जापान-नेपाल विकास मञ्चको स्थापना

काठमाडाैं | भदौ १९, २०८०

जापान-नेपाल विकास मञ्चको स्थापना

काठमाडौँ: नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ ।

 

जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको जापानस्थित नेपाली दुताबासले जनाएको छ ।

 

उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाची र उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा हिरोयुकी फुकुयामा, डा तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहनुभएको छ । जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहनुभएको छ ।

 

नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण प्रबद्र्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो ।

 

मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताउनुभएको थियो । जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उहाँले यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा मञ्च एक कोशेढुङ्गा सावित हुने बताउनुभएको थियो ।

 

समारोहमा राजदूत डा सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताउनुभएको थियो । नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उहाँले राजनैतिक स्थायित्व र सामाजिक रुपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको थियो । 

 

नेपाललाई वैदेशिक लगानीको एक उच्चतम् र आकर्षक गन्तव्यका रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिका साथ लगानीमैत्री वातावरण निर्माण गर्न प्रयत्नशील रहेको राजदूत डा सुवेदीको भनाई थियो ।

 

समारोहमा मञ्चका नवनियुक्त अध्यक्ष तथा पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रवद्र्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताउनुभएको थियो ।

 

जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाईका) र जापान व्यापार संगठन (जेट्रो)का उच्च पदाधिकारीहरू उपस्थित उक्त समारोहमा नेपालमा लगानी तथा व्यापार र व्यवसायमा सम्लग्न जापानका उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।  रासस

पाेखरा:    तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ ।   शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।  बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...

थप पढ्नुहोस्

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...

थप पढ्नुहोस्

नुवाकोट:   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...

थप पढ्नुहोस्