सुर्खेत: कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ । दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला १० हजार दर्शक बस्ने क्षमताको छ । तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रङ्गशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निक्र्यौल निकालिने भनेर फर्कनुभएको थियो । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणकार्य तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएकाले यहाँको प्रगतिबारे जानकारी गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशालावरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । सधैँ ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन ।” कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको तर सरकारले चाहेमा निर्धारित समयमै हुनसक्ने बताउनुभयो । तोकिएको समयमै दशौँ राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँले जिकिर गर्नुभयो । प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्यसचिव सञ्ज्यालका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ । भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रङ्गशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको छ । परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । “प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो जुन कुराको सम्पूर्ण तयारी हामीले गरेका छौँ”, सदस्यसचिव सञ्ज्यालले भन्नुभयो, “तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामीले यो धेरैपटक भन्दै आएका छौँ । एक महिनाभित्र रङ्गशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन ।” तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्दा खेलकुद क्षेत्रमा आशा पलाउँछ र यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने संस्कृतिको विकास हुने उहाँको भनाइ थियो । सदस्यसचिव सञ्ज्यालका अनुसार खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन छ र नेपालमा पनि राष्ट्रिय खेलकुद नसार्ने प्रचलन स्थापित गर्दा भोलिका संस्करण समयमै गर्न सकिने हुन्छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रङ्गशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शङ्का नभएको तर खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजार बढी खेलाडीको बसाल्ने क्षमता नदेखिएकाले जतिसक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ । हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जानसक्छ ।” यता खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको बताउँदै मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाउनुभयो । फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उहाँको भनाइ थियो । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र त्यसको सञ्चालनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्रयाकमा सिन्थेटिक लाग्न र एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका हामीसँग खेलाडी पनि छन् । हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ ।
काठमाडौं: श्रीलंकामा अर्को महिना हुने काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। केहि महिनाअघि काठमाडौंमा भएको यू– १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यू–२० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो। नेपाली यू–२० टोली पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर ।
पोखरा: पोखरामा विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । पोखरा क्लिक प्राली पोखरा–२२ को आयोजनामा आगामी असोज १२ गते विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसरमा प्रथम पर्वतीय दौड प्रतियोगिता आयोजना गरिएको संयोजक दिननाथ बरालले बताए । ‘प्राकृतिकरुपमा सुन्दर पोखरामा मानवनिर्मित पोखरा–२२ सिथ्त शान्ति स्तुप होस वा पुम्दीकोट विशाल महादेवको मूर्ति, बुद्ध पार्कले पछिल्लो समय पर्यटकीय राजधानी पोखरा घोषणामा टेवा मिलेको छ, बरालले भने, ‘पोखरा–२२ सहित समग्र गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्धेश्यले प्रथम पर्वतीय दौड प्रतियोगिता आयोजना गरिएको हो ।’ उनका अनुसार ८ किलोमिटर दौड प्रतियोगिता विश्व शान्ति स्तुपदेखि सुरु भएर पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ को वडा कार्यालय हुँदै नयाँ पर्यटकीय गन्तव्य बुद्ध पार्क (निगाले डाँडा) पुगेर टुङ्गिने छ । प्रतियोगितामा नेपालको जुनसुकै क्षेत्रका धावकले खुल्ला रुपमा प्रतिस्पर्धा गर्नेछन् । खुल्ला तर्फको प्रथम हुने विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला धावक र यू–१६ बालबालिका, पोखरा–२२ वडाका धावक मध्य उत्कृष्ट १/१ जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गर्ने संयोजक बरालले बताए । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३९ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व शान्ति दिवसको रुपमा मनाउने निर्णय बमोजिम नेपालमा २०६५ सालदेखि यस दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
पोखरा: सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ । क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार चार सय ६६ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताउनुभयो । “तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भयो”, उहाँले भन्नुभयो, “प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि बढी व्ययभार थपिन पुग्यो ।” प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताउनुभयो । प्रतियोगितामा कुल आम्दानी रु ९९ लाख ९५ हजार चार सय ५१ र खर्च रु एक करोड १५ लाख ३३ हजार नौ सय १७ भएको उहाँको भनाइ छ । उक्त प्रतियोगितामा प्रायोजनतर्फ रु ५६ लाख ७५ हजार दुई सय सात आम्दानी भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो । हिम श्री फुड्स प्रालिले रु २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले रु १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले रु पाँच लाखलगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए । टिकट शुल्कबाट रु २६ लाख ३६ हजार छ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताउनुभयो । प्रोत्साहन खर्चबापत रु १९ लाख ६२ हजार, आयोजक खर्च रु ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च रु पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो । क्लबका अध्यक्ष बरालले बजारमा देखिएको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायनले फुटबलको रौनक घट्दै गएकाले प्रतियोगिता सञ्चालनमा चुनौती थपिँदै गएको बताउनुभयो । क्लबले विगत २४ वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित उक्त प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।
काठमाडौं: आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् । त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् । टि–ट्वान्टी विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।
पोखरामा सम्पन्न इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन बनेको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा आज (मंगलबार) भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो । पोखराको जीतमा कुशल परियारले २ गोल गरे भने राजेश खाँडले १ गोलको योगदान दिए । उपाधिसँगै पोखराले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको लमजुङ फेलोसिपले नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । काठमाडौं, बुटबल, लमजुङ, बागलुङ लगायतका जिल्ला गरी कुल १५ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट पोखरा फेलोसिपका राजेश खाँड सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै संजोग क्षेत्री घोषित भए भने, सर्वाधिक गोलकर्ताका रुपमा लमजुङ फेलोसिपका सरोज गुरुङ पुरस्कृत भए । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कफि डि हिमालयका सञ्चालक शंकर गुरुङ, रिकभरिङ नेपालका निवर्तमान अध्यक्ष शिव न्यौपाने, युवा नेता आशिक गुरुङ, समाजसेवी विजया गुरुङ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए । लागुऔषध सेवनपछि रिकभरि चरणमा रहेका युवाहरुलाई सकरात्मक सन्देश दिने उद्देश्यसहित कुशल परियार र आविष्कार गुरुङले उक्त प्रतियोगिता आयोजना गरेका थिए ।
काठमाडौं: नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्पmत २१औँ संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो । चार विधातर्फ उत्कृष्ट पाँच÷पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्पm क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । त्यस्तै महिलातर्पm करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन् । विसं २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा उनीहरुलाई मनोनयनमा समावेश गरिएको हो । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् । यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् । उक्त मनोनयनमा पर्नेमध्ये एकजना खेलाडी अवार्डबाट सम्मानित हुनेछन् । अवार्ड कार्यक्रम यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिनुभयो । मनोनयन सार्वजनिक कार्यक्रममा एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस) का केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु राम्रो पक्ष रहेको उल्लेख गर्दै मनोनयनमा पर्ने सबै खेलाडीलाई शुभकामना दिनुभयो । यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । नेपाल खेलकुद पत्रकार मञ्च आइपिएस एसियाको सदस्य हो । यसअघि अवार्डको पिपुल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपुल्स च्वाइसतर्फ फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् । यसको विजेता घोषणा गर्नका लागि ईसेवामार्फत मतदान, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकलाई आधार मानिने छ । ईसेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ । अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरिने संयोजक ओलीले जानकारी दिनुभयो । यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् । पिपुल्स च्वाइस विधाको विजेताले भने पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही रु एक लाख र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
पोखरा: लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ को जित हासिल ग¥यो । तर, चौथो सेटमा एपिएफ खेलमा फर्कदैँ २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै संघर्ष गरेपनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता एफिएफले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित भए । उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहा घोषित भए । उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात पारे । उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित भए । उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुवँर घोषित भए । विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे । भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा १३–२५ को हार व्यहोरेको एपिएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको महिला–पुरुष दुवै तर्फ चार–चार टिमको सहभागिता रहेको थियो ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा सम्पन्न नकआउट फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन सराई एफसीले जितेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा दमकडा ब्रदर्शलाई २–१ गोल पराजित गर्दै सराईले उपाधि जितेको हो । सराई गत वर्षकोसमेत विजेता हो । सराईको जीतमा अवतार थापाले २ गोल गरे । यता हार व्यहोरेको दमकडाका तर्फबाट आवेश शाहीले १ गोल गरे । उपाधिसँगै सराईले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाापत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको दमकडालाई नगद रु ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको खेल संयोजक अर्जुन चर्तीले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट सराईका सुजन रानामगर सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । सर्वाधिक गोलकर्ताका रुपमा अवतार थापामगर (४ गोल), उत्कृष्ट गोलरक्षकका रुपमा दमकडाका विशाल चौवे, उत्कष्ट डिफेण्डरमा सराइककै सुमित मल्ल, उत्कृष्ट फरवार्डमा आवेश शाही र उदीयमान खेलाडीका रुपमा नवजागृति निलो का आदेश सारुमगर पुरस्कृत भए । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथिसमेत रहेकी बगनासकाली गाउपालिकाकी प्रमुअ सरस्वती दर्लामी चिदी, वडा १ का वडाध्यक्ष शेर बहादुर चिदी, वडा सदस्य मानु सोमै, लुम्बिनी प्रदेश फूटबल संघ उपमहासचिव प्रज्वल उदय, हनेरी क्याप्टेन आनन्द कुमार थापा सारु, क्लबका सल्लाहकारहरु सु. बि.एस. थापा, घोरबन्दा महिला समुहको अध्यक्ष कविता गाहा, कानुङ लाङ्घाली गुमष्ठा घोरबन्दाका अध्यक्ष बलराज गाहा लगायतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा नवजागृती युवा क्लबका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष जनक गाहाको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन क्लबका पूर्व अध्ष्क्ष दिनेश कुमार थापा सारुले गरेका थिए ।

