विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ: प्रमुख आचार्य
पाेखरा | चैत २३, २०८०
पोखरा: पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ ।
चैत्र १९ देखी २२ गतेसम्म सञ्चालन गरिएको तालिम महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद्का बेला प्राथमिक उपचार महत्त्वपूर्ण हुनुभएकाले यसका लागि आवश्यक ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको विपद्मा उद्धारकर्ताहरूलाई सुरक्षित सेवा उपलब्धता सुनिश्चित गर्न आवश्यक सिप विकास तथा उपचार विधिका बारेमा सचेतनाका लागि तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका विपद् न्यूनीकरण सहित विपद्का बेला आवश्यक जनशक्ति तयारका सन्दर्भमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । हाल तत्काल उपलब्ध हुने गरी नगर प्रहरी र दमकल सेवालाई एकै स्थानबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
एकीकृत आपतकालिन सेवाका लागि र्यापिड एक्सन टिम निर्माण गरी विपद्का बेला परिचालन गर्ने गरिएको प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार एडिबीको सहायतामा निर्माण गर्ने गरी लेखनाथमा विपद् व्यवस्थापन केन्द्र सञ्चालन गरिने छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी महानगर स्तरीय योजनाहरूको कार्यान्वयन गर्दै विपद् व्यवस्थापन सम्बन्धी कार्यमा गैरसरकारी संस्था, निजी क्षेत्र एवं स्थानीय समुदायलाई समेत संलग्न गराउन महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार र विपद् प्रभावित बासिन्दाको जीउधनको सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यका लागि महानगरपालिकामा विपद् प्रतिकार्य टिम तयार गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
तालिमको समापनमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले रेडक्रसले विपद् प्रतिकार्यमा समर्पित जनशक्ति तयार तथा आवश्यक उद्धार सामाग्री सहित प्राथमिक उपचारका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । तालिम मार्फत सहभागीहरूले विपद्का बेला गर्नु पर्ने प्राथमिक उपचार र उद्धार कार्यका विषयमा आफूहरूलाई धेरै ज्ञान हासिल भएको बताएका छन् ।
तालिममा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी तथा नगरप्रहरीहरुको सहभागिता रहेको थियो ।
पोखरा: आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पो...
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

