काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

म्याग्दी :       वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।      “वन्यजन्तु पानी र आहारको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उहाँले भन्नुभयो, “वनमै पानी र आहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।” सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका दशवटै समूहले कार्य सम्पन्न गरेका हुन् । प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो ।       बेनी –९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालाबन्दी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।      ६२.७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । टाड बिसाउना सामुदायिक वन धापुङका दलवीर पुनले जङ्गलको बीचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर सङ्कलन गरिएको जानकारी दिनुभयो ।     पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ । घोर्लास सामुदायिक वन उपभोक्ता समूह तोरीपानीका ज्ञानबहादुर विकले पोखरीले जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेकोे बताउनुभयो ।       जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा यसलाई निभाउन पनि सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पुर्याउन थालेका छन् । आहार र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृतलगायत वन्यजन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका बताइएको छ । 

बागलुङ :         बागलुङ बजारको ढललाई शुद्धीकरण गरेर नदीमा मिसाउने गरी तीन वर्षअघिदेखि बजेट बिनियोजन सुरुआत भएको ‘बागलुङ बजार ढल निकास आयोजना’ अहिलेसम्म अघि बढ्न सकेको छैन ।    आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का प्रक्रियामा लैजानका लागि सङ्घीय सरकारको खानेपानी तथा ढल निकास विभागले बजेट विनियोजन गरे पनि उक्त आयोजना अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बागलुङ बजारमा उत्पादन भएको ढललाई सङ्कलन गरी प्रशोधन गरेर नदीमा मिसाउने, प्रशोधन केन्द्रबाट कम्पोष्ट मल निकाल्ने गरी ल्याइएको सो आयोजना कार्यान्वयनमा नजाँदा बर्सेनि बजेट ‘फ्रिज’ हुँदै आएको छ । कहिले विस्तृत अध्ययन प्रतिवेदन निमल्दा त कहिले प्रशोधन केन्द्रको जग्गा अभावका कारण लगातार तीन आवका लागि बजेट विनियोजन हुँदासमेत कार्यान्वयनमा जान नसकेको हो ।    बजार क्षेत्रमा रहेको अव्यवस्थित ढलको व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदूषणलाई रोक्नका लागि व्यवस्थित ढल निकासको काम गर्नका लागि बागलुङ नगरपालिका र ढल निकास विभागको चासोमा ढल निकासको योजना बनेको थियो ।   बागलुङ बजारमा व्यवस्थित ढल नभएकाले बजार दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालयसमेत ढलमा मिसाइदा नदी प्रदूषित भएका कारण व्यवस्थित ढल निर्माणको योजना  नगरपालिकाले ल्याएको थियो । ढल परियोजनामा प्रत्येक घरको शौचालयबाट उत्पादन भएको फोहोरलाई एकीकृत गरी शुद्धीकरण गरेर नदीमा मिसाइने योजना छ ।    बहुवर्षे योजनामा समावेश भएको ढल निकास परियोजनाको कूल लागत झण्डै एक अर्ब रहेको डिपिआरमा उल्लेख छ । वातावरणका लागि उक्त योजना निकै फलदायी हुँने र नेपालकै नमूना आयोजनाका रुपमा यो रहने छ । आर्थिक वर्ष २०७७/७८ मा उक्त परियोजना सुरु गर्नका लागि रु १२ करोड र आव २०७८/०७९ मा रु २० करोड विनियोजन भएको थियो । उक्त परियोजना ठेक्कामा जान नसक्दा उक्त बजेट फ्रिज भएको हो । परियोजना निर्माणका लागि आगामी आव २०७९/०८० मा समेत रु १९ करोड बजेट विनियोजन भएको जनाइएको छ ।       नगरपालिकाले ल्याएका योजनामध्ये सबैभन्दा ठूलो योजना हो यो । अहिले नयाँ जनप्रतिनिधि आइसकेपछि समेत उक्त आयोजना अघि बढाउन निकै चासो देखाइएको छ । नगर उपप्रमुख राजु खड्काले आगामी आवबाट बागलुङ बजार ढल निकास परियोजना ठेक्कामा गएर कार्यान्वयन जानेमा आशावादी हुनुहुन्छ । “तीन वर्ष पहिलेदेखि आएको योजना हो तर अहिल सुरुसम्म कार्यान्वयनमा गएको थिएन, अब भने डिपिआर लगभग अन्तिम चरणमा पुगेको भन्ने बुझेको छु”, उहाँले भन्नुभयो, “बागलुङ बजारको ढल शुद्धीकरणसँगै पवित्र कालीगण्डकी नदीमा ढललाई शुद्धीकरण गरेर मात्रै मिसाउने कार्यले बजारलाई सुन्दर र वातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ ।”   ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुई मेन लाइनमार्फत ढल शुद्धीकरणपश्चात् नदीमा मिसाउँने गरी काम सुरु हुनेछ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल निरयघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागारमुनिको समथर भूभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ ।    डिपिआर अन्तिम चरणमा पुगेका कारण आव २०७९/८० मा निर्माण प्रक्रिया सुरु हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, म्यादी कार्यालयका प्रमुख कूलप्रसाद पौडेलले जानकारी दिनुभयो । बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको खानेपानी र ढल निकासको योजना हेर्ने गरी म्याग्दीमा स्थापना भएको कार्यालयले ढल निकास परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।   “नगरपालिकाले जग्गा उपलब्ध बनाउने प्रतिबद्धता गरेको छ, त्यहीअनुरुप जग्गा व्यवस्थापन भए एक वर्षभित्रै कार्यान्वयनमा जान्छ”, कार्यालय पौडेलले भन्नुभयो, “ठूला योजना कार्यान्वयनमा आउनुअघिनै बजेट सुनिश्चितता आवश्यक हुन्छ, त्यसैले बजेट विनियोजन हुँदै आएको थियो, दुई वर्षको बजेट फ्रिज नै भयो, तर आगामी आर्थिक वर्ष कार्यान्वयनमा आउला ।”      बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ । घरमा निर्माण भएको च्याम्वरबाट शाखा लाइन, मुख्य लाइन हुँदै ट्रिटमेन्ट प्लान्टमा लगेर ढलको शुद्धीकरणपश्चात् नदीमा मिसाइने छ ।     ढल निकासको काम बागलुङ १, २, ३ र ४ स्थित बजार क्षेत्रका सबै घरमा पाइपलाइन विस्तार गरी शुद्धीकरण प्रविधि प्रयोग गरी ढल नदीमा मिसाइनेछ । बागलुङ बजारको ढललाई शुद्धीकरण गरी नदीमा मिसाउँदा बातावरणसमेत शुद्ध हुने र ढल शुद्धीकरण गर्ने क्रममा कम्पोष्ट मल उत्पादनसमेत हुनेछ ।  

सिन्धुपाल्चोक :     मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।   मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।”        मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो ।       यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ । आइतबार जय बागेश्वरी माध्यमिक विद्यालय हेलम्बु–३ पाल्चोकको नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले प्रतिस्पर्धामा सफल हुने गरी विद्यार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसले हुने र सक्ने काम मात्र बोल्ने जनाउँदै बोलेको काम पूरा गर्ने बताउनुभयो ।    ‘शिक्षा विकास तथा समन्वय एकाइ’को रु ६९ लाख ७० हजार  सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो ।

पोखरा:  ललितपुर मुख्यालय भइ पोखराको नयाँगाउँमा शाखा कार्यालय रहेको ’ग्लो सँस्था’ ले पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।   सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत ५२ जना विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस् भन्दै झोला, स्कुल ड्रेस, जुत्ता कापी, किताब लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।     कार्यक्रममा बोल्दै सँस्थाका संयोजक आगमन राज पौडेलले वार्षीक रुपमा सँस्थाले शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहेको बताए । उनले बालबालिकाका लागि मात्र नभएर सीप सिकेर आत्मनिर्भर बन्न चाहने विपन्न तथा बेरोजगार महिला दिदीबहिनीहरु र एकल महिलाका लागि आगामी साउन महिनादेखि निशुल्क सिलाई तालिम शुरु गर्न लागिएको बताए ।   यस्तै, विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले ग्लो सँस्थाले विद्यालयमा धेरै सहयोगका कार्यक्रमहरु ल्याएको भन्दै कार्यक्रम मार्फत विभिन्न विद्यालय, विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकसँग सम्बन्ध जोड्ने काम गरेको बताए ।   सँस्थाले यसअघि पनि विद्यार्थीहरुका लागि जाडोमा न्यानो लुगा, स्टेशनरी सामाग्री, जुत्ता, पोशाक, खाजा तथा कम्प्युटर सिक्नका लागि कार्यक्रमहरु संचालन गरेको भन्दै यस्ता सेवा लिएका विद्यार्थीले अझ लगनशिल, मिहेनत र इमान्दारिताका साथ पढाईमा ध्यान दिएर भविष्यमा योग्य नागरिक बन्नुपर्नेमा जोड दिए ।      शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकाको पढ्न पाउने अधिकार पूरा गर्ने बताए । २०५२ सालदेखि उक्त सँस्थाले विद्यालयमा विभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा त्यसको निरन्तरता स्वरूप केहीवर्ष देखि छात्रवृत्ति कार्यक्रम शुरु गरेकोमा उनले खुशी व्यक्त गरे।   बानियाँले शैक्षिक सामग्री पाएका बालबालिकाका अभिभावकहरुले पनि अब जिम्मेवार भएर आफ्ना बाबुनानीहरुको पढाई, उनीहरुको आनिबानी र संगतका बारेमा ध्यान दिँदै अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिए।   कार्यक्रममा वडाध्यक्ष तोरण बहादुर बानियाँ र कार्यपालिका सदस्य मन्दिरा परियारले ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए भने, व्यवस्थापक सरस्वती गिरी, संयोजक आगमन राज पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सामग्री वितरण कार्यमा सहयोग गरेका थिए ।  

काठमाण्डौँ :      नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ ।    आज सुरु भएको प्रदर्शनी यही असार १९ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा चल्ने छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० थरिका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।   नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोषमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक सुधीर ढङ्गेलले दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोषको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो ।    यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले वर्षमा कम्तीमा तीन पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असारमा प्रदर्शनी आयोजना हुने गरेको छ ।    प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन् । दैनिक ३०० सयभन्दा बढी पाठक प्रदशर्नी अवोकन गर्न आउने गरेका छन् । दैनिक रु २० हजार बराबरका पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो ।    यसपटकको प्रदर्शनीमा प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएका ‘आधुनिक नेपाली नारी कथा’, ‘पूर्वी नेपालका मालिक लोकभाका’, विशेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ को अङ्ग्रेजी संस्करण, यादव खरेलको ‘यस्तै रहेछ यहाँको चलन’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘कर्णालीमा प्रचलित दर्शन परम्परा’,केशवशरण अर्यालले तात्पर्य चण्डिका व्याख्यासहित नेपाली अनुवाद गर्नुभएको   ‘प्रशस्तपादभाष्य’, डा सर्वराज आचार्यको ‘भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’, अनुवादक गोपाल अश्क र सम्पादक प्रा डा उषा ठाकुरको ‘प्रज्ञा नेपाली समालोचना’ को हिन्दी अनुवाद पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।   यसैगरी पुरुषोत्तम चौधरीको ‘थारु अभिचार पद्दति’, डा मुकुन्द शर्माको ‘नेपाल भाषाको दाफा भजन’ र नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीले लेख्नुभएको तथा नारद बज्राचार्यले अनुवाद गर्नुभएको ‘विपात्र’ उपन्यास पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानले जनाएको छ ।   प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हरेक नेपालीका हात हातमा पुस्तक पु¥याउन प्रदर्शनी आयोजना गरी प्रचारप्रसार गरिएको जानकारी दिनुभयो । यस्ता प्रदर्शनीले पठन संस्कृतिलाई जोड दिन सहयोग गर्ने उहाँको भनाइ छ ।    प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ ।

काठमाण्डौँ :       सत्तारुढ नेकपा(माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन हुनुभएको छ । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन हुनुभएको छ ।      महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासङ्घको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासङ्घले जनाएको छ ।       आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले सङ्घीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न आग्रह गर्नुभएको थियो ।      महासङ्घका फ्याक्सन इञ्चार्जसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । देशभरका कर्मचारीको ट्रेड युनियनमध्ये महासङ्घ पनि एक हो । 

भरतपुर​ :      चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०र१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।     मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन सवस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । अब ती उपकरणको जडान मात्र बाँकी छ । सवस्टेसनमा १६०र१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् ।      पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेसन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।      आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सवस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो ।     कोभिड–१९ को महामारीका कारण सवस्टेसन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सवस्टेसनमा नै जोडिनेछ । मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।     प्रसारण लाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।       दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेशन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सवस्टेसन निर्माण भइरहेको छ । यस प्याकेजअन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ । 

काठमाण्डौँ :       धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ ।       यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री भए । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तैदेखि ओरालो लागेको नेप्से परिसूचक थामिने कुनै लक्षण देखाएको छैन । बजारले ‘बियरिस  ट्रेण्ड’ समातिरहेको छ ।      नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १२.६, व्यापार ३०.८२, होटल तथा पर्यटन ४७.५, विकास बैंक १२४.१२, जलविद्युत् ८७.४७, वित्त ५१.७३, निर्जीवन बीमा १५४.८३, उत्पादन ३२.१८, अन्य ५३.६९, लघुवित्त ६५.०२, जीवन बीमा १२२.६८, सामूहिक लगानी कोष ०.४५ र लगानी १.४३ अङ्कले ओरालो लागेका छन् ।    आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ५७ अर्ब ५६ करोड १३ लाख ५२ हजार ३४३ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ ।       सो कम्पनीको रु १० करोड २९ लाख ८९ हजार ७६१ बराबरको कारोबार भयो । यस्तै एनसिसी बैंक रु पाँच करोड ६४ लाख ६३ हजार ८८५, सेञ्चुरी बैंक रु चार करोड ८२ लाख २८ हजार, नवील बैंक रु चार करोड सात लाख ३९ हजार ३८२ र एनआइसी एशिया बैंक रु चीन करोड २४ लाख १४ हजार ३९० बराबरको कारोबार भयो ।      नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्रभु लाइफ ४.०५, सिवाइसी नेपाल लघुवित्त ४.०२, राष्ट्र उत्थान लघुवित्त २.१५ र इमर्जिङ नेपालका लगानीकर्ताले २.०१ प्रतिशतले उकालो लाग्यो । त्यस्तै रिभर फल्स पावर ९.५६, बलेफी हाइड्रोपावर ८.१९, मितेरी डेभलपमेन्ट बैंक ७.६८, माउण्टेन हाइड्रो नेपाल ७.३३ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.२४ प्रतिशतले गुमाए । 

काठमाण्डौँ :      अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभयो ।     “नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उहाँले भन्नुभयो । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको थियो । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ ।     सन् १९६९ मा १६।९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो ।     “विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ”, मन्त्री शर्माले भन्नुभयो । सो अवसरमा आर्थिक वर्ष २०७९र८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराउनुभएको थियो । “मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा उल्लेख गरेको छु”, उहाँले भन्नुभयो ।     सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराउनुभएको थियो ।