काठमाडौं: मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो । युवा तथा खेलकुदमन्त्री चौधरीले नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै विद्यालयस्तरदेखि नै खेल क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी माघ ५ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् । नेपाली युवा टोलीमा कप्तान महतोेसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी रहेका छन् । नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले नेपाली टोलीको प्रशिक्षण राम्रो भएको बताउँदै प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउने योजना रहेको उल्लेख गर्नुभयो । नेपाली टोलीकी कप्तान महतोले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने योजना रहेको बताउनुभयो । नेपाली टोली शनिबार मलेसिया प्रस्थान गर्नेछ ।
काठमाडौं: नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपको उपाधि जितेको छ । बुटवलको रामनगर खेलमैदानमा आज भएको फाइनल खेलमा आर्मीले पुलिसलाई ३–२ को सेटमा हरायो । आर्मीले दोस्रो सेट २५–१८, चौथो सेट २५–२२ र पाँचौं सेट १५–७ ले जित्यो । पुलिसले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२० जित्यो । जीतसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले एक लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आर्मी, पुलिस, मणिमुकुन्द र गुजरातसहित, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, गलकोट भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी गरी आठ वटा टोली सहभागी थिए ।
काठमाडौं: कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको स्थापना भएको छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको उद्घाटन गर्नुभयो । उहाँले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने उक्त प्रतियोगिताको तयारीको सुरुआत भएको बताउनुभयो । खेलकुदमन्त्री चौधरीले प्रतियोगिता हुन तीन महिना बाँकी रहेकाले सो समयसम्म सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसक्ने बताउनुभयो । उहाँले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको फाइल अर्थमन्त्रालयमा आजै पुगेको बताउनुभयो । उहाँले प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गर्ने भनिएपनि त्यस विषयमा आगामी माघ ३ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेललाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राथमिकतामा राखिने उहाँले उल्लेख गर्नुभयो । खेलकुदमन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट राजीनामा दिने राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीलाई कारबाहीमा केही छुट हुनसक्ने बताउनुभयो । बोर्ड बैठकले सर्वोच्च र उच्च अदालतको आदेश विपरीत कार्य गर्ने सङ्घका पदाधिकारीलाई कारबाही गर्नसक्ने चेतावनी उहाँले दिनुभयो । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा आवासीय समस्याका कारण २४ वटा खेल आयोजना गर्ने र बाँकी खेल अन्य स्थानमा गर्ने सम्भावना रहेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने तय भएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुनमा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म तेस्रो संस्करणको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु ५०÷५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ । यता खुल्ला महिला भलिबल तर्फ बिजेतालाई उपाधिसँगै नगद रु १ लाख र उपविजेतालाई नगद रु ५० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र दिइने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु २५÷२५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला भलिबल तर्फ एक समुहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ । पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ बेस्ट प्लेयर,कोच, स्पाईकर,मिडल ब्लकर,डिफेन्डर,सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोषाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताईन ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उहाँहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ । गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान तथा चीनको हाइजाओमा गत असोज १देखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याम्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई प्रधानमन्त्रीेले पुरस्कार प्रदान गर्नुभयो । यसैगरी उहाँले गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबलका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार प्रदान गर्नुभयो । खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगत्मा वृद्धि गरेकामा खेलाडीहरूको सराहना गर्दै प्रधानमन्त्री ओलीले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो । सामूहिक भावनालाई आत्मसात् गर्दै मैदानमा उत्रनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस गाउँ भिड्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा धम्पुस लेककुना गाउँले कुइबाङ गाउँलाई ३–१ को सेटले पराजित गर्दै धम्पुस फाइनलमा पुगेको हो । यस्तै अर्काे सेमिफाइनल खेलमा घान्द्रुक किम्चे गाउँले ठुलाखेत गाउँलाई ३–१ कै सेटमा हराउँदै फाइनलमा घान्द्रुकसँगको भेट पक्का गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगिसकेका छन् । तिनै विधाको फाइनल खेल (मंगलबार) भोलि हुने क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवको गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगितातर्फको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने भलिबल खेल संयोजक गणेश बिसीले बताए । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसअघि खुला सामुहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बङ्गलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी माघ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह रहेका छन् । भारतीय प्रशिक्षक आलोक काठमाण्डु माभरिक्सको टिम सम्हाल्न नेपाल आइपुगेका हुन् । पोखरा लेकर्सले भारतबाटै प्रशिक्षक भित्र्याएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो । धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बङ्गलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । काठमाडु माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात काठमाडौँ आइपुगेका छन् । एनकेएलको पहिलो सिजनमा आबद्ध १७ विदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने आयोजक एनकेएलले जनाएको छ । दुई हप्तासम्म चल्ने उक्त प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
हेटौँडा: यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिनुभयो । त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उहाँले बताउनुभयो । क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । उहाँका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताउनुभयो । गत आइतबार नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गर्नुभएको थियो । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गर्नुभएको थियो । क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उहाँले बताउनुभयो ।
पोखरा: पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले आठौं विरेन स्मृति १८ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ । क्लबका अध्यक्ष असिम थापाले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी माघ २२ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए । उनका अनुसार फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १८ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’ अध्यक्ष थापाले माघ २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै पुरस्कार राशी र समापन मिति तय गरिने बताए । ‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ । र पुरस्कार राशी पनि पहिलेकोमा केही बढाएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौ ।’ गत वर्ष भएको प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । यसअघिको संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।

