‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ पुस्तकालय दिवस मनाइँदै

पाेखरा | भदौ ८, २०८१

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ पुस्तकालय दिवस मनाइँदै

गण्डकी:    ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नारासहित यही भदौ १५ गते १७औँ राष्ट्रिय पुस्तकालय मनाइँदैछ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् ।


उक्त दिवसका अवसरमा पोखरा सार्वजनिक पुस्तकालय÷अमेरिकन कर्नर पोखरा र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्ला विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु सात हजार, द्वितियलाई रु पाँच हजार, तृतीयलाई रु चार हजार र सान्त्वना पुरस्कार रु दुई हजार राखिएको छ । 


यस्तै विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । 


दिवसका अवसरमा यही भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । 


१४ गते पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ ।  सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो । 


दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको उहाँले जानकारी दिनुभयो । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ । 


सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ । 


“हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “बालबालिकाको सिर्जनात्मक क्षमता विकाससँगै उनीहरुलाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी यस वर्षको कार्यक्रम तय गरिएको छ ।”


राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । 


स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । 


पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । 


यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ । 


पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले पनि विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाकाअनुसार समुदायमा सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम तय गरिएको छ । 


गत साउन २१ गते शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय बैठकबाट ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो । 


पुस्तकालयमार्फत ज्ञान, सीप तथा सूचना पहुँच, अध्ययन गर्ने बानीको प्रवद्र्धन र सामुदायिक भावना सम्मिलित समावेशी तथा सहभागितामूलक कार्यक्रम गरी भव्य रुपमा उक्त दिवस मनाउन मन्त्रालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुलाई अनुरोध गरेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा हाल ४० भन्दा बढी सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालित छन् ।

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्