काठमाडौं: देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
काठमाडौं: मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
चितवन: बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो । विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्वः चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।” उहाँले बच्चाको माया ममता पनि कम हुने जाने बताउनुभयो । उहाँले भन्नुभयो, “स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।” स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा गुप्ताले बताउनुभयो । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उहाँको भनाइ छ । बालरोग विशेषज्ञ डा गुप्ताले भन्नुभयो, “नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।” बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उहाँले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “आमाको दूध सङ्कलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।” फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उहाँले भन्नुभयो, “तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।” शिशु जन्मिएको छ महिनापछि मात्रै पुरक खाना खुवाउन उपयुक्त हुने उहाँले बताउनुभयो । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुहलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उहाँले बताउनुभयो । अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उहाँले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताउनुभयो । कार्यक्रममा भरतपुर अस्पतालकका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्रा डा सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताउनुभयो । नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उहाँले बताउनुभयो । शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उहाँको भनाइ छ । स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उहाँले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताउनुभयो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पु¥याउँछ ।” पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उहाँले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिनुभयो । पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफू के मा आउने गरेको भन्दै डा पोखरेले भन्नुभयो, “स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ ।” कार्यक्रममा डा पोखरेलले पछिल्ला वर्षहरुमा भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या घटेको जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा नौ हजारभन्दा धेरैले अस्पतालबाट सेवा लिएका छन् । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षमा १२ हजारभन्दा बढी रहेको थियो । उहाँका अनुसार स्थानीय तहहरुले गाउँगाउँमा नगर स्वास्थ्य क्लीनिक तथा स्वास्थ्य सेवाको पहुँच पु¥याएर सोही स्थानमा प्रसूति सेवा सञ्चालन गर्नु र सन्तान उत्पादन गर्ने युवा अवस्थाका जनशक्तिहरु विदेशपलायन हुनुले सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको हो । कार्यक्रममा कान्तिपुर हेल्थका प्रधान सम्पादक तिलक रिमालले स्तनपानको महत्वलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने जनाउँदै कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
पोखरा: सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको सङ्ख्या गण्डकी प्रदेशमा वृद्धि हुँदै गएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशअन्तर्गतका ११ जिल्लाको दुई सय ५३ स्वास्थ्य संस्था गर्भपतन सेवाका लागि सूचीकृत भएका थिए । देशभर यस्ता सूचीकृत संस्थाको सङ्ख्या भने एक हजार पाँच सयभन्दा बढी रहेको जनाइएको छ । निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अञ्जु पौडलका अनुसार गत आवमा १२ हजार एक सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यसरी सेवा लिनेमध्ये २० वर्षभन्दा कम उमेरका पाँच सय ७३ थिए । पोखरा महानगरपालिकाभित्र गत आवमा एक हजार पाँच सय १७ ले सुरक्षित गर्भपत सेवा लिएका थिए । विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिइएको थियो भने २०७३ देखि सबै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गरिएको थियो । सरकारले आधारभूत स्वास्थ्य सेवाका रुपमा सुरक्षित गर्भपतन सेवालाई लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ४३ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने गरेका छन् । अर्थात् असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ५७ प्रतिशत छ । असुरक्षित गर्भपतनले महिलाको समग्र स्वास्थ्यमा गम्भीर असर पुग्ने बताइएको छ । अर्कोतर्फ सुरक्षित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने सेवाग्राहीलाई जानकारी नै छैन । सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक डा केपी उपाध्याय सेवाग्राहीलाई सुरक्षित गर्भपतन सेवा निःशुल्क छ भन्ने जानकारी नहुँदा असुरक्षित गर्भपतनको सङ्ख्या वृद्धि भएको हुनसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ अझै अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम रोकिएको छैन । अनधिकृत औषधिले महिलाको ज्यान नै खतरामा पर्छ, यसतर्फ सरकार थप गम्भीर बन्नुपर्छ । ” यसैबीच, सुरक्षित गर्भपतन सेवाका बारेमा रहेको अनभिज्ञतालाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने ध्येयले बुधबार यहाँ छलफल आयोजना गरिएको छ । बिएनबी मिडिया र सुनौलो परिवार नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमका सहभागीले सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन, यो महिलाको आधारभूत स्वास्थ्य सेवाका रुपमा रहेको विषयलाई प्राथमिताका साथ समुदायलाई बुझाउन र सञ्चारमाध्यमले उठान गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीले सरकारले अनुमति दिएका अर्थात् सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन र असुरक्षित गर्भपतनले निम्त्याउने जोखिमलाई अन्त्य गर्न जनचेतना जगाउन सञ्चारमाध्यमको भूमिका अहम् हुने सुझाव दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा लिनका लागि सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले जनचेतना जगाउने काम गरिराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “किशोरी र आमालाई सुरक्षित बनाउन सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी बनाउने नीति मन्त्रालयको छ । गर्भवती हुने बित्तिकै स्वास्थ्य सस्थाको पहुँचमा महिलालाई ल्याउन मन्त्रालयले सबै जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिराखेको छ ।” उहाँका अनुसार प्रदेशमा गत आवमा ४१ हजार गर्भवती भएका थिए । स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक पौडेलले सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति, सेवाको अवस्था र अगामी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहँुदै सुरक्षित गर्भपतन सेवाका बारेमा विद्यमान अनभिज्ञतालाई हटाउन सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गर्भपतन सेवा लिने अथवा नलिने भन्ने अधिकार स्वयं महिलालाई हुनुपर्छ । यसलाई गर्भनिरोधकको साधनका रुपमा बुझ्नु हुँदैन । गर्भपतन सेवा महिलाको अधिकार हो ।” उहाँले बिस वर्षभन्दा कम उमेरमा गर्भपतनको सङ्ख्या बढ्नुमा असुरिक्षत यौनसम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त ज्ञान नहुनुजस्ता कारण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जनचेतनाको कमी, सामाजिक र सांस्कृतिक अवरोध, स्वास्थ्य सेवाको पहुँचमा कमी र चिकित्सक र स्वास्थ्यकर्मीको अभावलगायत चुनौती सुरक्षित गर्भपतन सेवामा रहेको छ । ” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ स्त्रीरोग विज्ञेषज्ञ डा प्रेम पँगेनीले पछिल्लो समय सूचीकृत स्वास्थ्य संस्था सङ्ख्यामा वृद्धिभएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या पनि वृद्धि भइरहेको छ भन्नुभयो । उहाँले “किशोरी तथा आमालाई अकालमा मृत्युको मुखबाट जोगाउने विभिन्न उपायमध्ये सुरक्षित गर्भपतन सेवा हो । यसलाई समुदायस्तरमा चेतना पु¥याउनुपर्छ । सकभर गर्भपतन गर्नुपर्ने अवस्था नै आउन दिन हुँदैन । गर्भपतनलाई परिवार नियोजनको विकल्प बनाउनु हुँदैन ।” उहाँका अनुसार अस्पतालमा असुरक्षित गर्भपतनबाट हुने गम्भीर अवस्थामा समेत सेवाग्राही आउने गरेको जानकारी दिँदै गत वर्ष एकजनाको पनि निधन नभएको बताउनुभयो । डा पँगेनीले सरकारी अस्पतालमा सेवा निःशुल्क भएकाले यसका बारेमा धेरैभन्दा धेरै महिलालाई जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ र्भपतन सेवा निःशुल्क भएकाले यसका बारेमा धेरैभन्दा धेरै महिलालाई जानकारी दिनु आवश्यक छ । समस्या परेर नै महिलाले गर्भपतन सेवा लिने हुन् । यसमा समाजमा रहेका सरोकारवालाहरुको सकारात्मक धारणा आवश्यक छ ।” कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत स्वास्थ्य संस्थाको समय समयमा अनुगमन गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउनका लागि सूचीकृत सरकारी स्वास्थ्य संस्था अनुगमन गर्ने गरेका छौँ । सेवालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर लागिपरेका छौँ ।” कार्यक्रममा सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्यले सुनौलो परिवार नेपालद्वारा प्रदान भइरहेका परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सेवा सम्बन्धी विभिन्न सेवा एवं कार्यक्रमका बारेमा जानकारी दिँदै सुरक्षित गर्भपतन सेवामा पुहँच वृद्धि गर्न असुरक्षित गर्भपतनलाई निरुत्साहन गर्न आवश्यक छ भन्नुभयोे । उहाँले “आफ्नो संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गरिराखेको, यसका लागि दक्ष जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा ११४३ हट लाइन टेलिफोन सेवा सञ्चालन गरिराखेको छ ।” प्रबन्धक आचार्यका अनुसार सुनौलो परिवार नेपालले सन् २०२३ मा आफ्ना विभिन्न शहरमा रहेका क्लिनिक मार्फत् ४६ हजार आठ सय ३५ लाई सुरक्षित गर्भपतन सेवा प्रदान थियो । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सूचना तथा सेवाका बारेमा जानकारी दिने सो हटलाइन सेवा अत्यन्त प्रभावकारी मानिन्छ । सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ अनुसार गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा गर्भवतीको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलार्ई गर्भवतीको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ । यसैगरी, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले अशक्तता हुने अवस्था रहे उपचारमा संलग्न स्वास्थ्यकर्मीको रायबमोजिम गर्भवतीले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । गर्भवतीको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाइफकाइ, झुक्याइ वा प्रलोभन देखाई, लिङ्ग पहिचान गरी लिङ्गका आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था ऐनमा छ । ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) नेपालमा बढी प्रयोगमा छ । यो दश हप्ताभित्रको गर्भको सुरक्षित मानिन्छ । तालिम प्राप्त र अनुमति प्राप्त नर्सले मात्र यो औषधि वितरण गर्न सक्ने प्रावधान छ । यसैगरी, १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन’ (एमभिए) विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारको माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्मको गर्भलाई कम्पिहेन्सिव इमरजेन्सी अब्सटेठी नियोनेटल कियर सुविधा भएको सूचीकृत स्वास्थ्यमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन ९डिएन्ड० गरिन्छ ।
पोखरा: पोखरामा क्रियाशिल रहेको बुद्धटोल युवा (बिटी) क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलाे पटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बुद्धटोल युवा क्लबका अध्यक्ष अशिम थापाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यही साउन २८ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका–१ स्थित पुरानो टुडिखेलमा बिहान ७ बजेदेखि खुल्ला रक्तदान कार्यक्रम हुनेछ । खेलकुदको क्षेत्रमा निकै सक्रिय रहेको यस क्लबले युवा दिवसको अवसरमा पहिलाे पटक रक्तदान आयोजना गर्न लागेको क्लबको कोषाध्यक्ष दीपक कार्कीले जानकारी दिए । उनका अनुसार क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबले यसअघि सामाजिक कार्यक्रम अन्तरगत कोरोना भाइरसको महामारीको समयमा राहात वितरण, सरसफाई, टोटोलको सडकबत्तीको मर्मत-संभार, सिसिटिभी जडान, विभिन्न विषयमा जनचेतनामूलक अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
चितवन: यहाँको भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई आज दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हिजो टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु प¥यो, सेवा नलिई बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुन्छ ।” स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै उक्त टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । आईतबार बिहानभरी लाइन बसेर टिकट काटेका एक सयभन्दा बढी बिरामी फिर्ता भएका अस्पतालका अर्थोपेडिक सर्जनसमेत रहनुभएका डा पौडेलले बताउनुभयो । उहाँहरुले आज परीक्षण गर्न पुनःटिकट काट्नुपर्ने हुन्छ । सरकारी भरतपुर अस्पतालमा यो समस्या अर्थोपेडिकसँगै मेडिकल, सर्जिकललगायत विभागमा छन् । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउने बताउँदै डा पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उहाँले स्वीकार्नुभयो । डा पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको ‘स्टिल’ निकाल्न एक वर्ष पालो कुर्नु परिरहेको भन्दै उहाँले आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि लामो समय पालो कुर्नुको विकल्प नभएको बताउनुभयो । “आईतबार अस्पतालमा बहिरङ्ग सेवा लिन आएका दुई हजार छ सय ५४ बिरामीमध्ये एक हजार सात सय ४५ जना स्वास्थ्य बीमामार्फत् सेवा लिने बिरामी थिए । यो सङ्ख्या कुनै दिन तीन हजार नाघ्ने गरेको छ”, पौडेलले भन्नुभयो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताउनुभयो । अहिले अस्पतालमा बिहान ९ः३० बजेदेखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएकामा मङ्गलबारदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देश गरेको छ । सोहीअनुसार चिकित्सकलाई अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिलो सिफट्मा ९ बजेदेखि अपह्रान्न २ सम्म र दोस्रोमा ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म सिफ्ट मिलाइएको छ । पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने जनाउँदै अध्यक्ष पौडेलले अपुग चिकित्सकका लागि नयाँ नियुक्तिको मागसहित सूचना प्रकाशित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने बिरामी उपचार नपाएर फर्किनु हुँदैन । अब पुरानो तरिकाले नयाँ परिणाम पाउन सकिँदैन । बहिरङ्गको समय बढाएर सेवा दिने तयारी भइसकेको छ ।” हाल अस्पतालमा अस्पताल विकास समितिका तर्फबाट ९० र सरकारी÷स्थायी ४५ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । मेडिकल अधिकृत ५९, छात्रवृत्ति÷करारका चिकित्सक ३६ र चार सय २५ जना नर्स रहेका अस्पताल प्रशासनले जनाएको छ ।
गलकोट: बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो । जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिनुभयो । “स्वास्थ्यचौकी भवन नजिकै पानीको मूल छ, निर्माण गर्दा फालेको माटो र पानी तर्काउन नसक्दा बर्सेनि पहिरो बढेर गयो, लाखौँको स्वास्थ्यचौकी जोगाउन करोडौँ खर्च गर्नुपर्ने देखियो, हालसम्म पहिरो रोकथामका लागि रु ५० लाख खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “पहिरो रोकथामा लागि लगाइएको पक्की पर्खालले पूर्णता नपाउँदा यसपटक स्वास्थ्यचौकीको प्राङ्गण नै कोल्टे परेको छ ।” अघिल्लो आर्थिक वर्षको अन्त्यमा गण्डकी प्रदेशबाट पहिरो रोकथामका रु ५० लाख विनियोजन भएकामा रु २५ लाखको पक्की पर्खाल निर्माण गरिएको थियो । गत आवमा रु २५ लाख गरी अहिलेसम्म रु ५० लाख लागतमा पहिरो रोकथामको काम भए पनि अहिले पुनः पहिरो गएको बागलुङ –८ सिगनाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । रु एक करोड ८२ लाखको लागतमा भवन निर्माण गरिएको थियो । झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भए पनि सिगानाको पहिरो ठूलो भएकाले समस्या भएको बताउनभुयो ।
चितवन: चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।