वाफ महिला च्याम्पियनसिप: नेपालको विजयी सुरुवात

काठमाडाैं | फागुन ८, २०८०

वाफ महिला च्याम्पियनसिप: नेपालको विजयी सुरुवात

काठमाडौं:    उत्कृष्ट पहिलो हाफको मद्दतले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलको नेपालले सिरिया माथि जित हात पारेको छ । साउदी अरेबियाको राजधानी रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरिया माथि ४–१ को जित निकाल्न सफल भएको हो ।


नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक एक गोल गरेका हुन् ।


खेलको सुरुवातदेखि नै नेपाल खेलमा हावी भएको थियो । सुरुवाती समयमा साम्बातिर केन्द्रित भएको नेपाली अग्रपंक्तिले लगातार आक्रमण बुनिरहेको थियो । मिडफिल्डमा प्रिती राई उच्च लयमा देखिरहेकी छन् । नेपालले लगातार सिरियन टोलीबाट गल्तीहरू गराइरहेको थियो ।


दोस्रो मिनेटमा पूजा रानाको लामो पास सिरिया गोलरक्षक रनिम लतिफले फुस्काएपनि त्यहाँ कुनै खतरा रहन सकेन । सातौं मिनेटमा प्रिती राईको लङ रेन्ज प्रहार पोस्टको दिशामा रहन सकेन ।


अर्को मिनेटमा गीता रानाको लामो बलले पनि साम्बालाई भेटाउन सकेन । सोही मिनेटमा प्रिती राईको क्रससम्म पनि साम्बा पुग्न सकिनन् ।


१०औं मिनेटमा नेपालले खेलमा अग्रता लिन सफल भयो । डिफेन्डर मयर अलुशले बल सिधै प्रिती राईको खुट्टामा दिएपछि उनको प्रहार ब्लक हुन पुग्यो । तर बल बक्स भित्र खाली रहेकी अमिषा कार्कीको खुट्टामा पुगेपछि उनले शक्तिशाली प्रहार गर्दै खेलमा नेपाललाई अग्रता दिलाइन् ।


त्यसपछि पनि नेपालले लगातार आक्रमण बनिरह्यो । १२औं मिनेटमा प्रितीको अर्को लङ रेन्ज प्रहार लतिफले बचाइन् । सोही कर्नर किकमा नेपालले दोस्रो गोल गर्न सफल भयो । अनिता बस्नेतले प्रहार गरेको कर्नर किक सिधै गोलमा परिणत भएको थियो ।


१९औं मिनेटमा नेपालले खेलको तेस्रो गोल गर्यो । प्रितीले आफ्नै हाफबाट खेलेको थ्रु(पासमा गरेको पहिलो प्रहार लतिफले बचाएपनी बल उनकै खुट्टामा रह्यो । त्यसपछि उनले खेलेको पासमा साम्बाले सहजै गोल गर्न सफल भइन् ।


तेस्रो गोलपछि भने खेलमा नेपालको प्रभुत्व घट्दै गयो । तर नेपालका लागि खतरा भने बन्न सकेन । ३३औं मिनेटमा नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले सहज बल समात्न नसक्दा खतरा बनेको थियो । तर उनले दोस्रो पटकमा बल समात्न सफल भइन् ।


३८औं मिनेटमा साम्बाको प्रहार लतिफले बचाउन सफल भइन् । अमिषाको पासमा उनले एक डिफेन्डर छक्याएर गरेको प्रहार लाइनभन्दा अगाडि आएकी लतिफले बचाइन् ।


४३औं मिनेटमा गोलकिपर एन्जिलाको गल्तीमा नेपालले गोल खान पुग्यो । नोर मुस्ताफाको फ्रि(किक समात्ने क्रममा उनले बल नियन्त्रणमा लिन नसक्दा बल गिता रानालाई लागेर पोस्ट भित्र जान पुग्यो ।


४८औं मिनेटमा मुस्ताफाको लङ रेन्ज प्रहार एन्जिलाले सहजै समातिन् । ६०औं मिनेटमा केही सेकेन्डको अन्तरालमा साम्बाले दुई अवसरको सदुपयोग गर्न सकिनन् । पहिलो प्रहार लतिफाले बचाएकी थिइन् भने दोस्रो प्रहार पोस्टको केही टाढाबाट बाहिरिएको हो ।


६२औं मिनेटमा साम्बाले बक्स बाहिर बल खोसेर गरेको प्रहारमा पुनः लतिफा बाधक बनिन् । ६७औं मिनेटमा साम्बाले क्रसबारमा प्रहार गरिन् । पूजाको क्रसमा साम्बाको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा उनको फ्रि(हेडर भने पोस्टमाथि जान पुग्यो ।


अर्को मिनेटमा नेपालले खेलको चौथो गोल गर्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गोल गर्दै नेपालको अग्रता पुनः तीन गोलको बनाइन् ।


८९औं मिनेटमा अमिषाले पाँचौं गोल गर्ने अवसर खेरा फालिन् । बक्सको छेउमा खाली रहेको अवस्थामा गरेको प्रहार पोस्टको दिशामा रहन सकेन । इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाको प्रहार पुनः लतिफाले बचाइन् ।


नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।


नेपालले दोस्रो खेलमा फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्