मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङ | चैत १०, २०८१
मुस्ताङ: हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।
मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको उहाँले बताउनुभयो । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो । लेक लागेर मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिकसमेत रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
विसं २०८० मा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ११ विदेशी तथा ६ नेपाली नागरिक रहेका प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह, प्रदेश अस्पताललगायत सरोकारवाला निकायले लेक लाग्ने समस्या र यसको समाधान सम्बन्धी चेतनामूलक कार्यक्रम, प्रचारप्रसार र पर्चापम्प्लेट वितरण अभियान सञ्चालन गर्दैआएको छ ।
प्रदेश स्वास्थ्य कार्यालय, घरपझोङ र थासाङ गाउँपालिकाले पनि लेक लाग्ने समस्यासम्बन्धी वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रम गरी मुस्ताङ भित्रने पर्यटकलाई सचेत गर्दैआएको छ ।
बेँसीको समथर स्थानबाट उच्च हिमाली क्षेत्रमा हतारहतार विश्राम नगरी यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । विशेषतः समुद्री सतहबाट तीन हजार आठ सय मिटरको उचाइदेखि लेक लाग्न थाल्छ ।
ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र दीर्घरोगका औषधि सेवन गर्ने पर्यटकलाई लेक लाग्ने गरेको पाइएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिनुभयो ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

