काठमाडौं: नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
काठमाडौं: आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि हात पारेको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियलहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरु एवं प्रतियोगितामा सहयोग पु¥याएकाहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विधामा प्राप्त ख्याती तथा प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद रु एक लाख एक हजार र रु ५१ हजार एवं ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । सर्वोत्कृष्ट हुने खेलाडीलाई रु १० हजार पाँच सय ५५ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु सात हजार पाँच सय ५५ प्रदान गरिएको छ । उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही कात्तिक १४ गते हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शक रङ्गशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाको लागि तत्कालको लागि टिकट बिक्री गर्न स्थगन गरेको एन्फाको भनाइ छ । साफको टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकेटिङको व्यवस्था गरिने एन्फाले जनाएको छ । “नेपाल र भारतबीचको खेलमा सङ्घसँगको सम्झौता विपरीत रङ्गशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ । त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्नरनगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,’ एन्फाद्वारा आज जारी प्रेस विज्ञपप्तिमा उल्लेख छ । यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जबाफदेही नहुनेसमेत एन्फाले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल यही कात्तिक १४ गते साँझ ६ः३० बजे हुने तय भएको छ ।
पोखरा: पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय पारी खेल्दै नटआउट रहे । ११९ बलमा ८ चौका र २ छक्का समेत प्रहार गरे । यस्तै कृष्ण पौडेल २७ रनमा नटआउट रहे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । विमल विक्रम खत्रीले ६९ रनको योगदान दिदै आउट भए । उनले ६६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । नविन पोख्रेल ५, निर्मल क्षेत्री १६, अस्विन अधिकारी १ रनमा आउट भए । पोखराका लागि देव शाहले १० ओभरमा ४६ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । अमन सुवेदीले १ विकेट लिए । त्यस अघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिको निम्तो पाएको पोखरा क्रिकेटले ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । पोखराका लागि सुवाष भण्डारी ८८ रनमा नटआउट रहे । उनले १०५ बलमा ९ चौका र १ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ३२ रन जोडे । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिस भण्डारी ४, अनिस खड्का २, इशान श्रेष्ठ १८, देव शाह १० र विजय राउत ६ रनमा आउट भए । अमन सुवेदी २ रनमा नटआउट रहे । राइजिङका लागि अन्जन केसीले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । समिर भुजेलले १० ओभरमा ४३ रन खर्चेर २ तथा कृष्ण पौडेल र सविन खत्रीले समान १÷१ विकेट लिए । पोखरा क्रिकेट क्लबका सुवाष भण्डारी प्लेयर अफ द सिरिज घोषित भए । उनले जारी प्रतियोगितामा कुल ९ अंक बटुल्दै सर्वोत्कृष्ट घोषित भएका हुन् । उनले कुल चार खेलमा ८ विकेट लिए भने १२० रन बनाए । यस्तै राइजिङका अनिल गुरुङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले चार खेल खेल्दै कुल १९१ रन बनाए । उनी फाइनल खेलको म्यानअफ दि म्याच समेत घोषित भए । पोखराकै देव शाह उत्कृष्ट बलर घोषित भए । उनले कुल चार खेलमा १४ विकेट लिए । उनीहरुले ट्रफी हात पारे । कात्तिक १ गतेदेखी प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा अब राउन्डरोविन लिग खेलाउने प्रयास गर्ने बताए । जारी प्रतियोगितालाई हेर्दा समेत क्लबहरुले पहिलो खेल भन्दा त्यसपछिका खेलहरुमा राम्रो गरेका कारण क्रिकेटको विकासका लागि लिगको आवश्यकतालाई मध्येनजर गरेको सुनाए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रदेश खेलकुद परिषदका वोर्ड सदस्य ऋषि गौतम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, सदस्य राजन वडगामी, गण्डकी अञ्चलका पूर्व कप्तान रविन्सन प्रजु, विग्नेश थापालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव विरेन्द्र पुनले गरेका थिए ।
पोखरा: भ्यू प्वाइन्ट क्लबको आयोजनामा पोखरा महानगरपालिका २२ भेडीखर्कमा दोस्रो संस्करणको ‘भेडीखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ हुने भएको छ । तिहारको अवसरमा ‘खेल स्वास्थ्यका लागि स्वस्थ युवा देशका लागि’ भन्ने नारासहित २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने क्लबका सचिव अमित बरालले जानकारी दिए । उनका अनसार सो प्रतियोगिताको विजेताले नगद रु ५१ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । सो प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पुरस्कृत गरिने बरालले बताए । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८६०५८७८२८, ९८४६९८३८०४)पनि गर्न सकिने आयोजकले जनाएको छ ।
पोखरा: आरएस बिच क्लबको आयोजनामा पोखरा २५ हेम्जास्थित अम्मटमा जारी ‘आरएस बिच एण्ड फिस फेस्टिबल २०८१’ मा फुटबलतर्फ उपाधिका लागि आरएस क्लब र चरी सुशान एफसी भिड्ने भएका छन् । फाइनल खेल अब ३० गते फेस्टिभलको समापनका दिन हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइलनमा चरी सुसान एफसीले बिल्डिङ एफसी लाई ५–२ गोल अन्तरले पराजित गरेको थियो भने, आरएसले हेमजा २५ एफसीलाई ५–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । सो प्रतियोगिताको विजताले नगद रु ५० हजार र उपविजेताले रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ । यस्तै घोडा दौड प्रतियोगिता र बल्छी हान्ने प्रतियोगिता पनि सोही दिन (कात्तिक ३० गते) हुनेछ । घोडा दौडमा प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । यसअघि सम्पन्न भइसकेको फ्रिस्टाइल फुटबल ब्याटल, वान भि वान, र साइकल र्याली सम्पन्न भइसकेको छ ।
काठमाडौं: नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९।४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए । सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए । यसअघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए । नेपाल लिग(२ मा नौ खेलमा सातमा हार, एकमा जित र एक खेलमा अंक विहीन हुँदै तीन अंकका साथ सातौं स्थानमा छ । अमेरिका दश खेलमा सात मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । अब सिरिजमा अर्को खेल भोली मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
काठमाडौं: नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो । खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पु¥याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो । नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो ।
काठमाडौं: तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् । भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् । प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६ः३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

