नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यसहित वीरगञ्जदेखि काठमाडौं पैदलयात्रा

पर्सा | जेठ ६, २०८०

नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यसहित वीरगञ्जदेखि काठमाडौं पैदलयात्रा

पर्सा:    पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ ।  


सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको अभियनता सरोजराय यादवले बताउनुभयो ।


वीरगञ्जबाट सुरु भएको पैदलयात्रा ११ औँ दिनमा राजधानी काठमाडौं पुग्ने र सिंहदरबार अगाडि सिर्सिया नदीको पानी पोखेर विरोध जनाउने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । यसपछि पनि सरकारले ध्यान नदिए माइतीघरमा धर्ना बस्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।


सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले पनि अभियान चलाउँदै आएको छ । नदी प्रदूषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीतिअनुसार नदीमा फोहोर गर्नेलाई महानगरपालिकाले जरिवाना गरिसकेको छ । 


पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको छ । महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारीअनुरुप मरियम लेदरसहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ ।


सिर्सिया नदीलाई फोहोररहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाले जथाभावी फोहर नफ्याँक्न पटक पटक आग्रह गरे पनि उद्योगीले बेवास्ता गर्दै आएकाले कारबाही गर्न लागेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।


सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको अनुगमनसमेत गरेको थियो । महानगरका उपप्रमुख इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले केही महिनाअघि श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको पाइएपछि फोहर व्यवस्थापन गर्न उद्योगीहरुलाई सुझाव दिएपनि कार्यान्वयन नभएपछि कारबाही गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।


सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगी जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै हेर्ने गरेकाले अब सिधै कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।


बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज सहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहोर पदार्थ सिधै नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यतादेखि प्रदूषित बनेको हो ।


छाला, डिस्टीलरी, टेक्सटाइल, घिउ साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन गर्दै आएका छन् ।

काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

थप पढ्नुहोस्

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।  महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत क...

थप पढ्नुहोस्