काठमाडौं:   आजदेखि  कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएकाे छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...

काठमाडौंः   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताउनुभएको हो । “मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै दबाब वा हस्तक्षेप हुँदैन ।   यहाँहरुले पनि विभिन्न पार्टीका शीर्ष नेताहरूलाई हस्तक्षेप नगर्न भनिदिनुहोला”, उहाँले भन्नुभयो । शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकामा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरुको नियुक्तिमा पनि प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिने र उक्त छनोट प्रक्रियामा आफू संलग्न नहुने स्पष्ट गर्नुभयो ।   उहाँले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भएकाले बसेको पाइएमा कारबाही गर्न आफू कटिबद्ध रहेको अवगत गराउँदै शिक्षक बन्न ‘बिएड’ पढेकै हुनुपर्ने बाध्यतालाई हटाउनेलगायत शिक्षक पदपूर्तिको मापदण्डसम्बन्धी सुझाव दिनका लागि कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

काठमाडौंः  प्राध्यापक एवम् प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।   आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवम् प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो ।   प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।”   देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।”   भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।”   छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उहाँले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा.गौरीशङ्करलाल दास, डा.गोविन्द पोखरेल, डा.सन्दुक रूइत, डा.अर्जुन कार्की, डा.जेपी अग्रवाल, डा.नरेशमान बज्राचार्य, डा.असीम ढकाल, डा.भगवान कोइराला, डा.विष्णु उप्रेती, डा.धर्मकान्त बास्कोटा, डा.देवेन्द्रराज पाण्डे, डा.लवदेव अवस्थी, डा.मदन उपाध्याय, डा.महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक हुनुहुन्छ ।  

पोखरा:       नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ ।   इक्यान कास्कीले आज (सोमबारं पोखरामा पत्रकार सम्मेनल गर्दै चैत ३० गते शैक्षिक बहस कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।  नेपाल शैक्षिक परामर्श संघ कास्कीका उपाध्यक्ष सन्तोष शाहीले चैत ३० गते पोखरामा शैक्षिक बहस कार्यक्रम आयोजना गरिएको बताए । ‘हामीले चैत ३० गते राष्ट्र निर्माणको लागि विश्वव्यापी शिक्षा विषयमा बहस गर्दै छौं’, उपाध्यक्ष शाहीले भने, ‘कार्यक्रममा तीन सेसन हुन्छ, पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताको विचार सुन्ने छौं जसमा मुख्य वक्तामा महानायक राजेश हमाल आउनुहुन्छ ।’ उनका अनुसार अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट)का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् । ग्लोवल एजुकेशनका विषयमा lशिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए ।  कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए । बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए ।  कार्यक्रममा विद्यार्थी, अभिभावकलाईसमेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे । इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीहरुको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाई छ । हाल इक्यान कास्कीमा मात्रै ४६ वटा शैक्षिक संस्था आबद्ध छन् । कार्यक्रम पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा हुनेछ । 

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।  पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ।  परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।

बाजुराः  नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।    जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पु¥याएको हो ।    पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ ।    प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताउनुभयो ।    शैक्षिकसत्र सुरु हुनुभन्दाअगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताउनुभयो । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।   विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिनुभयो ।   जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् ।   बाजुरामा विसं २०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय छ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताउनुभयो । सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उहाँले जानकारी दिनुभयो ।    करुणा पुस्तक तथा डेल्टा स्टोरका सञ्चालन नृप खातीका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिनामै पाठ्यपुस्तक पुगेका बताउनुभयो । “आफूले वितरण गर्ने कार्यक्षेत्रमा ९५ प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका विद्यालयमा केही दिनमा पु¥याउने छौँ ।”   केन्द्रले प्रदेशका विकट तथ दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ । बाजुरापछि दार्चुला र बझाङमा पनि वितरण भइसकेको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलामा ९१ हजार चार सय ८६ थान र बझाङमा २६ हजार ५१ थान पुस्तक पठाइसकिएको छ । सबै जिल्लामा चैत महिनाभित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।   आगामी शैक्षिकसत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक आवश्यकपर्ने अनुमान गरिएको छ । बाजुरामा ढुवानीबापत १६ प्रतिशत खर्च जनकशिक्षाले दिनेछ । चैत महिनाभित्रै १९ लाख १५ हजारभन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीले दाबी गरेको छ । केन्द्रले चालु शैक्षिकसत्रमा १७ लाख ४१ हजार ७८ थान पुस्तक बिक्री गरेको थियो ।   पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन् । नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ ।   प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागिसमेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ । ८८ स्थानीय तहमध्ये अधिकांशले बजेट विनियोजन र निकासा गरेका छैनन् ।   सामुदायिक विद्यालयमा पुस्तक खरिदका लागि बजेट नभएकाले समस्या हुने देखिएको केन्द्रको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले बताउनुभयो । पाठ्यपुस्तकका लागि रकम निकासा नहुँदा समस्या हुनसक्ने उहाँको भनाइ छ ।   “स्थानीय तहहरुले विद्यालयलाई रकम दिने हो । सम्बन्धित विद्यालयले व्यवसायीलाई दिने हो । रकम निकासा नभएको भन्ने आएको छ । यसले गर्दा केही समस्या पर्छ कि भन्ने आशङ्का गरेका छौँ”, प्रमुख कुँवरले भन्नुभयो । उहाँका अनुसार पाठ्यपुस्तक बिक्रेताले भने केन्द्रबाट खरिद गरेर विद्यालयमा पठाइरहेका छन् । स्थानीय तहले पनि समयमै बजेट निकासा दिए वितरण गर्न बाँकी रहेका पुस्तक पनि समयमै विद्यालय पुग्ने उहाँको भनाइ छ ।  

काठमाडौं:    त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने भएको छ ।  त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।  त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’ यसअघि त्रिविमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने पर्ने माग हुँदै आएको थियो ।  

पर्वत:   सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिनुभएको हो ।    उहाँ सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । वि.सं.२०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताउनुभयो ।    विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम भर्दा पनि सोही जन्ममिति रहेकाले विद्यार्थीले सानै उमेरदेखि पढेका बताउनुभयो । कम उमेरदेखि नै विद्यालय गएकाले अधिकारीले १२ वर्षमै एसइई दिन सफल भएका उहाँको भनाइ छ । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्नुभएको थियो । यहाँ पढ्न आउँदा उहाँ कक्षा कक्षा ८ मा भर्ना हुनुभएको उहाँले बताउनुभयो ।    निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ । सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थी पनि एसइई परीक्षामा सहभागी हुनुभएको छ । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृत मावि केन्द्रबाट परीक्षा दिनुभएको हो ।    कक्षा सातसम्म पैंयुँ५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गर्नुभएका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना हुनुभएको थियो । उहाँ नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताउनुभयो । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिनुभएको तिवारीले बताउनुभयो ।    पर्वतमा १७ परीक्षाकेन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लाभर शान्तिपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताउनुभयो । 

काठमाडौं:     यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

भक्तपुर:    बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला  पुर्‍याइएको जानकारी दिए। उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे।  ुभोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछुु, शर्माले भने, ‘साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।’ उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । परीक्षा दिने पाँच लाख बढी बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक÷एक, पर्सा र सप्तरीबाट दुईरदुई, रुपन्देहीबाट चार जना छन् ।   परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जापानमा एक परीक्षा केन्द्र  यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । प्रश्न पत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए। उनका अनुसार प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ ।  उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पूरा भएको जानकारी आएको बताए। परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।  जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। परीक्षाका लागि खटिंदै ७७ हजार चार सय ८५ जनशक्ति  बोर्डका अनुसार एसइई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् ।  प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।  त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको सङ्ख्या थप हुन सक्ने पौडेलको भनाइ छ । उनका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ ।  परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ ।  विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने जानकारी दिए।  परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए। उनका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।