानीय तहको निर्वाचनमा हामीले पहिरोबाट बचाउँछौँ भनी राजनीतिक दलका प्रतिनिधि घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग वा पहिरो नियन्त्रणका लागि पहल नगरेको विटालुकी श्रीमती उजेली गुनासो गर्नुहुन्छ । “पानी पर्ने वित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ । त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ”, उजेली भन्नुहुन्छ । बुटवल- ३ कै सतीकुमारी श्रेष्ठ पनि आकाश गजिर्ने बित्तिकै घर छाडेर हिँड्नुहुन्छ । चुरेको पहिरोका कारण घर जोखिममा रहेकाले पहिरोले पुरिने डरले उहाँ राति घरमा सुत्न सक्नुहुन्न । गत वर्षको पहिराले घरको भूइँतला पुरेपछि लामो समय सरसफाइमै श्रेष्ठले बिताउनु परेकोे थियो । “गतवर्षको पहिरो बल्लबल्ल सफा गरेँ अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, राति थाहै नपाइँ मरिन्छ की भन्ने डरले अरुको घरमा गएर बस्छु” उहाँ गुनासो गर्नुहन्छ । श्रीमान् र छोराको निधनपछि घरमा एक्लै बस्दै आउनुभएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उहाँको भनाइ छ । “पहिरोका कारण पोहोरदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन”, उहाँ आफ्नो बेदाना सुनाउनुहुन्छ । अहिले पनि पानी पर्ने वित्तिकै उपमहानगरको-वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदो सहितको माटो र पानी बग्न थाल्दा यहाँका बासिन्दा घर छोडेर हिँडन बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी दायाँबायाँका बासिन्दा पनि चुरे क्षेत्रबाट पहिरो जान थालेपछि अतालिन्छन् । गत वर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट पीडित छन् । अहिले वर्षा सुरु भएसँगै ती क्षेत्रका बासिन्दा रातिम् घर छाड्न बाध्य छन् । वडा नं ३ का केशवराज पन्थीका अनुसार चुरे पहिरोको जोखिमका कारण यो क्षेत्रका बासिन्दाले अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने वित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उहाँको भनाइ छ । असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयवासीको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी घरघरमा पसेपछि उनीहरुले घर छोडेर हिँडेका थिए । गतवर्ष पहिरोका कारण करिब दुई दर्जन दर्जन स्थानीयवासीका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन ग¥यो ।उक्त टोलीले अध्ययनमा पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर ग¥यो । यहाँको पहिरोलाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर उक्त टोलीले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयलाई प्रतिवेदन बुझायो । पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए पनि विगत एक वर्षमा भएका अनुगमन, वृक्षरोपण र सामान्य पर्खाल लगाउने कामले मात्र पहिरो नियन्त्रण हुने स्थिति बनेन । गत भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो । विज्ञ टोलीले दिएको सुझावका आधारमा ती दुबै स्थानमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयका सूचना अधिकारी निर्मल थापा बताउनुहुन्छ । “हामीले गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाख खर्चेर काम गरेका छौँ तर प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लागेन ” । गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । “जुनसुकै समयमा खस्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा रहनाका साथै गत वर्षको पहिराले बस्ती वरपर ढुङ्गा माटोसहितको पहिरोको अवशेष लथालिङ्ग अवस्थामा छ, अहिले त झन पहिराले बाँच्न दिँदैन की जस्तो लाग्छ”, स्थानीय तुलसा सुवेदी भन्नुहुन्छ । पहिरो नियन्त्रणका लागि गतवर्ष स्थानीय तहले केही पहल गरे पनि सङ्घीय र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो पीडित क्षेत्र अनुगमनका लागि गए पनि ठोस् कदम चाल्न नसकेको तुलसा बताउनुहुन्छ । “अनुगमनले मात्रै केही हुँदैन, पहिरो नियन्त्रणका लागि ठोस् योजना ल्याउनुपर्छ”सुवेदी भन्नुहुन्छ । वर्षभर नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि सोही समस्या झेल्नुपर्ने अवस्था आएको चुरे-तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउनुहुन्छ । अझैपनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने होे बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उहाँको भनाइ छ ।संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख र बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिए पनि पहिराको खतरा टरेको छैन । अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगरतर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोलातर्फ सोझ्याउने काम भएको थियो । “वडा नं ३ को सीरान बाँसघारीमा १९ फिट जमिन भासिएकाले स्थानीय युवाले क्षति हुन नदिन स्काभेटरले माटो फालेर बगेको पानीलाई चिडियाखोलातर्फ सोझ्याइदिए । यसका लागि उपमहानगरले डिजेल सहयोग गरेको थियो”, उहाँ उल्लेख गर्नुहुन्छ । विज्ञका प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो पीडित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । विसं तीर तत्कालीन राजा वीरेन्द्रले चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो । सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरिएन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीको नाममा नै रह्यो । बुटवलको सहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयवासीले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो र बिस्तारै बस्ती पनि बस्यो । विभिन्न जिल्लाबाट बसाइसराइ गरी आएकाका घर पहिरोमा पुरिए । विसं २०५५को पहिरोमा २१ घर पुरिएका थिए भने ५७ घरमा असर परेको थियो यो क्रम गत वर्ष पनि दोहोरियो । गतवर्ष करिब डेढदर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गा माटोसहितको लेदो पस्यो । यो क्षेत्रमा २०५५ को पहिरोपछि जाइका समूहले सो सर्भेक्षण गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै ठूला रुखले जोखिम निम्त्याउने हुँदा कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै भएको छैन । चुरेको पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयले बृक्षरोपण बाहेक कुनै काम गरेको छैन । गत असारको १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिए पनि पूरा नभएकाले थप बिरुवा रोप्न समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउनुहुन्छ । पहिरो नियन्त्रणका लागि बाँसको बिरुवा काटेर राइजोन रोप्ने र ब्याम्बो वाल्टरिङ अर्थात बाँसको कप्टेराको जाली बनाएर लगाउने तयारी गरिएको उहाँको भनाइ छ । “यो वर्ष यहाँको चुरो पहिरो नियन्त्रणका लागि रु २५ लाख विनियोजन भएको छ । प्राविधिकको सल्लाह अनुसार काम गर्छौँ”, सूचना अधिकारी भट्टराई भन्नुहुन्छ, “वन मन्त्रालय भएकाले हाम्रो मुख्य काम वृक्षरोपण गर्ने हो । अहिले बाँस र अम्रिसो रोपेका छौँ ।” ज्योतिनगर क्षेत्रमा पानी पर्ने वित्तिकै पहिरो जान सुरु हुने भएकाले तत्काल पहिरो नियन्त्रण तथा व्यवस्थापनकै लागि वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र बुटवल उपमहानगरबिचको समन्वयमा काम गर्नुपर्ने हो तर त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ । “आवश्यकता अनुसार तार जाली भरेर खोलाको पानी बस्तीमा आउन नदिने गरी स्थानीयवासीको सहयोगमा काम गरेका छौँ । थप कामका लागि बैठक बसेर निर्णय गर्छौँ”, बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनाल भन्नुहुन्छ । पहिरो नियन्त्रणका लागि यो वर्ष गृह मन्त्रालयले रु ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने उहाँ बताउनुहुन्छ । “धेरै पानी नपरेकाले पहिरो रोकिन्छ की भन्ने लाग्छ”, संयोजक खनाल भन्नुहुन्छ ।
काठमाडौँ: लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
तुलसीपुर : समयमै बर्षाद नहुँदा दाङको तुलसीपुर–१० स्थित खेत गौचरन बन्दै । आकाशे पानीको भरमा रोपाइँ हुने गरेका दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन ।
काठमाण्डौँ : प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वबिद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुदै बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो । “यसैले पनि आज संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेख्यरुपमा बढ्दै गएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै यो गौरव हामीले हासिल गरेका छौँ भन्नुभयो । उहाँले बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको बताउनुभएको छ । “सम्भावना र चुनौतीको यो संयोगले हामीलाई अझै बढी वैज्ञानिक, व्यवस्थित र युगानुकूल हुन ऊर्जा दिइरहन्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न दीक्षित अग्रसर रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अध्यात्मको आलोकमा प्रकाशित तपाइँहरुको व्यावसायिक शिक्षा समाजिक सद्भाव, शान्ति र आर्थिक उन्नयनका लागि विशिष्टरुपमा प्रदिप्त भएको देख्न पाउनेमा आशा व्यक्त गर्दछु ।” उहाँले मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व आदि समग्र क्षेत्रको विश्वव्यापी प्रवद्र्धन गर्न बौद्ध विश्वविद्यालयका विद्यार्थीमा अझै तीव्र उत्साह भरिएकोमा आफू विश्वस्त रहेको बताउनुभयो । “नखोजिएका पुरातात्विक सम्पदा खोजौँ, सांस्कृतिक विरासतको समृद्धि फैलाऔँ र ऐतिहासिक नेपाली माटोको मौलिक दर्शनलाई विश्वबन्धुत्वका लागि फैलाऔँ भन्ने गम्भीरता तपाइँहरुमा उद्भव भएको छ भन्ने विश्वाससमेत लिएको छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमै हुनु भनेको विश्वविद्यालयको अपूर्व महत्व रहेको बताउँदै यस विश्वविद्यालयले बौद्ध अध्ययनका विभिन्न विधाको अध्ययन अध्यापन गराउनुका साथै दैनिक जीवन एवं चिन्तनशैलीको अभिन्न अङ्ग हुने गरी बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसारबाट समृद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो । यसका साथै उहाँले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयमा हाल सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई थप समयसापेक्ष र जीवनपयोगी बनाउँदै लैजान आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “बौद्ध शास्त्रीयताका संस्कृतिको संयोजनद्वारा समकालीन विश्वका सैद्धान्तिक समस्याको उत्तर खोज्ने दिशामा अग्रसर हुन ढिलाइ गर्नुपर्ने कुनै कारण देखिँदैन ।” प्रधानमन्त्री देउवाले नेपालले दिगो पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेको परिप्रेक्ष्यमा यस विश्वविद्यालयले बौद्ध शिक्षाका माध्यमद्वारा सरकारले अङ्गीकार गरेका वातावरण तथा दिगो विकास नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन, अध्यापन तथा अनुसन्धानमा लाग्न आग्रह गर्नुभयो । उहाँले शाक्यमुनिले ४५ वर्ष अनवरत गर्नुभएको ज्ञानमय यात्रा आजको विश्वमा पनि सान्दर्भिक रहेको बताउनुभयो । विश्वविद्यालयले आपूmलाई बौद्ध दर्शन तथा शिक्षा पद्धतिको अध्ययन अध्यापनमा थप आकर्षक एवं अनुसन्धानमुखी कार्यक्रमसहितको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले लामो इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि सदैव चासोको महत्वपूर्ण सम्पदाका रुपमा रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले मुलुक राज्य पुनःसंरचनासँगै सङ्घीयताको कार्यान्वयको चरणमा रहेको अवस्थामा सबै पक्षले विश्वविद्यालयलाई विशिष्टीकृत नमूना विश्वविद्यालयको रुपमा स्वीकार गरी त्यसैअनुसार विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । यसका लागि ऐनले परिकल्पना गरेअनुरुप बौद्ध विपुलताको विश्वव्यापीकरणका लागि सीपयुक्त शैक्षिक जनशक्ति उत्पादन गर्न सरकारले विश्वविद्यालयलाई निरन्तर सहयोग गर्ने र विश्वविद्यालयले पनि आफ्नो गन्तव्यको स्पष्टता बोध गरी समयानुकुल जनशक्ति उत्पादनमा अनवरतरुपमा लाग्न आग्रह गर्नुभयो ।
काठमाण्डौँ : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा गौरवका आयोजनाका रुपमा प्रदेशको राजधानीको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । सरकारले आगामी आवमा राजधानी व्यवस्थापनको कार्य सम्पन्न गरी रुपन्देहीस्थित प्रदेशका केन्द्रीयस्तरका निकाय स्थायी राजधानीमा स्थानान्तरण गरिने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । सरकारले प्रदेश राजधानी व्यवस्थापनका लागि दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरी नमूना शिक्षालयको रुपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणका लागि रु सात करोड ५० लाख विनियोजन गरेको छ । हाल शिक्षालय सञ्चालनमा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई राजधानीको व्यवस्थापनको रुपमा प्रयोगमा ल्याउने गरी बजेट विनियोजन गरिएको छ । प्रदेशसभामा बुधबार आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गर्नुभएको बजेटमा प्रदेशको राजधानी तोकिएको दाङको देउखुरीमा रहेको राप्ती उपत्यकामा राजधानी व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखरेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यस्तै प्रदेश गौरवका आयोजनाको रुपमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्ना (जिनावाङ) सम्मको सडकलाई प्रादेशिक गौरवका आयोजनाको रुपमा अगाडि बढाइने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । प्रदेश गौरवका यी आयोजनाका लागि रु एक अर्ब ६९ करोड विनियोजन गरिएको आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले जानकारी दिनुभयो । विनियोजित बजेटसँगै आयोजनाको कार्यान्वयनका लागि स्रोत अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको छ । प्रदेश गौरवका आयोजनाका लागि विनियोजित बजेट प्रदेश गौरवका आयोजनाबाहेक अन्य आयोजनामा रकमान्तर गर्न नपाइने व्यवस्था मिलाइएको छ । सरकारले आयोजना कार्यान्वयनका लागि खटाइने आयोजना प्रमुख र सम्बन्धित मन्त्रालयको सचिवबीच कार्यसम्पादन सम्झौता गर्ने व्यवस्थासमेत गरिएको छ । यस्तै प्रदेश गौरवका आयोजना, प्रादेशिक रुपान्तरणकारी आयोजना र बहुवर्षीय आयोजनालगायतका आयोजनाको अनुगमन कार्यलाई व्यवस्थित गर्न प्रादेशिक योजना अनुगमन विद्युतीय प्रणालीको विकास गरी कार्यान्वयन गरिने उल्लेख गरिएको छ । प्रदेश सरकारले स्थायी राजधानीमा मन्त्रालय स्थानान्तरण हुँदा प्रदेशका सबै सरकारी निकायले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री खरिद गर्दा स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने बजेटमा उल्लेख छ । यस्तै दिवङ्गत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा प्रदेशको राजधानी राप्ती गाउँपालिकामा ‘सुशील कोइराला स्मृति पार्क’ निर्माणका लागि गुरुयोजनासहित विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गर्न रु एक करोड विनियोजन गरिएको छ । आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले आव २०७९/८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्तुत गर्नुभएको छ । विनियोजित उक्त बजेटअन्तर्गत चालु खर्चतर्फ कूल बजेटको ३१.२६ प्रतिशत अर्थात् रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार तथा पुँजीगत खर्चतर्फ कूल बजेटको ५७.४१ प्रतिशत अर्थात् रु २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने अनुमान गरिएको छ । बजेटमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सःशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि कूल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी रु चार अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।
पाल्पा: पाल्पाको तानसेनमा फोहर व्यवस्थापन चुनौती बनेको छ । फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन । तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन । फोहर व्यवस्थापनमा स्थानीय तहले रु तीन करोड भन्दा बढी लागतमा ल्याण्डफिल साइट निर्माण गरेको थियो । फोहरमैला बस्ती नजिकै फालिने गर्दा मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । सामुदायिक वनमा फालिएको फोहरले बाटोमा ओहोरदोहोर गर्ने यात्रुलाई दुर्गन्धले वारपार गर्न अप्ठ्यारो महसुस हुने गरेको छ । तानसेन क्षेत्रबाट मात्र दैनिक साढे दुई टन फोहर उत्पादन हुन्छ । लामो समयदेखि चुनौतीको विषय बनेको फोहर व्यवस्थापनको समस्यालाई कुन माध्यमबाट समाधान गर्न सकिन्छ, त्यसको अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताउनुहुन्छ, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ । उहाँ भन्नुहुन्छ, “सरोकारवाला सबैको समन्वयमा पहिला ल्याण्डफिल साइटको अध्ययन गर्नेछौँ, तयार गरिसकेको संरचनाबाट फोहरको समस्या समाधान प्रक्रिया नहुने भएमा वैकल्पिक स्थान खोज्नेछौँ” ।