टिकटघर पुग्छन् अनि फर्किन्छन् बाह्य पर्यटक (भिडियोसहित)

रत्नमन्दिर परिसरको कुन क्षेत्रमा के छ ?

पाेखरा | जेठ ३१, २०८०

टिकटघर पुग्छन् अनि फर्किन्छन् बाह्य पर्यटक (भिडियोसहित)

पोखरा:  पोखराको लेकसाइडस्थित पूर्वराजपरिवार बस्दै आएको रत्न मन्दिर गणतन्त्र दिवसको अवसरमा खुल्ला गरियो । 

 

सबैले रत्नमन्दिर दरबारको रहस्य बुझ्न अवसर पाए भन्ने ठानेपनि अझै पनि रहस्य रत्नमन्दिरको ढोका भित्रै सिमित छ ।

 

मन्दिरको परिसर मात्र खुल्ला भएपछि पहिलो दिन नै रत्नमन्दिर कहिले खुल्छ भन्ने स्थानीय र पर्यटकको प्रश्न थियो । तर अहिलेसम्म पनि उक्त प्रश्नको उत्तर नेपाल ट्रष्टले दिन सकेको छैन ।  

 

विभिन्न कारण देखाएर रत्नमन्दिर खुला नगरिएको मन्दिरको मुल ढोका छिटै खुला गर्ने तयारी रहेको बताइएको छ । करिब १ सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको रत्न मन्दिरलाई पाँचवटा क्षेत्रमा विभाजन गरिएको छ । जसमा सर्वसाधारण र पर्यटकका लागि पाँच क्षेत्रमध्ये क्षेत्र नं.१ र २ मात्र खुलाइएको हो । 

भिडियो:

 

 

यो क्षेत्रमा केवल बगैचासहितको पार्क छ । टिकट लिएबापत रत्नमन्दिरको बाहिरी आवरण मात्रै नियाल्न पाइन्छ । उ बेलाको राजपरिवारको बसाइको भित्री रहस्य भने बन्द रत्नमन्दिर भित्रै लुकेको छ । 

 

रत्मन्दिरको परिसर खुला भएको दुई साता बितेको छ । यो समयावधिमा नेपाल ट्रष्ट पोखरा इकाई कार्यालयको तथ्याङ्कमा एक दर्जन पनि विदेशी पाहुना भित्रिन नसकेको उल्लेख छ । 

‘प्रवेश शुल्क कति लाग्छ र कहिले–कहिले खुल्छ भनेर हामीले गेटमै सूचना राखेका छौ, नेपाल ट्रष्ट पोखरा इकाईका प्रमुख गीता मीजारले सुनगाभा न्यूजसँग भनिन्, ‘विदेशी पाहुनाहरु टिकटघरसम्म पुग्नुहुन्छ महंगो भएको थाहापाएपछि फर्किनुहुन्छ । नत्र त विदेशी नआउने होइन । टिकटघरसम्म पुग्ने त नेपालीहरु भन्दा विदेशीहरु धेरै हुनुहुन्छ ।’

 

उनका अनुसार गत आइतबारसम्म कुल २ हजार ८ सय ४४  जना आन्तरिक पर्यटक र ११ जना बाह्य पर्यटक रत्नमन्दिर परिसरमा भित्रिएका छन् । जुन आन्तरिक पर्यटकको तुलनामा विदेशी पाहुनाको अनुपात अत्यन्तै कम हो । 

 

सो टिकटदरको विषममा सुझाव संकलन गरि मन्त्रालय पठाएको मिझारे बताइन् ।

‘हामीले दुई प्रकारका गुनासो नोट गरेका छौं । बाह्य पर्यटकहरुको टिकटदर महंगो भएको विषय र आन्तरिक पर्यटकको रत्नमन्दिरको मुल ढोका खुल्नुपर्ने गुनासो । यी गुनासोहरुलाई हामीले माथि (पर्यटन मन्त्रालय) पठाइसकेका छौ । छिटै सकारात्मक उत्तर आउला,’ उनले भनिन् ।

 

उनका अनुसार आन्तरिक पर्यटकका लागि १ सय रुपैयाँ, ज्येष्ठ नागरिक र बालबालिकालाई ५० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ भने वाह्य पर्यटका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ । यही महंगी टिकटदरकै कारण बाह्य पर्यटक टिकटघर पुगरे फर्किने गरेका हुन् ।

 

उनले आन्तरिक पर्यटकहरुबाट संकलित सुझाबका अनुसार नेपालीहरुनै पनि सन्टुष्ट नभएको सुनाइन् । ‘अहिलेसम्म हेर्दा नेपाली पाहुनाहरु पनि सन्टुष्ट भएको पाएको छैन, उनले भनिन्, ‘टिकटदर अनुसार भित्र पार्कमा जाने र दरबारको बाहिरी आवरण मात्रै हेरेर फर्किने भएको छ । उहाँहरु एक पटक पछि अर्काे पटक फेरि भित्र जाने वातावरण मिलाउन सकेका छैनौं । त्यो बारेपनि हामीले सोचिरहेका छौ ।’ 

 

नेपाल ट्रष्टको मातहतमा रहेको रत्नमन्दिर दरबार अवलोकनका लागि आइतबार बिहान १० देखि २ बजेसम्म टिकट खुल्ला हुने र ३ बजेसम्म पर्यटकहरुले अवलोकन गर्न पाउनेछन् । यस्तै सोमबार बन्द रहन्छ भने मंगलबार देखि शनिबारसम्म १० देखि ५ बजेसम्म परिसर खुल्ला रहँदै आएको छ । 

 

नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ । 
 

 

रत्न मन्दिरमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत विशिष्ट पाहुनाको आगमन र बास भएको इतिहास छ । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४–४–२–० रोपनी क्षेत्रफलमा फैलिएको  छ । राजा महेन्द्र साविकको पश्चिमाञ्चल क्षेत्र भ्रमण गर्न आउँदा रत्न मन्दिरमा बस्थे । 
 

रत्नमन्दिर परिसरको कुन क्षेत्रमा के छ ?

 

नेपाल ट्रष्टको कार्यालयले रत्न मन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्र मध्ये क्षेत्र १, रत्न मन्दिर परिसरको मूलद्वार र फेवाद्वार (भित्री पूर्वी गेट)को बीचको खुल्ला क्षेत्र हो । यो क्षेत्रको दक्षिणतिर २ वटा र उत्तरतिर १ वटा भवन रहेका छन् । 

 

क्षेत्र नं.२, फेवाद्वार (भित्री पूर्वी गेट) र बेगनासद्वार (भित्री पश्चिम गेट) भित्रको क्षेत्रलाई जनाएको छ, यो क्षेत्रमा ऐतिहासिक रत्नमन्दिर दरबार, तालघर, नानीगंग तथा मोटर ग्यारेज रहेका छन् । यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलका बिरुवाहरु संरक्षित छन् । 

 

क्षेत्र नं.३, रत्न मन्दिरको उत्तर–पश्चिममा पर्ने यो क्षेत्रमा पुरानो हेलिप्याड रहेको छ, यस क्षेत्रमा ए.डी.सी अफिस र गोदाम घर रहेका छन्, यहाँ राजाको क्षेत्रीय भ्रमणका बेला प्रयोग ल्याइने घर समेत रहेको छ । 

 

क्षेत्र नं.४, यो क्षेत्र कर्मचारी तथा सैनिक आवासीय क्षेत्र र खुल्ला चौर मैदान भएको क्षेत्र पर्दछ, यो क्षेत्रमा ३८ कोठा भएको घर रहेको छ । हाल यो क्षेत्र नेपाली सेनाले संरक्षण तथा प्रयोग गर्दै आएको छ । 

 

क्षेत्र नं.५, यो क्षेत्रमा बाराही मन्दिर तर्फ जाने पक्की बाटो भन्दा उत्तर पश्चिमको खुल्ला जमिन र ३ वटा कोठा भएको १ भवन रहेको छ । यो क्षेत्रलाई हाल नेपाली सेनाले खेल मैदानको रुपमा प्रयोग गरिरहेको छ । 

 

११ कोठे दरबार
 

रत्न मन्दिर दरबारभित्र ११ वटा कोठा रहेका छन् ।

 

पहिलो कोठालाई तत्कालिन राजा रानीको शयन कक्ष, कोठा न.२ पोखरा सवारीको बेला रानीद्धारा पूजा आजा गर्ने तथा कपडामा इस्त्री गर्ने कोठा, कोठा न.३ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी राजाका छोरी ज्वाईहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ४ शाही नातेदार तथा वरिष्ठ पाहुनाहरुको शयन कक्ष, यो कोठामा स्व. विपी कोइराला पनि बास बस्नुभएको कुरा उहाँको आत्मवृतान्तमा उल्लेख छ । 

 

कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी युवराज र युवराज्ञीहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, कोठा नं. ७ मनोरञ्जन कक्षको रुपमा विशेष गरी म्युजिक सुन्ने बजाउने, रेडियो सुन्ने, क्यारमबोर्ड खेल्ने प्रयोजनार्थ प्रयोग गर्ने, कोठा नं. ८ आराम कक्ष, राजाले नुहाउने क्रममा कहिलेकाँही प्रयोग गरिएको , कोठा नं. ९ डाइनिँग हल, कोठा नं. १० भेटघाट गर्ने लक्ष्य, रत्नमन्दिर दरबार तथा अन्य भवनमा बस्ने व्यक्तिहरुले पाहुना भेटघाट गर्ने तथा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने प्रयोजनका लागि ल्याएको, कोठा नं.राजाका मूख्य एडीसीको शयन कक्ष रहेको छ । 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्