गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा व...

काठमाडौं:    त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषदले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सम्बन्धित सङ्काय र अध्ययन संस्थानका डीन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवम् परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा वि.सं.२०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ ।  त्यस्तै तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । यसैगरी स्नातक तहको सेमेष्टर प्रणाली अन्तर्गत पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेष्टरको २०८१ असोज, तेस्रो सेमेष्टरको २०८१ चैत, चौथो सेमेष्टरको २०८२ भदौअसोजमा तोकिएको छ ।  स्नातक तर्फको पाँचौ सेमेष्टरको २०८२ चैतमा, छैटौँ सेमेष्टरको २०८३ असोज, सातौँ सेमेष्टरको २०८३ चैत र आठौँ सेमेष्टरको २०८४ असोजमा तोकिएको छ । स्नातकोत्तर तर्फको प्रथम सेमेष्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेष्टरको २०८१ माघ, तेस्रो सेमेष्टरको २०८२ असार र चौथो सेमेष्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताउनुभयो । सेमेष्टर र वार्षिक प्रणालीमा एक सय दिनभित्र नतिजा निकाल्ने गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:     यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।   हेर्नुहोस् परीक्षा तालिका  

गण्डकी:    कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरेको छ ।  उक्त माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका साथ हीरक जयन्ती मनाउने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक समितिका संयोजक लक्षिन गुरुङले जानकारी दिए ।  तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी स्व धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम बराह मिडिल स्कुल स्थापना गरिएकोे विद्यालयका पूर्वप्राधानाध्यापक कृष्ण पौडेलले बताए । उनका अनुसार २०३४ साल माघ १८ गतेदेखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ साल पुस १६ गते कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालयले २०३६ पुस १८ गतेदेखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेको जानकारी दिँदै पूर्वप्राध्यानापक पौडेलले २०७४ साउनदेखि  अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरेको बताए ।  हिमालको काखका साथै सडक सञ्जाललगायतको अभावका कारण आसपासका क्षेत्रमा विद्यालय नहुँदा आव २०३५÷३६ तिर वरपरका दाङसिङ, सावेद, भुक, लुम्ले, लान्द्रुक, काँडे, ल्वाङघलेलगायत स्थानबाट विद्यार्थीहरू यस विद्यालयमा पढ्न आउने गर्दथे । यस विद्यालयबाट हालसम्म करिब सात सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका  प्रधानाध्यापक यामप्रसाद भण्डारीले जानकारी दिए । पछिल्लो समयमा गाउँबस्तीहरू खाली हुने क्रम बढिरहेको अवस्थामा पनि हाल यस विद्यालयमा तीन सय १० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षातर्फका विषय पठनपाठन भइरहेको बताए ।    स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआती गन्तव्यसमेत भएकाले आगामी दिनमा होटेल म्यानेजमेन्टको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच छ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । यसै सन्दर्भमा विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थ सङ्कलन उपसमितिका संयोजक ललित गुरुङले जानकारी दिए । चन्दा दाताहरूबाट रु पाँच सयदेखि रु पाँच लाखसम्म आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिँदै उनले हालसम्म करिब रु ५० लाख सङ्कलन भएको बताए । सङ्कलित रकम हीरक जयन्तीअन्तर्गतका कार्यक्रममा न्यूनतम खर्च गरी बाँकी रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं अत्यावश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए ।    कार्यक्रममा झाँकी प्रदर्शन, विविध खेलकुद भलिबल,फुटबल,बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक,विद्यार्थी पूनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान आदि समावेश गरिएको छ । साथै स्मारिका प्रकाशन, हीरक स्तम्भ निर्माणलगायत कार्यक्रम पनि समावेश गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिए । 

पोखरा:   नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार बसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक  मनकाजी गुरुङले जानकारी दिए । त्यसैगरी स्थापना दिवसकै अवसरमा २०७९ एसइइ र एसएलसीमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्र र छात्रलाई पुरस्कृत गरीने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एन प्याव्सन कास्कीले यस वर्ष पोखरा –१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष खडा गर्ने भएको छ ।  त्यस अवसमार एन प्याव्सनका पूर्व अध्यक्षहरुलाईल सम्मान गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।  

काठमाडौं:     त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो । यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुुष्पकमल दाहाल प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज नहुनेगरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्तिबाट ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।  

पोखरा:   प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।  शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।  शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हुन् ।  त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् ।  आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको बताए ।    प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिए । 

पोखरा:    कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो । पोखराको वगरमा बिहिबार आयोजित खुल्ला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्धितीय, बेनी सामुदायिक मावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र वि.क. सान्त्वना हुन सफल भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया र प्रमाणपत्र पाए ।   कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल, कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले नगद र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै मन्त्रालयका सचिव पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण शुरुमा घर  परिवारबाटै सकरात्मक हुनुपर्नेमा जोड दिए । उनले सरकारले  सरोकारवालासँग नियमति छलफल गरिएको जानकारी दिए ।  कास्की नेत्रहिन संघका अध्यक्ष सापकोटाले आगामी वर्ष  प्रदेश सरकारकै पहलमा दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले कास्की नेत्रहिन संघको भवनमा रहने गरि प्रदेश स्तरीय ब्रेल प्रेस स्थापना गर्न माग गरे । संघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष सुनिता ज्ञवाली, कार्यक्रम संयोजक प्रमोद दाहाल लगायतले बोलेका थिए । प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाका मावि तहका १३ विद्यालयका २३ प्रतियोगिले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरु अर्जुन सुवेदी, सकुन्तला पंगेनी,  राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा थिए । नेपाल दृष्टिविहिन कल्याण संघ र नेपाल नेत्रहिन संघको स्थापनापछि नेपालमा ब्रेल दिवस मनाउन थालिएको हो ।

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा ९२० अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ । दरखास्त सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्नेछ । रिक्त उपकुलपति सिफारिसका प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले गएको कात्तिक तेस्रो हप्ता शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको थियो । त्रिविका उपकुलपति डा। धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १६ गते सकिएको थियो । बास्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उहाँले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयोश्र।