काठमाडौं: काठमाडौं महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति ९फोकलपर्सन० ऋषि भुसालले जानकारी दिनुभयो । उहाँले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गर्नुभयो । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिनुभयो । “डेङ्गी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उहाँले भन्नुभयो । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो । डेङ्गीको मुख्य लक्षण डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गीसम्बन्धी फोकलपर्सन भुसालले बताउनुभयो । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता ककाम गर्नुपर्छ ।
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आगामी शनिबार बृहत खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गर्न लागेको हो । यही साउन ५ गते शनिबार पोखरा १५ नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार कार्याक्रम बिहान ७ बजेदेखि सुरु हुनेछ । प्राकृतिक प्रकोप तथा विपद्को समय भएकाले रक्तदानको आयोजना गरिएको सचिव थापाले बताए । उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहनेछ ।
पोखरा: गत वर्ष गण्डकी प्रदेशमा डेंगु संक्रमणबाट ७ जनाले ज्यान गुमाए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार तनहुँमामात्र डेंगु संक्रमणबाट ५ जनाले ज्यान गुमाएका थिए । पछिल्लो समय सातै प्रदेशमा डेंगु संक्रमणको ग्राफ उकालो लागिरहेको छ । सात प्रदेशमध्ये बागमती प्रदेशमा संक्रमण दर बढी रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । बुधबारसम्मको तथ्याङ्क अनुसार देशभरमा तनहुँ जिल्ला टप टेनमा परेको छ । यस्तै प्रदेशमध्ये गण्डकी तेस्रो स्थानमा छ । केन्द्रीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा ४ सय ८२, कोशीमा ३ सय ५०, गण्डकीमा २ सय १२, लुम्बिनीमा १ सय ७१, सुदूरपश्चिममा मधेश प्रदेशमा १ सय ५९, मधेशमा ३८ र कोशीमा २० जनामा डेंगुको संक्रमण देखिएको छ । तर अहिलेसम्म ४ जिल्ला (डोल्पा, हुम्ला, जुम्ला र मुस्ताङ) मा भने संक्रमण भेटिएको छैन । पछिल्लो समय डेंगीको संक्रमण दर बढ्दै गएपछि यसबारे सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्मासँग कुराकानी गरेका छौं । - के हो डेंगु ? डेंगु एक प्रकारको सरुवा रोग हो । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि डेंगु लाग्छ । यो रोग लागेपछि आँखा दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने, वान्ता वा वाकवाकी लाग्ने, सिरियस रक्तस्राव हुने र आन्तरिक तथा बाह्य रक्तस्राव हुन सक्छ । खासगरी दाँतको गिजाबाट रगत आउन सक्छ । - कत्तिको खतरनाक छ डेंगु ? अहिले जुन संख्यामा डेंगु संक्रमण देखिएको छ, यसलाई खतरा छैन भनेर भन्न मिल्दैन । तर हामीले डेंगु रोगबारे सचेत भए खतरा होइन मैले भन्छु । गण्डकीमा गतवर्ष ७ जनाको मृत्यु भएको छ । समयमा नै डेंगुको उपचार नभए, व्यवस्थापन नभए, समयमा नै अस्पताल नगई लापरवाही गरे यसले ज्यान नै लिन पनि सक्छ । त्यसैले सचेत हुनु जरुरी छ । -कसरी लाग्छ डेंगु ? सबै लामखुट्टेले टोक्दैमा डेंगु लाग्दैन । एडिस जातिको (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट मात्र डेङ्ग लाग्छ । यसलाई हामीले अहिले बाघ मस्कुटोको नामले पनि चिन्छौं । खासगरी बिहान र बेलुकीको समयमा एक्टिभ हुन्छ । -डेंगु लागेपछि के गर्ने ? डेंगु संक्रमण भए ज्वरो आउन सक्छ । मैल अगाडि पनि भने, आँखा दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने, वान्ता वा वाकवाकी लाग्ने, सिरियस रक्तस्राब हुने, आन्तरिक तथा बाह्य रक्तस्राव हुन सक्छ । यस्तो अवस्थामा हामीले डाक्टर (चिकित्सक)को सल्लाह लिनुपर्छ । डाक्टरको सल्लाहबिना दुखाई कम गर्ने औषधीहरु (बु्रफिन) खानुहुँदैन । हामीले खानै परे प्यारा सिटामोल चाँहि खान सक्छौं तर अन्य औषधीहरु डाक्टरको सल्लाहबिना खानु हुँदैन । डेंगु संक्रमण भएको संका लागे नजिकैको अस्पतालमा परामर्शसँगै उपचार गर्नुपर्छ । -डेंगुबाट कसरी बच्ने ? डेंगुबाट बच्न एक घर मात्र लागेर हुदैन । समुदाय नै डेंगु नियन्त्रणमा नलागे यसलाई रोक्न सकिदैन । समुदायले नै लामुखुट्टे बस्न सक्ने पानी जम्ने ठाउँ खाडल पुरिदिने, फालिदिने गर्नुपर्छ । व्यवहारिकतर्फ राति सुत्ने समयमा झुल टागेर सुत्ने, बिहान र बेलुका लामखुट्टेले टोक्ने जोखिम बढी हुने भएकाले लामो कपडा लगाएर मात्र हिडडुल गर्नुपर्छ । -गण्डकीमा डेंगुको अवस्था कस्तो छ ? पछिल्लो समय मध्यपहाडी क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्याङ्क अनुसार तनहुँ डेङ्गी संक्रमणको जोखिमको जिल्लामा १० जिल्ला भित्र परेको छ । तनहुँमा बुधबारसम्म ४९ जनामा संक्रमण देखिदा गण्डकी प्रदेशमा २ सय १२ जनामा डेंगु संक्रमण भेटिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म डेङ्गी संक्रमण हुने गण्डकीको तनहुँमा ४९, कास्कीमा, ३०, नवलपुरमा २५, लमजुङमा २३, गोरखामा २२, म्याग्दी र स्याङ्जामा समान २१/२१ जनामा संक्रमण देखिएको छ । यस्तै पर्वत र बागलुङमा समान ९/९ जना, मनाङमा १ जनामा डेंगु संक्रमण देखिएको छ । -गण्डकी प्रदेशको ११ वटै जिल्लामा डेंगु संक्रमित छन् ? गण्डकीको मुस्ताङ बाहेक १० जिल्लामा डेंगु देखिएको छ । मुस्ताङ अहिलेसम्म निल छ । गण्डकीको ८५ वटा पालिकामध्ये ६५ जिल्लामा डेङ्गुको संक्रमण देखिएको छ । तर यो सरुवा रोग भएकाले कोही संक्रमण देखिएको मानिस मुस्ताङतिर गए देखिन सक्छ ।
काठमाडौं: काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो । “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ । यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो । लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताउनुभयो । “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उहाँले भन्नुभयो । डेङ्गुको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।
पोखरा: नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा सम्पन्न नि:शूल्क आँखा शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका छन् । पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै बढाउन आवश्यक रहेको बताए । हिमालय आँखा अस्पतालका निर्देशक धर्मेन्द्रकुमार घोडासैनीले विद्यालय स्तरमा आँखा सुरक्षासम्बन्धी कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेको औल्याउँदै शरिरको सबैभन्दा संवेदनशिल अंग आँखाको सुरक्षामा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे । जुनियर यूवा रेडक्रस समिति संयोजक रमेशराज भण्डारीले कार्यक्रमका हिसावले नमुना विद्यालयको रुपमा शिवशक्तिलाई लिएको बताउँदै यस्तै उदाहरणीय कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा सल्लाहकार सूर्यप्रसाद तिमिल्सिना, शिक्षक गोविन्द प्रसाद अधिकारी, गुरुप्रसाद तिवारी, राजकुमार गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा डा प्रेरणा भण्डारी, सन्ध्या ढकाल, एलिना अधिकारी र प्रमिला पौडेलसहितको टोलिले आँखाको चेकजाँच गर्नुका साथै आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५ जनालाई निःशूल्क चस्मा वितरण गरिएको शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् । ने.यू.रे.स. शिवशक्ति माविका अध्यक्ष यूवती जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक शर्मिला बराल सापकोटाले गरेकी थिइन् ।
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ । संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम गरेको हो । कार्यक्रममा वडाभित्र कार्यरत स्वयंसेविकाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीले संचालन गरिरहेको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा बारेमा जानकारी दिइएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा शाखाका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । नेपाल परिवार नियोजन संघका केन्द्रीय महासचिव अर्जुन सिग्देलले यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई महत्व दिएर सेवा संचालन गरेको उल्लेख गर्नुभयो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम माझठाना स्वास्थ्य चौकी प्रमुख विनोद तिवारीले संचालन गर्नुभएको थियो ।
पोखरा: ‘रक्तदान जिवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित मेडिप्लस हस्पिटल महेन्द्रपुलमा भएको रक्तदान कार्यक्रमबाट ४० युनिट संकलन भएको छ । लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरे । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सो अवसरमा बोल्दै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमासमेत यस्तो प्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । डा. सरोज पोखरेलका अनुसार रक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका पूर्व अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, राम प्रसाद तिमिल्सिना मेडीप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णुहरी तिमिल्सिना, उपाध्यक्ष अब्दुल वाहिद मिया, कोषाध्यक्ष शरण शाक्य तथा लियो क्लब अफ पोखरा डेस्टिनेशनकी अध्यक्ष मनिषा नेपाली लगायतको सहभागिता रहेको थियो । लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका अध्यक्ष सन्तोष तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव छबि पनेरुले गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दिपेश कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा वडाबासीका लागि ओपिडी टिकट, यूसिजी, यूजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे, सिटी स्क्यान, बेड शुल्क, ल्याब टेष्ट, हेल्थ प्याकेज, फार्मेसीलगायत सेवामा ५ प्रतिशत छुट दिइने उल्लेख गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । अस्पतालसँग छुट दिने गरी पोखराका ३३ वडामध्ये पोखरा १३ ले सुरुवात गरेको वडाध्यक्ष बरालले बताए । उनले भने, ‘३३ वडा मध्ये यो पहिलो हो । यो सम्झौतापछि वडाबासी राहत पाउन अपेक्षा लिएको छु ।’
काठमाडौं: सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो । समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ । यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरुको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ । समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए÷नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।