पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा प्रौढतर्फ युनाइटेड किङ्स क्लब पोखरा फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।   उनका अनुसार घलेलको खेल मैदानमा भएको सेमिफाइनल खेलमा आयोजक बौद्ध सृजना युवा क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै किङ्स क्लब फाइनलमा प्रवेश गरेको हो ।   भलिबल खेल संयोजक गणेश बिसीका अनुसार आयोजकले तोकेको समयमा उपस्थित नभएपनि लामाचौर, सिङ्दी, विन्ध्येश्वरी ठाँटी, भुर्जुङखोला र लामाचौर जिएम समाज र ड्राइभर समूहलाई वाकओभर दिइएको थियो ।   उनले भोलिको पहिलो खेल प्रौढतर्फ नै मर्दी हिमालको टोली र ल्वाङको बीचमा प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेल धवलागिरी घलेल र म्याच नम्बर ४ को विजेताबीच खेल हुनेछ । भने, अर्काे खेल छारमेन्दो तक्रो र म्याच नम्बर ८ बीचको विजेताबीच हुने बिसीले बताए ।    यसैगरी आज महिलातर्फको खेलतालिका पनि सार्वजनिक भएको क्लबका सचिव अमृत गुरुङले बताए ।      उनका अनुसार बुधबार महिलातर्फको पहिलो खेल ग्रीनहिल क्लब ल्वाङ र घलेल रातोबीच प्रतिस्पर्धा हुनेछ । भने, भोलि दिउँसो २ बजे पुरुषतर्फको पनि खेल तालिका सार्वजनिक गरिने सचिव गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रौढ भलिबलतर्फ कुल १२, महिलातर्फपनि १२ टिमको सहभागिता रहेको छ भने, पुरुषतर्फ अहिलेसम्म १८ टिमको दर्ता भएको छ ।    कुन प्रतियोगिता कति गते ?   क्लबका अध्यक्ष विराज गुरुङका अनुसार साँस्कृतिक कार्यक्रमतर्फ १९ गते चर्चित गायक चिज गुरुङ र बालकाशी गुरुङको बेजोड प्रस्तुती रहने छ ।   यस्तै घोडा दौड २० गते बिहान ११ बजे हुनेछ ।      यसैगरी नृत्य प्रतियोगिता १८, १९ र २० गते साढे ४ बजेबाट सुरु हुनेछ । ठेलो प्रतियोगिता २० गते दिउँसो १ बजे, रस्साकस्सी २० गते दिउँसो २ बजे आयोजना हुनेछ ।    कुन प्रतियोगिताको उपाधि राशी कति ?   गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।    सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ  । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताए ।   यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।    यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।    ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताको विजेता र उपविजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।  

मोरङ:    एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् ।  जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त कोही बलिङ र ब्याटिङमा । मैदानमा विद्यार्थीसँगै वरिपरि दौडिएर ‘फिल्डिङ’को अभ्यास गरिरहेका हुन्छन् राकेश राई । उहाँले विद्यार्थीलाई नेतृत्व गरिरहेका हुन्छन् । प्रशिक्षक राईको सपना छ पथरी शनिश्चरेबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने ।  क्रिकेट खेलमै जीवन बिताएका उनको सपनालाई साथ दिए कीर्तिपुर एकेडेमीका निर्देशक पुकार राईले । पुकार र राकेशको क्रिकेटप्रतिको लगावका कारण मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि दुई खेलाडी पाएको छ । दुई युवाले आफ्नै लगानीमा सुरु गरेको क्रिकेट प्रशिक्षणले विस्तारै गति लिँदै आएको छ । एकेडेमीले सुरु गरेको क्रिकेट प्रशिक्षणमा ४० भन्दा बढी विद्यार्थी नियमित प्रशिक्षण गर्दै आएका छन् ।  दश वर्षदेखि १६ वर्षसम्मका १८ बालिका २२ बालकलाई नियमित प्रशिक्षणमा सहभागी रहेका एकेडेमीका निर्देशक पुकार बताउनुहुन्छ । नियमित प्रशिक्षण गराइरहेको एकेडेमीले राष्ट्रियस्तरमा महिला क्रिकेट खेलाडी उत्पादनमा ठूलो सहयोग पुर्याउँदै आएको छ । क्रिकेट र फुटबल खेलाडी उत्पादन गर्दै आएको कीर्तिपुरले जन्माएको खेलाडी हुन सरु लिम्बू । राष्ट्रिय महिला फुटबल खेलाडी उनी अहिले अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त फुटबल खेलाडी हुन् । महिला फुटबलको नियमित सदस्य उनी सशस्त्र प्रहरी क्लबमा आबद्ध भएकी छिन् ।  फुटबलमात्र खेलाडी उत्पादन गरिराखेको कीर्तिपुरले अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्न महिला क्रिकेट प्रशिक्षण सुरु गरेको छ । सरुजस्तै खेलाडीको उद्गमस्थल हो कीर्तिपुर । पछिल्लोपटक प्रधानमन्त्री कप महिला क्रिकेटका लागि एकेडेमीका दुई जना खेलाडी मोरङ जिल्लाको बन्द प्रशिक्षणमा राखिएको छ । प्रशिक्षक राकेश भन्नुहुन्छ, “मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि बन्द प्रशिक्षणमा उक्त एकेडेमीका स्मारिका गौतम र शुभेक्षा लिम्बूलाई बन्द प्रशिक्षणमा रहनु भनेको हाम्रो सफलता हो ।”   कीर्तिपुरको अभ्यासस्थलमा नियमित क्रिकेट अभ्यास गर्न पुगेका बालबालिका निकै फूर्तिका साथ खेलमैदानमा उत्रन्छन् ।  प्रशिक्षक राकेशले टिम बनाइदिन्छन् र सोहीअनुसार आ–आफ्नो टिममा सहभागी भएर मैदानमा उत्रिन्छन् उनीहरू ।  एकेडेमीमा खेलसँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने प्रशिक्षक राकेश बताउनुहुन्छ । घरपरिवारमा के काम गर्ने, विद्यालय र साथीभाइसँग कस्तो व्यवहार गर्नेलगायत विषय पनि अनौपचारिक रूपमा सिकाउने गरिएको छ । क्रिकेट क्षेत्रमा लामो समय बिताउनुभएका राकेश हालै ‘बेसिक लेभल’ प्रशिक्षक बनेका छन् । उहाँले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहनुभएको छ । एकेडेमीकै अग्रसरतामा क्रिकेट खेलाडीका लागि ‘नेट प्रशिक्षण’ गर्न नेटसमेत बनाउन थालिएको छ ।  वडा कार्यालय ७ र ८ ले आर्थिक सहयोग गरेपछि पक्की क्रिजसहितको ‘नेट प्राक्टिस’ सम्भव भएको हो । पछिल्लो स्थानीय तहमा वडादेखि नगरस्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडीसम्म पुग्ने माध्यम भएकाले यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक राईको बुझाइ छ । एकेडेमीले गरिरहेको यो कार्यलाई नेपाल क्रिकेट फाउण्डेशनले सहयोग गरिरहेको छ । फाउण्डेशनले प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री सहयोग गरिरहेकाले एकेडेमी सञ्चालन गर्न सहज भएको छ ।   क्रिकेटप्रतिको ‘क्रेज’ बढ्दै गर्दा अभिभावक पनि सकारात्मक बनेका छन् । क्रिकेट खेलेर छोरीले राष्ट्रकै नाम राख्नेमा विश्वस्त छन् अभिभावक इन्द्र गौतम । यही एकेडेमीमा प्रशिक्षण गरेका खेलाडीले हालै इक्वालिटी कपमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेपछि एकेडेमीको प्रभाव  देखिन थालेको छ ।   क्रिकेट विकासका लागि ‘ग्रासरुट’बाट स्वःस्फुर्त रूपमा सुरु भएको यस्ता एकेडेमीलाई राज्यले प्रोसाहन गर्नुपर्ने देखिन्छ । खेलकुद सङ्घसंस्थाको नजरबाट टाढा रहेको सो एकेडेमीलाई स्थानीय सरकारले समेत चिन्न सकेको छैन ।

पाँचथर:   पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ ।           पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो ।  निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।      मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।       खेलको ४५औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । अठहत्तरऔँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए ।  खेलको ८८औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरी गरे ।  दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उपविजेतामै सीमित बन्यो । उपाधिसँगै चर्च ब्वाइजले रु १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । 

काठमाडौं:    भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो ।  दश वर्ष उमेर समूहका  नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।  प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् । 

धनुषा:    नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।       बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो ।       रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट विहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो । नगरपरिक्रमाका अवसरमा जनकपुरधामका नागरिक समाज, खेलप्रेमीलगायतको सहभागिता थियो ।      यही पुस ६ गतेसम्पन्न एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता बनेको थियो । 

पोखरा:    पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ । वडा अध्यक्ष तोरणबहादुर बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रहेको बताए । ‘खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो ।’ वडाध्यक्ष बानियाँले भने– ‘यो महोत्सवले स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पु¥याउने ठानेका छौँ । स्थानीय युवाहरूलाई सकारात्मक क्रियाकलापमा सक्रिय गराउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको बानियाँले बताए ।  विभिन्न समुदायबीच आपसी सद्भाव, सहयोग र सहिष्णुतालाई प्रवद्र्धन गर्दै समावेशी समाजको निर्माणमा महत्वपूर्ण योगदान दिने लक्ष्य पनि लिइएको छ । खेल संयोजक आशिष भण्डारीले स्थानीय प्रतिभाहरूको पहिचान गरी तिनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘अघिल्ला वर्षहरुमा पाएको सफलता र थप अनुभवले यस संस्करणमा खेलकुदको विधा थप्दै पुरस्कार राशीमा पनि वृद्धि गरेका छौँ ।’ उनले भने – ‘करिब दुई हजार खेलाडी विभिन्न खेलमा प्रतिष्पर्धा गर्नेछन् । यो खेलकुदको महोत्सव नै हो ।’ फुटबलतर्फ पुरुष विधामा विजेताले ४० हजार तथा उपविजेताले ३३ हजार ४ सय, विद्यालय स्तरीय छात्र फुटबलतर्फ विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।  यस्तै, भलिबल तर्फ पुरुष र महिला दुवैतर्फका विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार, विद्यालयस्तरीय युनी हक्की छात्र छात्रा दुवै तर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ६ हजार पाउनेछ । विद्यालयस्तरीय छात्र साइक्लिङतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४ हजार र सान्त्वना हुने २ जनाले २ हजार प्राप्त गर्नेछन् । सडक दौड पुरुष, महिला, छात्र र छात्रा सबै चार वटै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार र सान्त्वना हुने २ जनाले ५ हजार नगद पुरस्कार पाउनेछन् । ब्याडमिन्ट डबल महिला र पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, सिंगलतर्फ महिला र पुरुष दुवै विधामा प्रथम हुनेले ५ हजार र दोस्रो हुनेले ४ हजार पाउनेछ । महिला रस्साकसीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार पाउनेछन् ।  ह्विलचेयर बास्केटबलमा विजेताले १० हजार र उपविजेताले ८ हजार तथा ह्वीलचेयर दौडमा प्रथम हुनेले ६ हजार ७ सय, दोस्रो हुनेले ५ हजार ५ सय, तेस्रो हुनेले ४ हजार र सान्त्वना २ जनाले २ हजार ७ सय पाउने आयोजकले जनाएको छ । विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने खेल संयोजक भण्डारीले जानकारी दिए । नेपाली यू १९ महिला राष्ट्रिय क्रिकेट टीमकी सदस्य सिद्ध माविमा कक्षा ११ मा अध्ययनरत रचना चौधरीलाई ३४ हजार नगद पुरस्कारसहित सम्मान, खेलाडी प्रोत्साहन अन्तर्गत खेल्छ गण्डकीमा ग्रासरूट टेनिस खेलमा वडाको अमिनतराबाट छनौट भई निरन्तर प्रशिक्षणमा रहेका १० जना खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पौष्टिक सामाग्री वितरण गरिएको छ । हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनको थप आर्थिक तथा प्राविधिक सहयोग पनि खेलकुद महोत्सवमा मिलेको वडाले जनाएको छ । 

चितवन:    महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उहाँले बताउनुभयो ।  टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताउनुभयो ।  उहाँले सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको बताउनुभयो । बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक समितिका उपाध्यक्ष समेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने छन् । ओपनतर्फ नेपालका शिर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पत्रकार सम्मेलनमा जनाए ।  मेन्स सिंगलमा ३१ खेलाडी, उमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित सय बढि खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने थापाले पत्रकार सम्मेलनमा बताए । ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद ८० हजार उपबिजेताले ४० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद ३० हजार उपबिजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६० हजार उपबिजेताले ३० हजार  सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४० हजार उपबिजेताले २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने थापाले बताए । कार्यक्रम सञ्चालन गर्दै समितिका सचिव भिष्मराज पौडेलले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहाँसमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको बताए ।

पोखरा:   स्याङजाको कोल्मामा सम्पन्न पाँचौं संस्करणको क्रस कन्ट्री दौडमा नेपाली सेनाका करण रावल च्याम्पियन बनेका छन् ।   सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगिताको खुला विधामा  रावलले निर्धारित २५ किलोमिटर १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।   यस्तै सेनाकै टंकबहादुर कार्की (१ घण्टा ३२ मिनेट ९ सेकेण्ड) दोश्रो र रमेश लिम्बु (१ घण्टा ३२ मिनेट ५६ सेकेण्ड) तृतीय बने ।   उनीहरुलाई क्रमश: नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष्ता सुबेदार मेजर दुत प्रसाद गुरुङले जानकारी दिए ।    यसैगरी २१ वर्षमुनि पुरुषतर्फ निर्धारित १० किलोमिटर दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै सनम गुरुङले प्रथम बने ।   सल्यानका रुद्र बुढाथोकी (५० मिनेट १४ सेकेन्ड) द्वित्तिय र गोर्खाका अशोक बराम ( ५१ मिनेट ५१ सेकेण्ड) तृतीय बने ।   उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफि र मेडल हात गरे ।    यस्तै खुला महिलातर्फ १ घण्टा १२ मिनेट २६ सेकेन्डमा निर्धारित १० किलोमिटरको दुरी पार गर्दै रविना बुढामगर प्रथम बनिन् । भने, विमला मानन्धर (१ घण्टा १५ मिनेट २८ सेकेन्डमा) द्वित्तिय बनिन् ।   उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरेको सचिव जीवन थापामगरले जानकारी दिए ।   उनका अनुसार विद्यार्थी विधातर्फ ५ किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको टोली प्रथम र द्वित्तिय बन्यो भने, जनजागृती माविको टोली  तृतीय बन्यो ।    उक्त टोलीलाई क्रमश: १२ हजार, ८ हजार र ४ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पदान गरिएको थियो ।   कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतको सहभागिता थियो ।